विश्वव्यापी रुपमा नै आतंकवाद झ्याँगिदै गएपछि देश विदेशमा छरिएर जाने गरेका नेपालीहरुपनि आतंकवादको तारो बन्नुपरेको तथा सर्वस्व गुमाउनु परेको यथार्थ हामीसँग ताजा नै छ । देश भित्र र देश बाहिरका नेपाली नागरिकहरुको सुरक्षा र जीवन रक्षाको लागि सरकारले छिमेकि तथा मित्र राष्ट्रहरु लगायत व्यापारमा संलग्न रहेका देशहरुसँग अझ सुमधुर र घनिष्ट सम्बन्धको विकास गर्नुको साथै आफ्ना विदेश स्थित डिप्लोम्याट्स हरुलाई अझ बढी चनाखो र सक्रिय बनाउनु पर्ने आवश्यकता टड्कारो रहेको देखिन्छ । अहिले विश्वमा एक पछि अर्को गर्दै चरणबद्ध रुपमै आतंकवादी घटनाहरुले विष्फोटक रुप लिँदै छन् । नेपालका मात्र बाइस लाख भन्दा बढी नेपालीहरु विदेशी भूमिमा जिवन बिताइरहेको हुनाले उनिहरुको जीउ धनको सुरक्षामाथि बढी खतरा हुन सक्ने सम्भावनाहरु पनि बढ्दैछ । नेपाली नागरिकहरु विदेशी भूमिमा आफ्नो ज्यानको माया मारेर विदेशी मुद्रा आर्जन गर्दै छन् र नेपालको आफ्नो घरमा पैसा पठाइरहेका छन् जसले नेपालको मृततुल्य अर्थतन्त्रलाई टेवा दिइरहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र एक खर्ब छत्तिस अर्ब तीरान्बे करोडको विप्रेषण मुद्रा देश भित्र भित्रिएको छ । नेपालको कुल विदेशी मुद्राको संचिति बीस खर्ब बयान्बे अर्ब बाइस करोड पुगेको छ । अधिकांश नेपाली नागरिकहरु मध्यपूर्वका खाडी मुलुकहरु, इसराइल, लेवनान, युक्रेन, भारत लागयतका आतंकवादबाट बढी प्रभावित भएका देशहरुमा छन् र यी देशहरुमा नेपाली नागरिकहरुको उल्लेखनीय रुपमा आवत जावत पनि भइरहेको छ । विदेशमा रहेका नेपालीहरु सुरक्षित रहन सकेनन् भने विदेशबाट आउने वैदेशिक मुद्राको स्रोत बन्द हुन सक्छ । यस्तो अवस्थामा नेपाललाई हरिकंगाल बन्नबाट कसैले पनि रोक्न सक्दैन । सरकारले आतंकवादी गतिविधिहरुलाई हलुका रुपमा लिनु हुँदैन तथा आम नेपाली हरुको सपना सुखी नेपाली र समृद्ध नेपाल को लक्ष्य हासिल गर्न आतंकारी गतिविधिहरुलाई काबुमा राख्ने प्रयासमा अनवरत रुपमा लागि रहनु पर्दछ ।
नेपालको सिमाना भित्रैपनि कतिपय आतंकवादी संगठनहरु विभिन्न नाम र आवरणमा गोप्य रुपमा आफ्नो गतिविधिहरु संचालन गरिरहेका छन् भनेर देश र विदेशका विभिन्न मिडियाहरुमा चर्चामा आउने पनि गरेको छ । नेपालको अतीत र इतिहासलाई हेर्दा थुप्रै किसिमबाट आतंकवादी घटनाहरु नेपालमा पनि घटेका छन् । २४ डिसेम्बर १९९९ का दिन उड्न लागेको काठमाडौँ दिल्ली इन्डीयन एयरलाइन्सको टि.