
पृष्ठभूमि :
दमक बहुमुखी क्याम्पस वि.सं. २०३८ सालमा पब्लिक स्तरमा स्थानीय शिक्षाप्रेमीहरुको पहलमा स्थापना गरिएको हो । शुरुमा स्थानीय र अन्य आसपासका जिल्लाका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि टाढा जानु नपरोस् भनेर सार्वजनिक हित र सेवाको उद्देश्य राखिएको थियो । सुवेदार स्वर्गीय डम्बरबहादुर अधिकारी र निजको परिवारले दान दिएको १ विगाह र अन्य जग्गा दाताहरु गरी जम्मा ३ विगाह ६ धुर जग्गामा यो क्याम्पसको भौतिक संरचना र मैदान रहेको छ । शुरुवाती समयमा क्याम्पसमा व्यवस्थापन संकायको आइ.कम. र बी.कम.को मात्र पढाई हुने गर्दथ्यो । क्याम्पसको संचालक समितिको प्रथम अध्यक्ष तत्कालिन अञ्चलाधिस र क्याम्पस प्रमुखमा स्व. अग्निप्रसाद रिजाल रहनुभएको थियो । त्यसबेला ४४० जना विद्यार्थीबाट अध्ययन अध्यापनको काम शुरु भएको थियो । वि.सं. २०८१ सम्म आइपुग्दा ४१ वर्षको अवधिमा करिव २० हजार पाँच सय भन्दा बढी विद्यार्थीहरुले आफ्नो तह पार गरिसकेका छन् ।
भौतिक अवस्था
स्थापनाको ४१ वर्षसम्म आउँदा यस क्याम्पसले भौतिक अवस्थामा ठूलो फड्को मारेको छ । क्याम्पस ३ विगाह ६ धुर जग्गामा फैलिएको छ । चालू अवस्थामा ४० वटा कक्षा कोठामा अध्ययन अध्यापनको काम हुने गर्दछ । यससँगै क्याम्पसमा मुख्य भवन, साइन्स विल्डिङ, स्नातकोत्तरका लागि छट्टै भवन, लाइबे्ररी भवन, प्रयोगशाला भवन, स्ववियू भवन, क्यान्टीन, सूचना प्रविधि भवन, प्रशासनिक भवन, सेमिनार हल, सभाकक्ष, सूचना प्रविधि प्रयोगशाला रहेका छन् । क्याम्पसको हाल १ दुई तले प्रशासनिक भवन, १ दुई तले शैक्षिक भवन जसमा कोठाहरु रहेका छन । लाइब्रेरी र पुस्तकालयको लागि छुट्टै दुई तले भवन रहेको छ । संघीय सरकारको सहयोगमा अन्डरग्राउण्ड पार्किङसहितको अत्याधुनिक सुविधासम्पन्न भवन १० करोडको लगानीमा निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा छ । निर्माणाधीन भवनमा थप २४ कक्षा कोठा, प्रशासन कक्षका लागि ६ वटा कोठा, ३ वटा शौचालय र व्यावसायिक प्रयोजनका लागि १८ वटा सटरसहित ५१ वटा कोठा रहनेछन् । भविष्यमा एउटा पब्लिक लाइब्रेरी बनाउने योजना छ । विश्वविद्यालय अनुदान आयोगले दिएको १ करोडबाट बी.सी.ए.को भवनमा थप दुई तला थप गरिँदैछ ।
शैक्षिक अवस्था
यस क्याम्पसमा हाल ४ हजार ३४३ विद्यार्थीहरु विभिन्न संकायमा अध्ययनरत रहेको तथ्यांक छ । क्याम्पसमा कक्षा ११ र १२ देखि स्नातकोत्तर सम्मको पढाई हुने गरेको छ । जसमा प्लस टु तर्फ विज्ञान, मानविकी र शिक्षा, स्नातक कार्यक्रम तर्फ बी.बी.एस, बी.ए., बी.एड., बी.एस्सी., बी.एस.डब्लु, बी.बी.ए र बी.सी.ए. तथा स्नातकोत्तर कार्यक्रम तर्फ एम.बी.एस., एम.ए. अर्थशास्त्र, एम.