हरेक वर्ष पुस र माघ उहि समस्या उस्तै पीडा लिएर आउने गर्दछ । आर्थिक पहुँच कम भएका र हुँदा खानेहरु विपन्न परिवारका लागि यी महिना निकै कष्टकर र चुनौतिपूर्ण बन्ने गरेको सदयौ भईसकेको छ । अरू बेला गर्मीले खपिनसक्नु हुने स्थानमा समेत हिउँदका दिनमा तापमान तल झर्छ । दिनमा भन्दा रातमा अझ तापमान तल झर्ने गर्छ । तराईमा समेत शीतलहर पर्न गयो भने दिनमै पनि बसिनसक्नु चिसो बढ्छ । दिनमै चिसो हुने तराई रातमा झनै चिसो हुन्छ । हिमाल, पहाड र तराई जतासुकै भए पनि चिसोले थप कष्ट लिएर आउँछ । अझ विपन्न वर्गका निम्ति त चिसोको मौसम कहर बनेरै आउँछ । बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि काल नै बन्ने गरेको छ चिसो ।
नेपाल उर्जामा निकै अगाडि बढिसक्दा पनि चिसोबाट प्रभावित परिवारको हकमा यो धेरै टाढा छ । यिनीहरु आर्थिक अभावकै कारण राज्यले दिएको सुविधा उपभोग गर्न सकिरहेका छैनन र चिसोमा पनि परम्परागत आधारमै बाँच्न विवश देखिन्छन । अधिकांश गाउँबस्तीमा विपन्न परिवारको चिसो कटाउने माध्यम आगो नै बनेको छ । आगो तापेरै दिन र रात कटाउने ति परिवारका लागि राज्यका तीन वटै सरकारसहित नागरिकले खेल्नुपर्ने भूमिका निकै बढेको छ । हुन विगतभन्दा सामजिक अभियान्ताहरुको बाक्लो उपस्थितिले मनका धनीहरुले विभिन्न गाउँ र बस्ति वा आश्रयस्थलमा पुगेर चाँडो भगाउने अर्थात बाक्लो लुगा, ओढ्ने दिइरहेको सन्दर्भ पनि त्यति दिर्घकालिन हुन सकिरहेको छैन । हरेक वर्ष आउने यो समस्यालाई दिर्घकालिन समाधान भनेको उनीहरुलाई आर्थिक पहुँचमा पु¥याउनु नै हो । जुन उद्देश्य पुरा गराउन राज्यले नै महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।
हरित ऊर्जाका अपार सम्भावना भए पनि नेपालमा अझै परम्परागत इन्धनको प्रयोग व्यापक छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्छन् । दाउरा र गुइँठा कार्बनका मूल स्रोत हुन् । घरभित्रको प्रदूषणबाट महिला तथा बालबालिका बढी स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् । जाडोको समयमा ग्रामीण क्षेत्रमा पराल र अन्य जैविक फोहोर जलाइन्छ । आगो ताप्नका लागि पनि प्लास्टिक तथा अन्य वस्तु बालिन्छ । यसले थप जटिलता ल्याउँछ भन्ने हेक्का राज्य र नागरिकमा समेत हुन आवश्यक देखिन्छ ।
अर्कोतिर चिसोले मानविय कठिनाई ल्याउँदा अपनाउने विधि र प्रक्रिया र पद्दति नमिल्दा अर्को अनिष्ट निम्तिएका धेरै घटना हामीले सुनेका छौं । गाउँ गाउँ नै आगलागीबाट करोडौं, अरबौंको क्षति समेत भएको छ । यसर्थ आगो ताप्दा पनि निकै सचेत भएर ताप्न आवश्यक छ । यता फेरी हुने खानेहरुका समस्या पनि कम छैनन । कोठाभित्र हिटर बालेर बसेका व्यक्तिहरु, ज्येष्ठ नागरिक र बालबालिकालाई त्यो हिटरको तातोले ठूलो असर मात्र पु¥याएको छैन कतिपय मानिसहरु त्यही मृत्युवरण गरेका कुरा पनि सुनिरहेका छौं । यसतर्फ पनि चानाखो हुन आवश्यक देखिन्छ ।
चिसोमा रोगले समेत उत्तिकै सताउने गर्दछ । चिसो मौसमका कारण हुने मौसमी रmघाखोकी तथा अन्य भाइरसजन्य सङ्क्रमणबाट जोगिन हामीले स्वास्थ्य सावधानी अपनाउनु नै उपयुक्त हुन्छ । हामीले हाम्रो खानपान तथा दैनिक जीवनमा थोरै मात्रामा सावधानी अपनाउन सकियो भने पनि हामीलाई मौसमी रुघाखोकीबाट छुटकारा मिल्न सक्छ । मौसमी रुघाखोकीबाट जोगिनका लागि हामीले दैनिक रुपमा पानी उमालेर खाने, चिसो खाने कुराको सेवन नगर्ने, बाक्लो तथा चिसो नछिर्ने खालका लुगाहरु लगाउने गर्नु नै उपयुक्त हुन्छ । खानामा समेत झोलिलो तथा स्वास्थ्यवद्र्धक खानेकुरा खान सकियो भने चिसोको कारण हुने सङ्क्रमणबाट हामी सजिलै जोगिन सक्छौँ ।
चिसोबाट जोगिन घरमै बस्न र निस्कनै परे न्यानो लुगा लगाउन चिकित्सकहरुले सुझाव दिएका हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्धवृद्धा र बालबालिका, गर्भवती र सुत्केरी महिलाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । प्रोटिनयुक्त खाना, तातो र झोलिलो खानेकुरा सागसब्जी बढी खानुपर्ने यो मौसममा सकेसम्म घाम ताप्नुपर्ने हुन्छ । तर, यस्तो सतर्कता र उपाय सबैका लागि सम्भव हुँदैन । खासगरी विपन्न वर्गका लागि उनीहरुको जीवन रक्षाका लागि स्थानीय सरकारले न्यानो कपडा र सुरक्षित बासको प्रबन्धमा ध्यान दिनुपर्छ । त्यो भन्दा ठूलो सन्दर्भ भनेको उनीहरुलाई आउँदा दिनमा अर्काको भर नपर्ने गरी दिर्घकालिन आयआर्जनमा लगाउन सक्ने क्षमता बनाउन पनि उत्तिकै जरुरी देखिन्छ । जसले गर्दा सामान्य रोग लाग्दा र धेरै चिसो हुँदा अर्काको भर पर्न नपरोस् ।