देश–समाज मुख्य सम्पादकीय

दशैंमा सुरक्षाकर्मी र नागरिकको भूमिका

चाडपर्व जति नजिकिँदै जान्छ त्यति समय संवेदनशील र जिम्मेवारी बढ्दै जान्छ । पर्वहरुकै मौका छोपेर कमाएर खाने भन्दा चोरी, डकैति र लुटतन्त्र मच्चाएर खानेहरुको बजारमा बिगबिगी बढ्दै जान्छ । जताततै आपराधिक घटनाहरु समेत भइरहेको बेलामा दशैंको सुरक्षा व्यवस्थामा चुनौतिपूर्ण नै देखिन्छ । हत्या, हिंसाजस्ता आपराधिक घटनाहरुको शृंखला बढीरहेका छन् ।
यद्यपि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले नजिकिदै गरेको चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार कुनै पनि आपराधका घटनाहरू हुन गर्न नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन निर्देशन कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता भीम बहादुर दाहालले दिइसकेका छन् । चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत–जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन भएको छ ।
माथिको आदेश भए पनि तल यसलाई कार्यान्वयनमा लैजान त्यति सहज देखिँदैन । थोरै सुरक्षाकर्मीका बाबजुद् उनीहरुले ठूलो भुभागको शान्ति सुरक्षा हेर्नुपर्ने र सोही अनुसार तयारी गर्नुपर्ने आवश्यकता पनि देखिएको छ ।
विगतमा दशैंमा चोरी, आर्थिक कारोवार हुने स्थानमा डकैती तथा ठगीको घटना हुन सक्ने आँकलनमा सुरक्षा योजना नै लागू हुने गरेको थियो ।
प्रहरीले चोरीमा जेल संजाय भोगेर निस्किएकाहरुको सूची बनाएको छ भने मन्दिरहरुमा हुन सक्ने चोरी, लुटपाट रोक्न सादापोशाकमा निगरानी बढाउने पनि बताएको छ । गत वर्ष भन्दा यस वर्ष जटिलता थपिनसक्ने अनुमानमा जनशक्तिसमेत थप गरिएको छ । ठगी, जुवा र तासको बहानामा हुने झगडा तथा सुनका गहना लुटपाट हुन सक्नेतर्फ प्रहरीलाई सचेत र सतर्क बनाउन पर्ने देखिन्छ । प्रहरीको सक्रियतासँगै आम मानिस पनि सचेत र सतर्क हुन त्यतिकै जरुरी देखिन्छ । महँगा गहना नलगाउने, अस्लिल भएर नहिंड्ने, धेरै रातीसम्म नहिंड्ने जस्ता कार्य गरेर प्रहरीलाई सहयोगी भूमिका निर्वाह नागरिकले गर्न आवश्यक देखिन्छ । चाडवाड र अप्ठेरो परिस्थितिमा मौका बनाएर अपराध गर्नेदेखि व्यक्ति स्वयम् पनि सचेत हुन जरुरी छ । अन्जान व्यक्ति घरवरिपरी देखिए चासो राख्नु पर्छ । प्रहरीले पनि योजना ल्याएर मात्रै पुग्दैन प्रभावकारी कार्यान्वयनलाई महत्वका साथ अगाडि बढाउनु नै महत्वपूर्ण मानिनेछ ।

Author

You may also like