देश–समाज मुख्य

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

दमक, १० पुस।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए
आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि आन्तरिक स्रोतको परिचालनमा समेत उत्तिकै ध्यान दिइएको छ ।
आन्तरिक विद्युत् खपत बढाउनेदेखि बढी भएको बिजुली बिक्री गरेर विदेशी मुद्रा भित्र्याउनसमेत यसबिचमा सरकार सफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजाने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
देशभित्र विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी हुँदै गएको सन्दर्भलाई हेरेर एक सय बढी चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आएका छन् । सरकारले विद्युतीय सवारीसाधनको प्रबद्र्धनलाई जोड दिँदै आएको उनले बताए ।

Author

You may also like