अर्थ देश–समाज

कोरोनाले बन्द सीमा नाका खुले, बजारमा दशैंको चहलपहल शुरु

विमल लामिछाने

दमक/   दशैंको चहलपहल बढेसँगै सीमा क्षेत्रका बजारहरुमा किनमेल गर्ने बढ्न थालेका छन् । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । नाका खुलेसँगै बजारहरुमा चहलपहल बढेको हो ।

प्रदेश १ का झापा, इलाम र मोरङका सीमावर्ती नाका खुलेसँगै बजारहरुमा दशैं लक्षित सामानहरु किनबेच गर्नेहरु बढ्दै गएका छन् । झापाको काँकडभिट्टा मेची भन्सार, भद्रपुर भन्सार र दक्षिणी सीमावर्ती गौरीगञ्ज नाकाबाट पनि सामान्य आवतजावत सुरु भएको छ । यद्यपी भारततर्फ भने चेकजाँचमा कडाइ रहेको स्थानीयवासीको गुनासो छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले दिएको जानकारीअनुसार, पश्चिम बंगाल सरकारले अहिले पनि आवतजावतमा कडाइ नै गरेको छ । नाका खुलाउन आग्रह गरिए पनि अहिलेसम्म खुलाइएको छैन । सो नाकामा ७२ घण्टाभित्रको पीसीआर खोप कार्ड अनिवार्य गरिएको छ ।

काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार, भारततर्फ पनि कोरोना खोपको कार्ड जाँच हुने गरेकोले पानीट्यांकी र सिलिगुडीका बजारमा किनमेल गर्न जानेले खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भारततर्फको नाका खुलाउन र ब्यापारमा सहज बनाउन भारतको दार्जिलिङ र किसनगञ्जका समकक्षीसँग कुरा भइरहेको जानकारी दिए ।

यसैगरी इलामको पशुपतिनगर नाका खुलेसँगै भारततर्फको आवतजावत बढेको छ । सरकारले भारतसँग जोडिएका नाकाहरू खुला गर्ने निर्णय गरेसँगै पशुपतिनगर नाका भएर नेपाल भित्रिने पर्यटक र व्यापारीको चहलपहल पनि सुरु भएको हो । सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईका अनुसार, पशुपतिनगर नाका भएर भारत जाने आउनेको संख्या बढ्न थालेको छ । पशुपतिनगर भएर भारतीय र बंगाली पर्यटक नेपाल भित्रिन थालेका छन्  । इलामको पशुपतिनगर, मानेभञ्ज्याङ, जौबारीलगायतका नाका भएर दशैंको सामान किनमेल गर्न नेपाल–भारत आउजाउ हुने गरेको छ । यी नाका गत वैशाख २५ देखि बन्द भएका थिए । यद्यपि, भारत सरकारले औपचारिक रूपमा सीमा खुला नगर्दा भारतीय सवारीले नेपाल प्रवेश पाएका छैनन् । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार, स्थानीय प्रशासनले नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।

यसैगरी मोरङकोे विराटनगरस्थित रानी नाकापनि खुला भएसँगै किनमेल गर्नेको संख्या बढेको छ । रानी नाकाबाट साउनयता नेपाल प्रवेश गर्ने भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको छैन । रानी हेल्थ डेस्कका सहायक प्रमुख सुरेन्द्र यादवका अनुसार गत साउनमा ६ सय २३ जना नेपाल प्रवेश गरेकामा एन्टिजेन परीक्षण गरिएकामध्ये साउनमा चार जना र भदौमा चार जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसयता अहिलेसम्म एक जना पनि सङ्क्रमित फेला परेका छैनन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले मुख्य सीमा नाका खुला गरिएसँगै सहायक नाकाहरूमा थप कडाइ सुरु गरिएको बताए । उनका अनुसार पछिल्लो समय दशैंको सामान किनमेल गर्न यो नाकाबाट आवत जावत गर्नेको संख्या पनि बढ्दै गएको छ ।

पोखरेलका अनुसार भारतबाट नेपाल भित्रिने यात्रुका लागि सीमा क्षेत्रमै स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यद्यपि, सबै नाकामा स्वास्थ्य जाँच हुन नसक्दा कोरोना सङ्क्रमणको खतरा बढ्न सक्ने आशंका समेत गरिएको छ । सरकारले कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरेको हो । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको संख्या सीमा क्षेत्रमा गुणात्मक रुपमा बढ्दै गएको छ ।

उपभोग्य सामग्री अत्यधिक महँगो

यो पटकको दशैं तिहार लगायत चाडपर्वमा दैनिक उपभोग्य सामग्री थेग्नै नसक्ने गरी महँगो भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ । यस अवधिमा खानेतेल, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य बढेको हो । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक सबै उपभोग्य वस्तुको मूल्य उकालो लागेको छ । खानेतेल र वनस्पति घ्यूको मूल्य ९० रुपैयाँसम्म बढेको छ । यो अवधिमा बासमती चामल, जौ, बेसार, बेसन पीठो र खोर्सानीको धुलोको मूल्य भने स्थिर रहेको संघले बताएको छ । यो अवधिमा नेपाली बजारमा उपलब्ध सबै प्रकारका खानेतेलको मूल्य बढेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि नै खानेतेलमा भएको छ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढेको दाबी गरेको छ । नेपाली उद्योगहरूलाई चाहिने भटमास, तोरी र सूर्यमूखीको तेल ब्राजिल, अर्जेन्टिना, युक्रेन, क्यानाडा, अष्ट्रेलिया लगायतका देशबाट ल्याउने गरिन्छ । ती देशमै मूल्य बढ्दा नेपालमा पनि खानेतेलको मूल्य बढेको व्यापारीहरूले बताउँदै आएका छन् ।

You may also like