दमक । दमक नगरपालिकाले आन्तरिक स्रोत बृद्धिका लागि चलाइएको राजश्व संकलन तथा अनुगमन अभियान बुधबार पनि जारी रह्यो । कर शिक्षाका रुपमा अगाडि बढाइएको यो अभियानले सरकारलाई बुझाउनु पर्ने विभिन्न खालका कर तिरे वा नतिरेको सबैको जानकारी हुने वडा नं. ५ का वडाअध्यक्ष इन्द्र बहादुर गुरुङले बताए ।
कसैले कर नतिरेको भए वा कुनै अप्ठ्याराहरुमा परेको भए त्यसलाई समन्वय गर्ने र सुझावसहित अल्टिमेटम दिने गरेको गुरुङको भनाई छ । सो अभियान फिल्डमै नयाँ व्यवसाय दर्ता गर्ने, पुरानाको नविकरण गरेर राजश्व संकलन समेत भइरहेको उनको भनाई छ । करको विषयमा विभिन्न कोणबाट कडाई गर्नुपर्ने भन्ने सबैको सहमतिबाटै कर शिक्षा सम्बन्धी कर असुलीका लागि राजश्व संकलन तथा अनुगमन भनेर अभियान चलाइएको उनको प्रतिक्रिया छ ।

नगरपालिकाकाको आन्तरिक आयस्रोतलाई टेवा दिँदै व्यवसायीको अवस्थालाई समेत यो अभियानबाट उजागर हुने अवसर दिएकोले दुवैको हितमा गरिएको अभियान भएको उनले प्रष्ट पारे । कुन व्यवसायीको अवस्था के छ ? भन्ने बुझ्न कठिन पर्दैन ।

यसले भोलिको ठूलो भारलाई कम गर्न व्यवसायीको हितमै सो अभियान रहेको पनि बताए । अर्को कर तिर्ने पर्ने रहेछ भन्ने भावना जागृत गराउने भएकाले पनि यो अभियान आवश्यक रहेको र सोही अनुसार अभियान चलिरहेको गुरुङले बताए । व्यवसाय दर्ता गर्न आउँदा नै विभिन्न खालका कर तिरे नतिरेको सोध्ने र उहाँहरुलाई भोलि पर्ने अप्ठ्यारो बेलैमा फुकाएर सहज बनाउने काम पनि अभियानले गरेको उनले बताए । यो अभियान सञ्चालन भएदेखि कर तिर्नेहरुको संख्या बढ्दै गएको र व्यवसाय दर्ता पनि बढेको उनले बताए ।

राजश्व प्रशासन प्रमुख तथा कर अधिकृत डम्बरराज बरालले दिएको जानकारी अनुसार बिहीबार ३३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । अनुगमनका राजश्व संकलन तथा अनुगमनका क्रममा हिजो ५१ वटा व्यवसायीसम्म पुगेको बताए । बरालका अनुसार ८ वटा व्यवसायीको नयाँ दर्ता गरिएको छ भने नविकरण ५ वटाको गरिएको छ । यसैगरी बक्यौता बुझाउन ७ दिने अल्टिमेटम पाउने व्यवसायीको संख्या १२ रहेको पनि बरालले बताएका छन् ।
सो अभियानका क्रममा नगरप्रमुख रामकुमार थापा, उपप्रमुख तथा राजश्व परामर्श समिति संयोजक रेगिना भट्टराई (प्रसाई), प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, उद्योग वाणिज्य संघ प्रतिनिधि, कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।