दमक/ झापाका सुकुम्बासीले मंसिरभित्रै धनीपूर्जा पाउँने भएका छन् । भूमि समस्या समाधान समिति झापाले पहिलो चरणमा दुई हजार ३३९ जना भूमिहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने भएको हो ।
हाल झापामा भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवार, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ ।
यसबाहेक अघिल्ला आयोगहरूबाट कार्य अधुरो र अपुरो रहेका आवेदक परिवारको संख्या पाँच हजार २९६ रहेको समितिले जनाएको छ ।
भूमि समस्या समाधान समिति झापाको हालै सम्पन्न बैठकले हालसम्म प्राप्त निवेदन उपर छलफल र छानविन गरी पहिलो चरणमा धनीपूर्जा पाउनेहरुको नामावली स्वीकृत गरेको समितिका अध्यक्ष समेत रहनु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलल बताए ।
पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४ जना, अर्जुनधारा नगरपालिकाका ९६४ जना र मेचीनगर नगरपालिकाका ११ जनाले जग्गाको धनीपूर्जा पाउने निर्णय भएको हो ।
“कार्यविधि अनुसार अब दाबी विरोधको सूचना प्रकाशित हुन्छ, त्यस उपर छानबिन र नापी नक्सा लगायतका सबै कार्य सम्पन्न गर्छौं,” प्रजिअ पोखरेलले भने “यही मङ्सिर मसान्तसम्ममा लालपुर्जा वितरण गर्ने गरी हामीले तयारी गरिरहेका छौं ।” झापाको भूमि समस्या समाधान समितिमा जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भइसकेको छ ।