कला/साहित्य/संस्कृति खेल

धनराज—बेगवान आँधी तुफान

डा. व्यन्जना शर्मा

कहिलेकाहीँ जीवनमा ससाना संयोगहरुले पनि ठूलो छाप छोड्छन् । यस्तै भयो यसपाली । यात्रा इलामको थियो । हाम्रो काम एक सरकारी अड्डामा थियो । बिहानको नौ बज्दा नबज्दा त हामी इलामको पहारिलो भदौरे घामबाट छलिने प्रयत्नमा लागिसकेका थियौँ । सीमित प्रविधि अपनाइएको मालपोत अड्डामा इन्टरनेट सर्भिसमा गड्बडी भएर कम्प्यूटरहरु अर्ध मुच्र्छित थिए । कम्प्यूटर अपरेटरहरु हाइ काड्दै थिए । हामी पनि त्यसै त्यतै अल्छी मानिरहेका बेला एउटा अल्गो, चुस्स जुँगा भएको, काउव्वाइ ह्याट लगाएको मनुवा हाम्रा छेउमा आयो । उसले घर, वतन, थर सोधेन । त्यो हाम्रो संस्कारमा अलि अनौठै कुरा थियो । अनि बिस्तारै इलामको मौसम, चियाका प्रकारका बारेमा गफ गर्दै हामी ठट्टामा जम्यौँ । उसको घतलाग्दो कुरा के थियो भनें ऊ बेजोड खिल्खिलाएर हाँस्थ्यो । त्यस्तो उन्मुक्त हाँसो मैले देखेकै थिएन भन्दा हुन्छ । ‘यो त अकबरे हाँसो पो हो त,’ भन्दै ऊ कुनै तनाव, पीडा र संकोच बिना बेजोडसँग हाँस्यो । मोहम्मद रफीको गीत गायो । काम नभएका समयमा हाम्रा मन बहलाइदियो ।
हो, त्यो अमुक इलामे मनुवा जस्तै काल्पनिक चितवनभित्रको कुनै सुरम्य बस्तीभित्रको एक उन्मुक्त मनुवा मसँग प्रविधि मार्पmत भर्खरै जोडिन आइपुगेको छ । चितवन शब्द मात्रले पनि मलाई ‘गुड फिलिङ’ दिन्छ । त्यसै त्यसै मनमा ठूलो नदी र बरबगैँचाको चित्र बिम्वित भएर आउँछ । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा देखिने चितवनको एक टुक्रा त चितवन होइन । सौराहाको जंगल, नारायणी नदीको विशालता र विस्तिर्ण फाँटका चित्रहरुले मात्र पनि मन ‘चन्चल चितवन’ बन्छ । त्यो भर्चुअल मित्र बातबातमा तुक्का जोड्छ, गपैmलाई गजलमा परिणत गरिदिन्छ अनि डायलगलाई नेपाली, अंग्रेजी र हिन्दीमा स्वीच गरिरहन्छ र मनमनै नाचिरहन्छ । यो भिडियो प्रविधि नहुँदो हो त मेरा मनमा यो तिलस्मी मनुष्य धनराज गिरीको चित्र कस्तो आउँथ्यो कुन्नी ? तर भिडियो कलले गर्दा यो जिन्दादिल आँखै सामुन्नेमा चौसठ्ठी वर्षको रौस लिएर गजल, शायरी र सिमलका भुवाजस्ता गफ फर्माउँछ ।
‘म त आफूलाई डिप्रेसनबाट जोगाउन यो सब नाटक गरिरहेछु,’ त्यो मनुवा भन्छ । आपूmलाई बेगवान आँधी तुफान मान्ने धनराजका फोन तुफान जस्तै बेला, कुबेला, ठाउँ, ठहर केहि नहेरी आउँछन् । भ्याए उठाउने हो कल, नभ्याए भ्वाइस मेसेज आइहाल्छ । यो ‘धनराजियन स्टाइल’ भन्दै हाँस्ने र बेफिक्र बाँच्ने शैली नै गजव ।

बूढा घोडाको बिजोक
मान्छे होस् वा जनावर एक हदपछि उसको शक्ति र सामथ्र्यमा कमी आउँछ । जवान घोडाहरुसँग बूढा घोडाहरुले बाजीको दौड दौडन सक्दैनन् । एक मित्रले भन्थ्यो, “अब रिटायर भइयो । अलिकति खान्छु, मन लाग्दो काम गर्छु ।” उसैको भनाइमा सरकारले उसलाई आधा बेतन दिएर घर बस्नु, आराम गर्नु भनेको हो रे । आधा बेतन चाहिं स्वास्थ्य राखेर आधा मात्र खानु अनि काममा पनि हत्ते नहाली आधा मात्र गर्नु भनेको रे । त्यसैले ऊ नयाँ धन्दा सोच्दैन । आपूmलाई रहर लागेका कुरा गर्छ । मनमौजी धनराजको जीवन बँचाइ र मेरो रिटायर्ड मित्रको जीवन दर्शनको मिलन यहिं भयो ।
धनराजकै भाषामा चाहिं रिटायरमेन्ट अर्को उत्सव हो । दशैंपछि आउने तिहार हो । “अवकाश पछि काम त गर्नुपर्छ तर रहरका, तिर्सना बेगरका । त्यसैले म गीत गाउँछु, महफिल जमाउँछु, कसो गर्दा यो मन रमाउँछ, त्यसैगरी रमाउँछु ।” गिरी शायरी मिसाउँदै हिन्दी फिल्मका डायलग दुरुस्त उतार्दै बोल्छन् ।