एड. नेपाली र अंग्रजी विषय रहेका छन् । यि विषयहरु अध्यापन गराउन हाल क्याम्पसमा ६८ जना प्राध्यापकहरु कार्यरत छन् । शैक्षिक गुणस्तर बढाउने र बढीभन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने क्याम्पसको ध्येय सदा रहीरहन्छ । प्रविणता प्रमाण पत्र फेज आउट भएपछि कक्षा ११ र १२ संचालन गरिएको हो । भविष्यमा बी.एस्ससी.सीएस आइटी, बी. आइ. एम., बी.आइटी., डेढ वर्षे बी.एड. लगायतका शैक्षिक कार्यक्रमहरु ल्याउने योजना रहेको छ । प्राध्यापकहरुलाई विद्यावारिधी अध्ययनका लागि आवश्यक सहयोग र सुविधाको प्रबन्ध गरिएको छ । क्याम्पसमा प्राध्यापक तथा विद्यार्थीहरुबाट अनुसन्धान र लघु अनुसन्धानका कामहरु भइरहेका छन् ।
चुस्त प्रशासन
क्याम्पस संचालनका लागि लेखा तथा प्रशासनको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थीहरुको शुल्कनै आम्दानीको मुख्य र भरपर्दो स्रोत रहेकाले सो को व्यवस्थित संकलन गरिँदै आएको छ । त्यसका लागि दक्ष र क्षमतावान कर्मचारी प्रशासनको व्यवस्था गरिएको छ । लेखामा २ र प्रशासन/परीक्षामा ९ जना कर्मचारी कार्यरत रहेका छन् । प्रयोगशालाका लागि ४, पुस्तकालयमा ४, सरसफाई तर्फ २ र सुरक्षा गार्ड २ जना छन् । कर्मचारीको जम्मा संख्या २३ रहेको छ ।
’ क्याम्पसको प्रगति ः क्यूएए प्रमाण पत्र प्राप्त
वि.सं. २९६८ मा आएर यस क्याम्पसले विश्वविद्याल अनुदान आयोगबाट शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूएए प्रमाण पत्र प्राप्त गर्न सफल भयो । क्यूएए प्रमाण पत्रले क्याम्पसको शैक्षिक ख्यातिलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । यसबाट यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्रले अन्तर्राष्ट्रिय स्तरको मान्यता पाएको छ भने यहाँ पढेका विद्यार्थीहरु वैश्विक प्रतिष्पर्धामा उत्रन सफल हुने आधार तय भएको छ । त्यससँगै क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको मापदण्डअनुसार क्ज्भ्ए, ज्भ्च्ए र तत्पश्चात उच्च शिक्षा सुधार परियोजना (ल्भ्ज्भ्ए) कार्यान्वयन भएसँगै क्याम्पसको उच्च मूल्यांकन मात्र भएको छैन, विद्यार्थी, अभिभावक, प्राध्यापक र कर्मचारीहरुमा समेत लाभ मिलेको प्रष्ट छ । क्यूएए ले क्याम्पसको शैक्षिक जनशक्तिलाई देश विदेशमा समेत उच्च गुणस्तरको र विकाउयोग्य जनशक्तिका रुपमा स्थापित गरेको छ । क्याम्पसले हालसम्म तीन वटा स्मारिका, ६ अंक क्याम्पस बुलेटिन, १ दमक क्याम्पस झलक र केही जर्नलहरु प्रकाशन गरिसकेको छ ।
पुस्तकालय, प्रयोगशाला र शैक्षिक सामग्रीमा अब्बल
यस क्याम्पसमा सूचना प्रविधियुक्त र वातानुकूलित पुस्तकालय रहेको छ । पुस्तकालयमा पाठ्यपुस्तक, सन्दर्भ पुस्तक र जर्नल गरी करिव ५४ हजार पुस्तक रहेका छन् । पुस्तकालयलाई ई–लाइब्रेरीका रुपमा विकास गर्ने योजना समेत छ । लाइब्रेरीमा यसै वर्ष थप १५ लाखका पुस्तक खरीद गर्दैछौं । लाइब्रेरीको स्तरोन्नतिका लागि ३ करोडको लगानी हुनेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । साथै सार्वजनिक हितका लागि क्याम्पसको प्रत्यक्ष निगरानीमा रहनेगरी पब्लिक लाइब्रेरी प्रारम्भ गर्ने भावी योजना रहेको छ ।
