दमक/जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ठाउँमा मिगौंला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिगौंला पीडितको नाममा चन्दा संकलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको न्यू हाइ वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो । उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो टेम्पो भाडामा लिइ कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा संकलन गर्दै आएको उनले जानकारी दिए ।