अर्काका लागि बत्ती
एक समयमा एउटा दृष्टिविहिन व्यक्ति सानो टहरामा एक्लै बस्थ्यो । साँझ छिप्पिएपछि ऊ एउटा लालटिन बोकेर टहल्न निस्कन्थ्यो । यस्तै एक साँझ ऊ घर फिर्दै गर्दा एक हुल ठिटाहरुले उसलाई अन्धोले लालटिन बोकेर के काम भनेर गिज्याए । “तँ अन्धाले लालटिन बोके पनि नबोके पनि के फरक पर्छ ? आखिरमा तँ अन्धै होस्,” भनेर ठिटाहरुले बचन लगाउँदा त्यस दृष्टिविहिनले उत्तर दिएछ, “ मैले यो बत्ती मेरा लागि होइन । तिमीहरुका लागि बोकेको हो । तिमीहरुले मलाई नदेखेर ठोक्किन्छौ कि भनेर मैंले लाल्टिन बोकेको हो ।” यो उत्तर सुनेर केटाहरु लज्जित हुँदै हिँडेछन् । हो, त्यस्तै लाग्छन् धनराज गिरी । उनले संसार पहिचान गरेका छन्, सांसारिकताको तिकडम बुझेका छन् र नपत्याउदो गरी हलुका भाकामा अरुलाई भनेर ज्ञानको लाल्टिन बोकेर हिंडेका छन् । उनकै माताका मायालु शब्दमा उनी घन्टाउके थिए रे । पढाइ लेखाइमा अब्बल भएर घन्टाउके हुनुको लाज पनि जोगाएछन् उनले तर सोचेजस्तो नहुनाले एक समयमा निराशाको अघोर बादलले घेरेर उनलाई निकै सकस पनि पारेछ । हो, त्यसपछि नै उनमा ब्रम्हज्ञान पलाएछ – हुट्टिट्याउँ बनेर यो संसार च्याप्न र थाम्न सकिन्न । त्यसपछि नै उनी फुक्काफाल बेमिसाल बनेका रहेछन् । यी पुस्तकका पारखी गिरी कसरी बाँच्न सकेका होलान् यति हलुकोसँग भनेर मेरो मनले आपंैmलाई सोधिरहन्छ ।

जिन्दगी नामिलेगी दुबारा
चिनाजानाका हप्तादिनमै गिरीका गफले मलाई प्रभावित पारेको छ । उनका गफरुपी चामलबाट अलेलि सामा, पत्कर, ढुंगा र भुस छानेर मिल्काउन सके सग्ला अन्न प्रशस्त निस्कन्छन् । उनी आपैंm जीवनलाई हेर्ने दृष्टिकोण र हेराइका बारेमा कवि दुर्गालाल श्रेष्ठको आनी छोयाङले गाएको गीत, ‘पूmलको आँखामा पूmलै संसार’ जस्तै कुरा गर्छन् । यो बारबार नपाइने जीवनका बारेमा भारतीय फिल्मी मन्त्र “जिन्दगी नामिलेगी दुबारा” भन्दै हाँस्न र भाररहित बाँच्न गिरीले मलाई प्रोत्साहित गरेका छन् ।
जीवन हेर्ने दृष्टिकोणका सम्बन्धमा गिरी दर्शनसँग मिल्दोजुल्दो एउटा चोटिलो कथा छ । कथामा एकजना शिक्षक कक्षाकोठामा जान्छन् र प्रश्न पत्र बाँड्छन् । प्रश्न पत्रलाई उल्टा पारेर राखिएको हुन्छ । शिक्षकले अनुमति दिएपछि सबै विद्यार्थीले प्रश्नपत्र उठाएर हेर्छन् । त्यस रित्तो कागजको पानाका बीचमा एउटा थोप्लो मात्र हुन्छ । शिक्षकले विद्यार्थीहरुलाई उनीहरुले जे त्यस प्रश्न पत्रमा देखे त्यही लेख्न अह्राउँछन् । सबै विद्यार्थीको एउटै उत्तर हुन्छ – खाली कागजको पानामा कालो थोप्लो छ ।
ती शिक्षक धनराज गिरी नै पनि हुन सक्छन् । गिरी आफै उज्यालो भरिएका उज्याला पात्र हुन् । उनी उज्यालो बोकेर हिँड्छन् र उज्यालोतिर हेर्न सिकाउँछन् । अनि प्रश्न पत्रमा कालो थोप्लो मात्र देख्नेहरुलाई ती शिक्षक प्रतिप्रश्न गर्छन्– त्यो थोप्लो बाहेकको सिङ्गो सेतो पाना, त्यो उज्यालोको हामी किन कुरा गर्दैनौं ? राम्ररी हेर्दा, विचार गर्दा त्यो थोप्लो त सारै सानो छ । कागजको ठूलो भाग त सेतो र उज्यालो छ । धनराजियन दर्शनले पनि शायद त्यहि भन्छ । यो जीवनमा काला दाग र धब्बा त छन् तर त्यसभन्दा धेरै त उज्याला नै हुन्छन् । उज्यालो हेर्ने पनि यिनै नयनले हो र अँध्यारो हेर्ने पनि यिनै नयन हुन् । उज्यालो हेर्न सिकाउने, हाँसेर बाँच्न सिकाउने गुरु गिरी बन्दनीय छन् ।

benumonash@gmail.com

You may also like