कला/साहित्य/संस्कृति देश–समाज शिक्षा समाचार स्थानीय

हिमाविका पूर्व विद्यार्थीहरुको उत्कृष्ट कार्य : पहिलो हेडसर छविलाल सिटौलालाई अभिनन्दन

दमक/ हाम्रो जीवनमा गुरुको स्थान केवल एक शिक्षक वा पथप्रदर्शक मात्र नभई अन्धकारबाट उज्यालो तर्फ डो¥याउने अद्वितीय मार्गदर्शकको रूपमा रहँदै आएको छ । यसै सन्दर्भमा प्रसिद्ध नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानिसको भित्री ज्ञान र चेतनाको महत्वलाई दर्शाउँदै लेखेका छन्, ‘ज्ञान बिनाको मानिस पशुतुल्य हुन्छ ।’ हो, त्यही अज्ञानता र अन्धकारबाट मुक्त गराएर मानिसलाई ज्ञानको उज्यालो दुनियाँमा प्रवेश गराउने काम गुरुले नै गरेका हुन्छन् ।
विभिन्न ग्रन्थहरुमा पनि गुरुलाई ज्ञानरूपी, चेतनाशक्ति खुलाइदिने महामानवको रूपमा प्रस्तुत गरेको पाइन्छ । तसर्थ, जीवनलाई सही मार्गमा लैजान अहोरात्र खटिने गुरुप्रतिको सधैँ आदर, सम्मान र कृतज्ञता अर्पण गर्नु नै एक शिष्यको सबैभन्दा ठूलो र पवित्र धर्म हो । भनिन्छ, ‘ज्ञानले मानिसलाई ठुलो बनाउँछ, तर गुरुको सम्मानले त्यस ज्ञानलाई उज्यालो बनाउँछ ।’
हो आजको युगमा पनि गुरुप्रति चेलाहरुले गर्ने सम्मान र आदर्शलाई दशैंको अष्टमीको दिन मंगलबार दमकका ‘हेडसर’ भनेर चिर परिचित व्यक्तित्व छविलाल शर्मा सिटौलाको एक भव्य कार्यक्रमका बिच अभिनन्दन समारोहले पुष्टी गरेको छ ।
दमकको हिमालय माध्यमिक बिद्यालयमा पूर्व शिक्षक, पूर्व विद्यार्थी, तथा समस्त विद्यालय परिवारविच पुनर्मिलन एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । सो समारोहमा लामो समयसम्म प्रध्यानाध्यापकको रुपमा रही अवकाश प्राप्त हेडसर छविलाल शर्मा सिटौलालाई भब्य कार्यक्रमकाविच अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगर पालिकाका नगर प्रमुख रामकुमार थापा, बिशिष्ट अतिथिहरु उपप्रमुख रेगिना भट्टराई, हिमालय माविका पूर्व अध्यक्ष मेघराज तिम्सिना, कोसी प्रदेशका सभासद होमबहादुर थापा लगायतले खादा, माला र सम्मान पत्रद्वारा अभिनन्दन गरिएको थियो ।
सोही कार्यक्रममा हेडसर छविलाल शर्मा सिटौलाले समाजमा पुर्याउनु भएको महत्वपुर्ण योगदानको कुरा उल्लेख गरिएको पुस्तक ‘अभिनन्दन ग्रन्थ’को समेत लोकार्पण गरिएको थियो । उक्त ग्रन्थको लोकार्पण प्रमुख अतिथि दमक न पा का प्रमुख रामकुमार थापा, उप प्रमुख रेगीना भट्टराई प्रसाई, हिमाविका पूर्व अध्यक्ष मेघराज तिम्सिना, कोशी प्रदेश सभासद होमबहादुर थापा, हिमाविका प्र अ. दोण श्रेष्ठ, पूर्व प्राज्ञ डा. देवी नेपाल, कवि तथा साहित्यकारहरु मोहन भण्डारी, हेमनाथ अधिकारी, बिन्दु दहाल मुकदर्शक, कमलराज भट्टराई, आचार्य प्रभा लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको तयारीको चुनौती र संलग्नताबारे पूर्व विद्यार्थी तोया गौतमले प्रष्ट पारेका थिए ।
हिमालय माध्यमिक बिद्यालयको पूर्व बिद्याथी समुहका अध्यक्ष भगवान बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरुको बाक्लो उपश्थिति रहेको थियो ।
हि.मा.वि पूर्व बिद्यार्थी समुहका सचिव कमल प्रसाद दहालले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व बिद्याथी डा.लेखनाथ न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने हेडसरको अभिनन्दन पत्र हिमा विका पूर्व प्रअ नेत्रमणी न्यौपाने वाचनगरेका थिए । पूर्व शिक्षक, पूर्व बिद्याथी पूर्नमिलन समेत रहेको कार्यक्रममा दुई सय भन्दा कवि साहित्यकार, लेखक र शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

