दमक । राष्ट्रियता र सनातन हिन्दू राष्ट्र अभियानका नेता दुर्गा प्रसाईँले मुलुकमा शान्ति, सामाजिक सद्भाव र स्थायित्वका लागि राजसंस्थाको पुनस्र्थापना आवश्यक रहेको बताएका छन् ।
अबको १५ दिनमा हुने उनको आन्दोलन सनातनी हिन्दु अधिराज्य स्थापनासहित साना ऋणीको कर्जा मिनाहाका लागि निर्णायक हुने उनले जानकारी दिएका छन् ।
आइतबार सम्पादकहरूसँगको भेटघाटमा उनले ऋण माफीका लागि आवश्यक रकम व्यवस्था गर्न आफ्नो सम्पत्तिको ८० प्रतिशतसम्म योगदान गर्ने पनि बताए । मिडिया, पत्रकार र नागरिक समाजका नेताहरूप्रति टिप्पणी गरेकामा क्षमायाचना गरे पनि उनले केपी ओली र प्रचण्डले जस्तै डा. गोविन्द केसीलगायतले नियम कानुनका दायरामा रही झापामा बीएन्डसी मेडिकल कलेज स्थापनामा आफूलाई अवरोध तथा अन्याय गरेको आरोप लगाए ।
‘मुलुक भुंग्रोमा छ, हिजो जे भयो त्यसलाई बिर्सिएर अगाडि बढौं, सनातन हिन्दु अधिराज्य कायम गरौं । त्यो आजको परिस्थितिमा सर्वोत्तम उपाय हो,’ उनले भने ।
प्रसाईँले राजा महेन्द्रको मृत्युदेखि दरबार हत्या काण्ड, माओवादी विद्रोह र नेपाल तथा भारतसँगको सीमावर्ती इलाकामा देखिएको पृथकतावादी आन्दोलनहरुको मूल ध्येयमा यो क्षेत्रको विखण्डनमा स्वार्थ देख्ने शक्तिहरुको हात रहेको बताउँदै भारत समेत यसमा सचेत हुनु पर्ने बताए ।
जातिवादी आन्दोलनका कारण नेपाल टुक्रिए भारत र चीन पनि नबच्ने उनको भविष्यवाणी थियो । नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी र एमाले नेतृत्व तहमा भ्रष्टाचार व्याप्त रहेको भन्दै ओलीको प्रभाव पूरा १ लाख ४७ हजार वर्ग किलोमिटर नेपालबाट खुम्चिएर गुण्डुमा सीमित रहनुको एउटा प्रमुख कारण भ्रष्टाचार नै भएको उनले बताए ।
साना किसानहरुले केही हजार रुपैया ऋण तिर्न नसकेकोमा एउटै रुखका अलगअलग हाँगाका बीच एकै परिवारका तीन–तीन जनाले आत्महत्या गरेको, ऋणकै कारण प्रेम आचार्यले संसद भवन अगाडि आगो लगाएर जीवन त्याग गरेको प्रसंग कोट्याउँदै उनले भने– मलाई ती घटनाहरूले राति सुत्न दिँदैनन्। प्रेम आचार्यको आत्महत्याले के यो संसद् सान्दर्भिक छ भन्ने प्रश्न मेरो मनमा उठिरहन्छ?’
मारवाडी समुदायप्रति लक्षित गर्दै उनले भने– नेपालमा ४१ हजार मारवाडी समुदायका सदस्य छन्, मैले १६ जनाको मात्रै भ्रष्टाचार र ठगीको कुरा उठाएको छु ।’
साना किसान ऋण माफीको कुरा उठाएको उल्लेख गर्दै उनले भने– ‘३८ लाख नेपालीको सम्पत्ति धितोमा छ । त्यसको व्यवस्थापन हुनसक्छ । तर राजनीतिक तह र केही व्यापारिक घरानाको साँठगाँठका कारण बन्द कम्पनीहरूले आइपिओ जारी गरेर देश र जनतालाई ठगिरहेका छन् ।’
प्रस्तावित आन्दोलनबारे के सरकारसँग वार्ता गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रसाईँले भने– ‘मलाई बोलाइएमा म तयार छु तर त्यस्तो कुनै निम्ता आएको छैन ।’