दमक/ दशैं सुरु भएको नवरथाको सातौँ दिन आज नेपालीहरुले हर्षेल्लासकासाथ पूजा कोठा तथा दशैंघरमा फूलपाती भित्र्याएर मनाउँदैछन् । देशभरका तीन तहका सरकार प्रमुखहरुले निकै महत्व दिएर आ–आफ्नो स्थानमा फुलपाती हर्कबढाईका साथ भित्र्याउने प्रचलन रहि आएको छ । काठमाडौंको टुंडिखेलमा भव्य र विशाल कार्यक्रमका साथ फुलपाती भित्र्याउने गरिन्छ । हेलिकप्टरबाट पुष्पवृष्टि गरेर फुलपातीको हर्षबढाई गरिन्छ त्यो क्रम आज पनि निरन्तर भईरहेको छ । देशभरमा जहाँ जहाँ रहेपनि तीन वटै सुरक्षा निकायबाट फुलपातीको हर्षबढाईमा सरिक हुने कार्यक्रम रहन्छ ।
देशभर दुर्गा पुजा मण्डप बनाएर पुजाआजा गर्ने, भजनकिर्तन गरेर भगवानप्रति भक्तिभाव देखाउने आधार तयार भएका छन् । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ ।
दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ । कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।
काललाई पनि भगवती दुर्गाले नष्ट गरिदिने मान्यताकासाथ नव दुर्गामध्ये सातौँ दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्दै फुलपाती भित्र्याउने गरिन्छ । इतिहास बनेको गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारमा फूलपातीसहितको डोली भित्र्यान्छ ।
दमक सहित कोशी प्रदेशका विभिन्न मन्दिर तथा शक्तिपीठमा फुलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।
दमक १ स्थित नव दुर्गा पाञ्चायन मन्दिरले एक कार्यक्रम गरी मन्दिरमा फुलपाती भित्र्याउँदैछ । परम्परादेखि दमकमा फुलपाती भित्र्याउने सामुहिकस्थलका रुपमा विकास भएको सो मन्दिरमा बिहान २१ नं. बाहिनी नेपाली सेना तापठाछी झापाले सलामी अर्पण गर्दै सांस्कतिक झाँकी सहित गोरखाबाट काठमाडौंमा भित्र्याए झै दमकमा फुलपाती २१ नंं बहिनीमै भित्र्याउने कार्यक्रम रहेको परम्परा रहिआएको वडा नं. १ को वडाअध्यक्ष हरि न्यौपानेले जानकारी दिए । सो कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख, उपप्रमुखसहितको उपस्थिति रहने वडाअध्यक्ष न्यौपानेले बुधबार बेलको बोटमा निमन्त्रणा दिएको र आज बिहीबार बिहान त्यहाँको बेलको पत्रलाई डोलीमा राखेर फुलपातीका रुपमा लिएर आई दमक नगर परिक्रमा सहित फुलपाती भित्र्याइने परम्पराको निरन्तरता यस पटक पनि भएको वडाअध्यक्ष न्यौपानेले बताए । सो मन्दिरमा स्थानीयले सामुहिक जमरा राखेका छन् । न्यौपानेले सो मन्दिर परिसरमा हरेक दिन रातिसम्म नै धार्मिक कार्यक्रम हुँदै आएको पनि बताए ।
यसक्रममा मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीस्थित ऐतिहासिक सिंहदेवी दुर्गा मन्दिर समितिले पनि फुलपाती लिएर स्थानीयवासीमार्फत् जिरिखिम्ती टोल परिक्रमा गरेपछि मन्दिरमा भित्र्याउने भएको छ । नौ कन्यालाई पनि सहभागी गराइएको थियो । मन्दिरमा स्थानीयले सामुहिक जमरा राखेका छन् । सुनसरीको इटहरीस्थित सत्यसाई केन्द्रले पनि उसैगरी फुलपाती भित्र्याउने कार्यक्रम रहेको केन्द्रले जनाएको छ । जनता माविको प्राङ्गणमा हरेक वर्ष दुर्गा पुजा स्थल बनाएर इटहरीमा हरेक दिन धार्मिक कार्यक्रम हुने गरेका छन् ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा अपराह्न फूलपाती बढाइँ समारोहको कार्यक्रम समेत रहेको छ । नेपाली सेनाको परमाधिपतिको हैसियतमा नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैैँ पर्व मनाउँछन् ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लाग्दै आएको छ ।