देश–समाज विचार/वहस स्थानीय

ओलेन्कापथ र हाम्रा कुर्सिनसिनहरू

यो समय किताबबाट आफु र आफ्नो परिवे चियाउने समय रहेछ । अरूहरूको देख्दा मुहारेपुस्तिका हेरेर समय पढेको देख्छु । मैले समयलाई पुस्तकका पानामा पढ्ने गर्छु ।
नेपालको अहिलेको परिवेशलाई मैले रसियन कथाकार एन्टोन चेकभको एउटा कथामार्फत पढिरहेको छु । ती अक्षरका आकार जस्तै घुमाउरा परिवेश बोकेर यो समय गुज्रिरहेको छ । चेकोचको कथा “ओलेन्का” (द डार्लिङ) अहिले मनभरी रंगिएको छ ।
कथा यस्तो छः
मुख्य पात्र ओलेन्का प्लेम्यान्निकोभा – एक सौम्य, मृदुभाषी र स्नेहमयी महिला हुन्, जसलाई “द डार्लिङ” अर्थात् “प्रिय” भन्ने उपनाम दिइएको हुन्छ । उनी दयालु र संवेदनशील छिन्, तर उनको सोच स्वतन्त्र छैन, सिर्जनशील छैन । संज्ञानात्मक छैन । समयचेत छैन । त्यही भएर उनी सधैँ आफूले माया गर्ने व्यक्तिहरूका विचार र चासोहरूलाई नै आफ्नो विचार बनाउँछिन् ।
ओलेन्का एक प्रान्तीय रूसी सहरमा बस्छिन् । उनी सुन्दर, मृदुभाषी र सबको प्रिय छिन् । उनको सुन्दरता र दयालु भावनाले उनी साक्षत देवी देखिन्छिन् । त्यही भएर पुरूषहरू उनको रूप र स्वभावमा पागल हुन्छन् । तर उनको जीवनमा एक गम्भीर दुर्बलता छ – उनी बिना प्रेम बाँच्न सक्दिनन् र आफ्ना विचार स्वतन्त्र रूपमा बनाउन असमर्थ पनि छिन् । उनको आप्mनै भन्ने कुनै चिन्तन् छैन । आप्mनै भन्ने कुनै दर्शन र आदर्श छैन । आप्mनै भन्ने कुनै दृष्टिकोण छैन । उनको सबै संज्ञान भनेको उनले प्रेम गरेका पुरूषहरूको संज्ञान मात्रै हो ।
पहिलो पति – कुकिन
ओलेन्काले पहिलोपटक कुकिनसँग विवाह गर्छिन् जो रंगमञ्चको व्यवस्थापक हो र सधैं दर्शकको अभावको गुनासो गरिरहन्छ । ओलेन्का उसप्रति पूर्ण सहानुभूति राख्छिन् र क्रमशः उसका सबै विचारहरू अपनाउन थाल्छिन् । उनी पनि आप्mनो लोग्नेको भाषा नक्कल गर्न थाल्छिन् र भन्छिन्, “मानिसहरूले कला बुझ्दैनन् ।”
कुकिन व्यापारका सिलसिलामा बाहिर गएको बेला अचानक मृत्यु हुन्छ । त्यसपछि ओलेन्का गहिरो दुःखमा डुब्छिन् । उनी आफूलाई रित्तो, खाली, अपांग र असहाय महसुस गर्छिन् । किनभने उनीसंग जीवन जिउने कुनै सुत्रै छैन ।
दोस्रो पति – पुस्तोभालोभ
केही समयपछि ओलेन्काले पुस्तोभालोभसँग विवाह गर्छिन् जो काठको व्यापारी हुन्छ । ओलेन्का तुरुन्तै उसको व्यापारिक संसारमा लीन हुन पुग्छिन् । अब उनी काठको मूल्य, बजार र व्यापारका कुरा गर्न थाल्छिन् । नाफा र नोक्सनका कुरा गर्न थाल्छिन् । ग्राहकका कुरा गर्न थाल्छिन् । अनि रंगमञ्चका कुरा उनको मुखबाट, मनबाट, दिमागबाट पूरै हराउँछन् ।
तेस्रो सम्बन्ध – स्मिर्निन
केही वर्षपछि पुस्तोभालोभको मृत्यु हुन्छ र ओलेन्का फेरि एकपटक एक्लोपन र निस्सार्थ अवस्थाको अनुभव गर्न पुग्छिन् । एक्लो जीवन, त्यो पनि बाँच्ने सुत्र जिरो भएको मान्छेलाई कठीन त हुने नै भयो । त्यसपछि उनी स्मिर्निन नामका एक पशुचिकित्सकसँग नजिकिन्छिन् जसले उनको घरमा कोठा भाडामा लिएको पनि हुन्छ । स्मिर्निनको छोरा साशा पनि ऊसँग हुन्छ । ओलेन्का ती दुबैको हेरचाह गर्न थाल्छिन् र तीप्रति मातृत्वपूर्ण स्नेह प्रकट गर्छिन् । पशुका बारेमा बोल्छिन् । मायाँ दशाउँछिन् ।