को हुन हेडसर ?
शिक्षा, चेतना र अग्रगामी सोचको खडेरीयुक्त युगमा तेह्रथुुमको मूलपानीमा जन्मे–हुर्केका छविलाल अरूभन्दा केही फरक गरौं, भिन्न बनौं भन्ने सोचाइ भएका ब्याक्तित्व हुन् । प्राथमिक तहको शिक्षा स्थानीय सङ्क्रान्ति बजारको त्रिभुवन स्कूलमा पूरा गर्नासाथै पढाइ(गुनाइका लागि उनले घरबाहिर निस्कन चाहेछन् । यो सुरमा ६ कक्षादेखिको पढाइ अघि बढाउन लहडी बनेर दार्जीलिङ के पुगेका थिए, यता गाउँमा हल्ला फैलिएछ( सिटौलाको छोराले जातधर्म छाड्यो, गाईको मासु खान थाल्यो भनेर । त्यही हल्लाका कारण दार्जीलिङमा पढ्न गएको छोराका लागि पैसा नपठाइने भएछन् घरबाट । तेह्रथुममा रहेका खर्साङतिरका एक भण्डारी शिक्षकले ‘दार्जीलिङ गएर पढेमा अंग्रेजी राम्रो हुन्छ’ भनेर सुझएका कारण छविलाल भागेर उता पुगेका थिए । तर कुनै उपाय लागेन, ६ कक्षाको अर्धवार्षिक दिएर उनी तेह्रथुम फिरेछन्। यो २०१० सालको कुरा थियो। पढाइको तिर्सना मरेको थिएन । फेरि घरमा बाबुआमासँग कुरा मिलाएर छविलाल काठमाडौं पुगेछन्( नन्दीरात्रि स्कूलमा। त्यो स्कूलको स्तर निर्धारण परीक्षामा अब्बल छानिएपछि उनलाई एकैचोटि १० कक्षामा भर्ना गरिएछ, ९ र १० कक्षाको परीक्षा एकैपटक दिन पाउने गरी । यसरी नसोचेको उपायबाट उनले एसएलसी गरे ।’ हेडसरकोबारे देबेन्द्र भट्टराईले लेखेका छन् ।
उनका अनुसार, नेपालमा उच्च शिक्षा शुरू नहुँदै छविलाल पढाइ–गुनाइको तिर्खा बोकेर कुदिरहेका थिए । यही कारण क्याम्पस पढ्न सस्तो, सुलभ र संगत पनि मिल्ने थलो बनारस पुगेछन् उनी । स्थानीय हरिश्चन्द्र कलेजका छात्र बन्दै कतुवापुरा, पुचुवा गल्ली (नेता कृष्णप्रसाद भट्टराई बस्ने घर) मा डेरा लिएका रहेछन् । त्यो बेला बालकृष्ण रुपावासी (पोखरेल), तारानाथ शर्माहरू पनि उतै थिए ।
बनारसबाट कलेज सकेर फिर्दा त्रिचन्द्र क्याम्पसमा बीए अनर्स कक्षा शुरु भइसकेको थियो । यदुनाथ खनाल, सूर्यबहादुर शाक्य जस्ता खरा शिक्षकसँग पढ्न पाइने भएपछि छविलाल त्रिचन्द्रका कक्षामा उपस्थित भए । यसरी कुनै गाइडलाइन विना हिंड्दाहिंड्दै छविलाल आजको स्थानमा आइपुगेका रहेछन्। “बस चढ्ने स्टेसन कता छ भन्ने थाहा नपाएर कोसौं हिंडेर जुत्ता फटाए जस्तै भो जिन्दगी” छविलालले भने, “निकै लाटो पाराले कुदाकुद गरेरै जीवन बित्यो भन्दा पनि फरक नपर्ने ।”