त्यस्तै विज्ञान र सूचना प्रविधि गरी छुट्टाछुट्टै दुई प्रयोगशालाको व्यवस्था गरिएको छ । प्रयोगशालामा विद्यार्थीलाई चाहिने आवश्यक सम्पूर्ण प्रयोगात्मक सामग्री छन् भने टेलिभिजन र प्रोजेक्टरको समेत उपलब्धता रहेको छ । विज्ञान प्रयोगशाला देशकै नमुना रहेको छ । त्यस्तै क्याम्पसमा रासायनिक विषादी प्रयोगशाला पनि रहेको छ । प्राध्यापक र कर्मचारीहरुको पेशागत क्षमता अभिवृद्धिका लागि सबैलाई एक/एक वटा ल्यापटप वितरण गरिएको छ । क्याम्पसका गतिविधि निरीक्षण गर्न क्याम्पस प्रमुखको कोठालाई केन्द्रविन्दु मानी सि.सि. क्यामेरा जडान गरिएको छ । साथै क्याम्पसको आन्तरिक अभिलेखलाई चुस्तदुरुस्त राख्न भ्ःक्ष्क् सिस्टम फलो गरिएको छ । वेवसाइट मार्फत् क्याम्पसको सूचना प्रणालीलाई व्यवस्थित गरिएको छ, जसबाट विश्वका जुनसुकै कुनाबाट पनि यस क्याम्पसको बारेमा जान्न र बुझ्न सकिनेछ ।
आर्थिक अवस्था
क्याम्पस संचालनको लागि मुख्य स्रोत भनेको विद्यार्थीबाट लिइने शुल्कनै हो । यसैबाट प्राध्यापक र कर्मचारीहरुको तलव भत्तादेखि क्याम्पस संचालनको सबै खर्च गरिन्छ । तर संघीय सरकारबाट प्राप्त हुने अनुदान सहयोग, प्रदेश सरकार र दमक नगरपालिकाबाट प्राप्त हुने विभिन्न समयको अनुदान सहयोगबाट पनि ठूला र महत्वपूर्ण योजना र कार्यहरु पूरा गर्ने गरिएको छ । क्याम्पस खासै ठूलो फाइदामा पनि छैन । पछिल्ला दिनमा अवकाश पाउने स्थायी प्राध्यापक तथा कर्मचारीहरुको संख्या र चाप बढ्दा क्याम्पसलाई उपदानको व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । यसका लागि स्रोतको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । उपादानका लागि ‘प्राध्यापक कर्मचारी कल्याण कोष’ को दिगो व्यवस्था गरेकाले त्यसैबाट भरथेग हुँदै आएको छ । क्याम्पसको शुरुवाती समयमा चन्दादाताहरुको सहयोगले आधार खडा गरेको थियो । तर मुख्य कुरा यस क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका बनाउन पहल भइरहेको छ । आंगिक क्याम्पसका रुपमा अनुमति पाए त्यसबाट सम्बन्धित सबैलाई ठूलो राहत मिल्ने थियो भने यो पूर्वकै गहना बन्ने पक्का छ ।
विद्यार्थीलाई सहुलियत, छात्रवृत्ति र अक्षयकोषको व्यवस्था
यस क्याम्पसले जेहेन्दार, गरिब विपन्न, दलित, जनजाति परिवारका विद्यार्थीहरुलाई सर्वसुलभ ढंगबाट शिक्षा दिने उद्देश्य राखेको छ । पूर्ण र आंशिक निःशुल्कताको सुविधा पनि दिइँदै आएको छ । एकै दम्पतिका तीन सन्तान अध्ययन गर्ने भए एकजनाको सम्पूर्ण शिक्षण शुल्क मिनाहा गर्ने व्यवस्था छ । विद्यार्थीहरुको उत्प्रेरणा र व्यक्तित्व विकासका लागि उनीहरुलाई वर्षेनी शैक्षिक भ्रमणमा लगिँदै आएको छ । क्याम्पसले गर्ने अतिरिक्त क्रियाकलापहरु पनि नियमित चलिरहन्छन् ।