तर जब स्मिर्निनकी पत्नी फर्किन्छे र स्मिर्निन परिवारसहित टाढा जान्छ, ओलेन्का फेरि एक्लो र निरुद्देश्य हुन्छिन् ।
अन्तिम चरण – साशाको हेरचाह
केही वर्षपछि साशा पढाइका लागि सहर फर्किन्छ । ओलेन्का शासालाई घरमा राख्छिन् र आफ्नै छोराजस्तो माया गर्छिन् । उनी साशाको पढाइ, गृहकार्य र खानपानमा पूर्ण रूपमा तन्मय हुन्छिन् ।
पहिलोपटक उनको प्रेम निःस्वार्थ र मातृत्वपूर्ण रूपमा देखिन्छ – अब उनी प्रेममा निर्भर नभई, अरूको हेरचाहमा सान्त्वना पाएको अनुभूति गर्छिन् ।
कथा शान्त रूपमा समाप्त हुन्छ – ओलेन्का राति साशाको नजिक बस्छिन्, ऊ निदाएको दृश्य हेर्दै । उनको सम्पूर्ण जीवन अब साशाको वरिपरि घुम्दछ । चेखभले पाठकलाई यो सोध्ने अवसर दिन्छन् – के यो समर्पण उनको आत्मसन्तुष्टि हो, वा फेरि अर्को निर्भरता मात्र?
यसको उत्तर पाठकसंग मात्रै छ । किनभने उनी किन बारबार एक्ली भइन् । जिउन किन बारबार अप्ठेरो भयो ?
यी सबै कुरा उनको परनिर्भरताले गर्दा भएको हो । उनका संबन्धपिच्छेका फरक बोलीले गर्दा भएको हो ।
उनको खास स्ट्याण्ड नभएर हो । खास बोली र धारणा नभएर हो । खास गन्तब्य नभएर हो ।
कथा यत्ति हो ।
आज यो कथाले हाम्रो इतिहास र बर्तमानलाई गिज्याइरहेछ ।
किन आज मान्छे बोली फेर्छन् ?
सत्ता बाहिर हुँदा एउटा बोली, भित्र हुँदा अर्को बोली किन ?
हिजो आन्दोलन गर्दा उठाएका बिषयहरू सत्ता र शक्तिमा आउने बित्तिकै किन बदलिन्छन् ?
आन्दोलनकारीहरू किन अनिर्णयको बन्दी हुन्छन् आन्दोलन सफल भएपछि ?
किन तिनीहरूसंग कुनै योजना र दृष्टिकोण हुन्न आन्दोलन सफल भएपछि पनि ?
किन ती दिग्भ्रमित हुन्छन् सत्ता पाएपछि ?
अनि कसरी संकटमा पर्छन् कसैले साथ नदिएपछि ?
के ती खाली दिमाग आन्दोलनमा गएर आप्mनो लक्ष हासिल गर्ने भएर हो ?
अथवा ती सबै ओलेन्का जस्तै भएर हो ?
त्यस्तै लाग्छ । कांग्रेस र कम्युनिष्टहरूले बिगतमा राजनीतिक सफलता पाएर पनि टिकाउन सकेनन् । किनभने ती ओलेन्का थिए ।
आज जेन्जीहरू पनि यत्रो धमाका मच्चाएर हासील गरेको परिवर्तन पछि तिनले त्यसलाई टिकाउलान् जस्तो लागेन । किनभने ती पनि ओलेन्का जस्तै भए ।
नेपालमा जजसले राजनीतिक परिवर्तन गर्न तम्सिन्छन्, ती सबै ओलेन्का बनिन्छन् । किनभने सत्ता पाएपछि के गर्ने भन्ने तिनको कुनै योजना हुँदैन, लक्ष हुँदैन, चिन्तन हुँदैन, दृष्टिकोण हुँदैन । अथवा भनौं दिमाग हुँदैन । अर्काको बैसाखी टेकेर उभिनेहरूको बाटो भनेको ओलन्कापथ हो । सत्र सालको परिवर्तन पनि धेरै टिकेन । ४६ सालको पनि टिकेन । माओवादीको धमकेदार पनि टिकेन । जेन्जीको पनि नटिक्ने संकेतहरू देखिइसकेका छन् ।
यी सबै परिणतीका पछाडि ओलेन्का दिमाग सकृय छ । आन्दोलनको आँधीबेहरी ल्याउँछु भन्नेहरू, ल्यायौं भन्नेहरू पनि कसैलाई कसले बोकेको भनेको छ, कसलाई कल्ले फन्डिङ्ग गरेको छ भनेको छ । को कसको एजेन्ट हो भनेको छ ।
हैरान भइयो अब ।
यो देशले ओलेन्कापथको अन्त्य खोजेको छ ।
त्यो अंत्य कतै भेटाउनुभयो भने मलाई पनि सुटुक्क भन्नस, ल ?

Author

You may also like