२०२० सालमा बीए अनर्स भएर तेह्रथुमको गाउँ फिर्नासाथै स्थानीय त्रिभुवन स्कूलमा मास्टर बने छविलाल । “मैले एसएलसी गरेको साल बाँसबारी छालाजुत्तामा काम गर्न पाउने गरी चिनियाँ कोटाको टूेनिङमा मेरो नाम निस्किएको थियो । तर, मलाई घरबाट जानै दिएनन् । ‘बाहुनको छोराले छालाको काम गर्ने’ भनेर थर्काउने काम मात्रै भयो” छविलालले सम्झिए, “त्यसमा रंगनाथका छोराले अवसर पाए, पछि उनी महाप्रबन्धक (जीएम) तहसम्म पुगे र राम्रैसँग बाँसबारी छालाजुत्ता चलाए पनि ।” बाल्यकालमै बिहा एउटा गरिसकेका छविलालले एसएलसीपछि २०१२ सालमा अर्को बिहा पनि गरेका थिए । तर बिहाबारी, घरपरिवारको रसरंगभन्दा घरबाहिर गएर शैक्षिक र प्राज्ञिक केही काम गर्न पाए हुन्थ्यो भन्ने मनोकांक्षा उनमा सदैव रह्यो ।
उनी तेह्रथुमको स्कूलमा पढाइरहेकै बेला एक दिन झपाको दमकबाट कोही चिनारु आइपुगेछन् । त्यतिबेला भर्खरै (२०२३ साल असोज १६ गते) दर्ता भएको एउटा निम्न माध्यमिक विद्यालयका लागि बीए पढेकोे अंग्रेजी समेत पढाउने हेडसर खोज्दै ती चिनारु आएका रहेछन् । त्यो ‘अफर’लाई एउटा अवसर ठान्दै छविलाल तेह्रथुमको चिसोबाट झापाको तातोतिर झ्रेछन्, घरमा बाबुलाई समेत पत्तो नदिई । ‘झापाको सलकपुरमा रहेको धानखेती हेर्छुु भनेर भगौडा बनेका छविलाल दमक आएर २०२३ साल पुस २६ देखि हेडमास्टर बनेका रहेछन्, स्थानीय हिमालय विद्यालयमा ।
छविलालले तेह्रथुममा पढाउँदा उनको तलब मासिक १२५ रुपैयाँ थियो, हेडसर बनेर मधेश झरेपछि ३५० रुपैयाँ बनेको रहेछ । तलब त्यो बेलाको गाउँ पञ्चायतले दिन्थ्यो । खान–बस्नको खासै समस्या थिएन । हेडसर भनेपछि मानमनितो थियो नै ।
२०२३ सालमा हिमालय स्कूलमा ७५ जना विद्यार्थी थिए– कक्षा–१ देखि ८ सम्म गरेर । आज (२०८० तिर) कक्षा–१ देखि १२ सम्म गरेर झण्डै ४ हजार विद्यार्थी छन् । हेडसर छविलालकै पालामा सयौं र हजारौं विद्यार्थीले यहाँबाट एसएलसी गरेको बताइएको छ । मुलुकका उच्च ओहोदादेखि देश–विदेशमा यत्रतत्र छरिएका छन् हेडसरका चेलाहरु । उनी लगातार ३१ वर्ष ८ महीना ११ दिन हेडसर बनेका रहेछन् दमकको हिमालय माध्यमिक विद्यालयमा । एउटा विशाल नदी तार्ने माझी झैं हेडसर छविलालले धेरैका निम्ति डुङ्गा खियाउने काम गरेका छन् । “शिक्षकको काम भनेकै माझीको जस्तै हो, वारपार गराउने ।
अब एउटा माझीले म नदी छाडेर बाहिर जान पाइनँ भनेर रुँदा केही हुन्छ र ? उसको काम नदीमा बसेर यात्रु कुर्नु हो । म यही विश्वासमा अडिग छु” हेडसरको स्मरण कार्यक्रममा सुनाइएको थियो । हेडसर अहिले बृद्ध अवस्थामा छन् । अहिले पनि दमकबासीका लागि उनी प्रेरणाका श्रोत हुन् ।

Author

You may also like