सि ८१४ नामक विमानलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँबाट अपहरण गरि सबै यात्रुलाई बन्धक बनाइ पाकिस्तानका तालेबानि समर्थक हर्कत उल्ल मुजाहिद्दिन नाम गरेका आतंकवादी संगठनले अफगानिस्तानको कन्दहार सम्म पुर्याएर आतंकवादीहरुको लडाकु दस्ताको घेरा भित्र राखेर आफ्नो नियंत्रणमा लिएका थिए । जम्मा १७९ जना सवार यात्रु तथा विमानका ११ जान क्रु मेम्बरलाई छुटाउन भारत सरकारले बाध्य भएर अपहरणकर्ताले राखेका सर्त बमोजिम भारतका विभिन्न जेलमा रहेका तीन जना खुंखार पाकिस्तानी इस्लामिक अतिवादीहरुलाई भारतको जेलबाट निकालेर कंदहारमा लगि अपहरणकर्तालाई जिम्मा लगाएपछि मात्र भारत सरकारले यात्रु सहित विमान लाई मुक्त गराउन सकेको थियो । उक्त विमानमा यात्रा गरिरहेका एक जना यात्रुलाई अपहरण कर्ताले गोली हानि हत्या गरेको थियो भने १७ जना जति यात्रुहरु उनीहरुको कुटपीट र गोलीबाट घाइते बनाइएका थिए । सम्भवतः यस घटनाबाट नेपालपनि आतंकवादी गरिविधिहरुको केन्द्र विन्दु बन्न सक्ने सुचना प्रवाह विश्व भरिनै तरंगित हुन पुगेको थियो जुन कारणले गर्दा नेपालको पर्यटनलाई ठूलो धक्का पुग्न गएको थियो । मुख्य रुपमा भारतीय पर्यटक लगायत युरोपेली देशहरुबाट आउने विदेशी पर्यटकहरुको संख्या ह्वात्तै घट्न गएको थियो । साथै, नेपाल सरकारका विमानस्थलमा खटिएर रहेका सुरक्षाकर्मी तथा कर्मचारीहरुको भूमिकामाथि गम्भिर प्रश्न खड। भएको थियो ।
त्यसपछि लगत्तै सन् २००४ को अगस्त १९ तारिखका दिन नेपालका १२ जान नेपालीहरुलाई सुन्नी इस्लामिक आतंकवादी समुहहरुले इराक कै भूमिमा हत्या गरेका थिए । विभिन्न म्यानपावर कम्पनी मार्फत बैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली युवाहलाई इराक भित्रकै इसलामिक सुन्नि आतंकवादी संगठन जमात अन्सार अल सुन्नाले अपहरण गरि उनीहरुलाई ३१ अगस्तका दिन २ जनालाई घाँटी रेटेर हत्या गरेका थिए भने बाँकी दश जना नेपालीहरुलाई गोली हानेर हत्या गरिएको थियो । उक्त घटना घट्दै गरेको दृश्यलाई अल्जजीरा टेलीभिजनबाट प्रसारण गरिएको थियो । नेपाल सरकारका विदेशी नियोगका डिप्लोम्याट्सहरुले अपहरित नेपाली नागरिकहरुसंग तथा अपहरण कारिहरुसंग कुनै पनि किसिमाको संवाद र सम्पर्क स्थापित गर्न सकेका थिएनन् । विदेशी भूमिमा आफ्ना नागरिकहरु छुटाउन नेपाल सरकारले गरेको कुटनितिक पहल पुर्ण रुपमा असफल भएको यो पहिलो घटना भने होइन ।
धर्मान्ध जिहादी इस्लामिक स्टेटका आतंककारिहरुले विश्वलाइ नै थर्काउने गरि चुनौती दिने किसिमबाट आफ्ना हिंसक गरिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेका छन् । आतंकवादलाई नियन्त्रण गर्न विश्वका शक्तिसाली राष्ट्रहरुले गरेका प्रयासहरु पनि असफल भइरहेको देखिन्छ । मध्य पूर्वमा सल्किएको धार्मिक तथा जातिय युद्ध फिलिस्तिनि आतंकवादी संगठन हमासले गराएको इसराइल विरुद्धको छापामार युद्धमा दशजना नेपाली युवाहरुलाई इसराइलमै हत्या गरिएको खबर आम नेपालीहरुको मन मस्तिस्कबाट अझै हट्न पाइरहेको छैन । ६ अक्टोबर २०२३ का त्यो दिन नेपाल र नेपालीहरुको लागि एउटा दुखद घटनाको दिन थियो जसमा १० जना विद्यार्थीहरुले अकालमा ज्यान गुमाउनु परेको थियो । त्यसै