काँकडभिट्टा, १० पुस।
पर्यटक नेपाल भित्रिने पूर्वीनाका काँकडभिट्टाको सौन्दर्यकरण गर्नका लागि स्थानीयवासीले ‘संकल्प अभियान’ सुरु गरेका छन् ।
एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्याण्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान नदिएको भन्दै स्थानीयले पहल थाले । नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने उद्देश्यले नागरिक स्वस्फूर्तरुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएको अभियानका संयोजक विजय डालमियाले बताए ।
अभियानमा सामाजिक सङ्घ संस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी, स्थानीयलगायत अभियानमा सहभागी भएको उनले जनाउँदै अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गअन्तर्गत आसपासका क्षेत्रमा सरसफाइ र सौन्दर्यकरणका विभिन्न काम गर्ने योजनाअनुरुप अगाडि बढेको उल्लेख गरे । मेची पुलबाटै नियमित सरसफाई, प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने, सडकका भित्तामा राष्ट्रिय गौरव झल्किने चित्र तयार गर्ने र खाली जमिनमा फूलसहित बगैँचा बनाउने मुख्य उद्धेश्य राखिएको छ । मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैँचामा रुपान्तरण गरिने छ ।
नेपाल भित्रिने पर्यटकका लागि मेची पुलबाटै सरसफाई गरेर त्यस क्षेत्रलाई आकर्षक बनाएर स्वागत गर्नु आवश्यक देखिएकाले त्यसखाले अभियान थालिएको अभियानका सदस्य दीपक पोखरलले प्रष्ट्याए । नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायसँग समन्वय गरिरहेको उनले जनाए ।
भारत सरकारले एसियाली राजमार्गअन्तर्गत चार लेनको मेची पुल र नेपालतर्फ पाँच सय मिटर लामो छ लेनको फराकिलो सडक गत वर्ष नै निर्माण गरेको हो । यस राजमार्ग म्यान्मा र बङ्गलादेश हुँदै भारतको पानीटङ््याकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँचमार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौन्दर्यकरण गर्ने कार्य नभएकाले थानीयवासीको पहलमा काम थालिएको संयोजक डालमियाले बताउनुभयो ।
हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आ–आफ्नै चेकजाँच टोली बस्दै आएको छ । सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपाङ्गमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर बेवारिसे अवस्थामा छन् । खानेपानीको आधा दर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएका अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेका छन् ।
एसियाली राजमार्गको पहुँचमार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएकाले नेपाली भूभागको पहिचानका लागिसमेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अर्का अभियन्ता राजु कार्कीको धारणा छ ।