घटना मा परेका एक जना लाई हमासका छापामारहरुले गाजापट्टि स्थित आफ्नो सैन्य अखाडा भएको सुरुङ भित्र राखेको थियो जसको अवस्था अहिले सम्म पनि अग्यात छ । नेपालका कंचनपुरजिल्लाका परिवारजन हरु पनि छोरो खोजिदिन सरकार संग विलौना गरिरहेका छन् । नेपाल सरकारले आफ्ना नागरिकहरुलाई विदेशी भूमिवाट सकुसल फिर्ता ल्याउन गरेका डिप्लोम्याटिक प्रयासहरु दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । इसराइल र लेवनान तथा इरान बीच चलेको युद्ध जतिजति लम्बिँदै छ , अझ बढी संख्यामा नेपालीहरु युद्धको चपेटामा पर्न सक्ने सम्भावना पनि बढ्दै गइरहेको छ ।
भारतीय सुरक्षा एजेन्सीहरुले पनि नेपाल इस्लामिक आतंकवादी संगठनहरुको भारत विरुद्धको चलखेल गर्ने ठाउँ बन्दै गइरहेको छ । भनेर बारम्बार भारतीय मिडियाहरुमा खबर आइरहन्छ । नेपाल सरकारले यस्ता खबरहरुलाई उडन्ते र मनगडन्ते तथा अविश्वसनीय भनेर भारत तर्फ जवाफ फर्काउने पनि गरको छ तर भारत र नेपाल बीच धेरै लामो खुल्ला सिमाना भएको कारणले पनि भारततिरका आतंकवादीहरुले पनि नेपाली भूमि सेल्टरको रुपमा प्रयोगगरि आतंकवादी गरिविधिहरु संचालन गर्न सक्दछन् भन्ने कुराको धेरै सम्भावना छ । नेपालका मुस्लीम आवादी भएका क्षेत्रहरुमा मुल्ला र मौल्वीहरुको बढ्दै गइरहेको संदिग्ध गतिविधिहरुले यस्ता कुराहरुको पुष्टि गर्न बल पुर्याइरहेका हुन सक्दछन् । भारतमा पटक पटक भइरहेको आतंककारी गरिविधिहरुको सेरोफेरोमा भारत सरकारले धेरै सुरक्षा सतर्कता पनि अपनाउने गरेको पाइन्छ । भारतको उत्तर प्रदेश राज्यमा मुस्लीमहरुको ठूलो आवादी छ । त्यस क्षेत्रमा डरलाग्दो किसिमबाट दंगा फसादका घटनाहरुपनि घटेका छन् । भारतका उत्तर प्रदेश सरकारलाई त्यँहाका प्रहरी प्रशासन र गुप्तचर संस्थाहरुले नेपालको नेपालगंजमा हजारौँको संख्यामा रहेका पाकिस्तानी आतंकवादीहरु त्यहाँका मस्जिद भित्र इस्लामिक जिहाद गराउने ट्रेनिङ दिइरहेको बुझिएको र कुनै पनि बेला भारततिर पठाउन सकिने तथा नेपालका अन्य मुस्लीम बहुल क्षेत्रहरुमा ठूलो आतंककारी गतिविधिहरु बढ्न सक्ने जानकारी पनि भारतीय मिडियाबाट गराइएका छन् जसबाट नेपाल तर्फ पनि सुरक्षा सतर्कता अपनाउनु जरुरी भइसकेको छ । संदिग्ध व्यक्तिहरुको पहिचान खुल्ने गरि सरकारले व्यापक अनुसन्धान गर्नु जरुरी छ । नेपालमा सनातर हिन्दु र रैथाने मुस्लीम समुदाय बीच अत्यन्त सुमधुर सम्बन्ध रहेको र दुवै समुदायबीच कुनै ठूलो टकरावको घटना घटेको नसुनिए पनि इस्लामिक स्टेटबाट हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई नियंत्रण गर्नु जरुरी छ । बांगलादेशी रोहिँगिया मुसल्मानहरुलाई कानुनको दायराभित्र ल्याउनु जरुरी छ तथा देशलाई कुनै पनि किसिमको अशान्ति असुरक्षा र धार्मिक उन्मादबाट जोगाएर नेपालको धर्म निरपेक्षताको रक्षा गर्नु जरुरी छ ।