क्याम्पसमा विभिन्न दाताहरुले खडा गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । क्ज्भ्ए र ज्भ्च्ए कार्यक्रम अन्तर्गत प्राप्त अनुदानमध्येबाट ७४ लाख रुपैयाँ ‘विद्यार्थी कल्याण कोष’मा र १० लाख रुपैयाँको ‘आदिवासी जनजाति विद्यार्थी छात्रवृत्ति कोष’ स्थापना गरी संचालनमा छन् । विगतको कोरोना महामारीको समयमा ४ लाख बराबरको कोरोना कोष पनि स्थापना गरिएको छ । सबै कोषहरुको रकम तोकिएको शीर्षकमा मात्र खर्च गर्ने गरिएको छ ।
हालसम्म रहेका अक्षयकोष र दाताहरु
‘स्व. चित्रबहादुर बस्नेत स्मृति छात्रवृत्ति कोष’ दाता–श्रीमती इन्दिरा बस्नेतबाट ३ लाखको अक्षयकोष, महेश्वर वेदमाया स्मृति छात्रवृत्तिकोष, दाता पूर्व क्याम्पस प्रमुख प्राध्यापक मोहनप्रसाद भण्डारीबाट ३ लाख १ हजार, एल्बिज छात्रवृत्ति कोष, दाता कालिका खड्काबाट २० हजार, पण्डित कुष्माखर भट्टराई छात्रवृत्ति कोष दाता बाला भट्टराईबाट २५ हजार, दलबहादुर–विष्णुमाया आचार्य छात्रवृत्ति कोष, दाता दलबहादुर आचार्यबाट १ लाख, खड्गबहादुर–दमयन्ता छात्रवृत्ति कोष, दाता दमयन्ता थापाबाट १ लाख, स्व. रुपादेवी पुरी छात्रवृत्ति कोष, दाता गगन पुरीबाट १ लाख ५० हजार, शिवलाल दुलाल छात्रवृत्ति कोष, दाता छविलाल दुलालबाट १ लाख, राधिका ओझा छात्रवृत्ति कोष, दाता राधिका ओझाबाट ५० हजार, पुण्यमाता छात्रवृत्ति कोष, दाता गुरुराज रेग्मीबाट ४ लाख २५ हजार, देवराज भुवनेश्वरी छात्रवृत्ति कोष, दाता इन्दिरा भण्डारी लगायत स्व. देवराज अधिकारीको परिवारबाट ५ लाख, सन्तकुमार–कमलादेवी भगत छात्रवृत्ति कोष, दाता सन्तकुमार भगतबाट १ लाख, मुकुन्द काफ्ले छात्रवृत्ति कोष, दाता दुर्गादेवी काफ्लेबाट २ लाख, स्व. इन्द्रबहादुर श्रेष्ठ छात्रवृत्ति कोष, दाता शैलेन्द्र श्रेष्ठ/रिता श्रेष्ठबाट १ लाख ५० हजार, नरपति–विष्णुमाया छात्रवृत्ति कोष, दाता हरिकृष्ण तिम्सिनाबाट ५० हजार, हिरामणी दाहाल छात्रवृत्ति कोष, दाता हिरामणी दाहालबाट १ लाख, स्व. सुधीर भट्टराई स्मृति छात्रवृत्ति कोष, दाता उत्तमप्रसाद भट्टराई/विमला नेपाल भट्टराईबाट १ लाख ११ हजार १११ ।
पठन पाठनका लागि सहजीकरण
क्याम्पसमा जाडो र गर्मीको नकारात्मक असर नपरोस् भनेर १४ थान एसी जडान गरिएको छ । थप २० वटा कक्षाकोठामा एसी जडान गर्ने कार्यक्रम रहेको छ । सबै कक्षाकोठाहरुमा पर्याप्त मात्रामा पंखाहरु रहेका छन् । शुद्ध पिउने पानीको पर्याप्त व्यवस्था छ । स्मार्ट टि.भि. जडान गरी कक्षा कोठामा श्रव्यदृश्यको माध्यमबाट पठन पाठन गराइन्छ । स्मार्ट बोर्डको व्यवस्था गरिएको छ । सरसफाईको उचित प्रबन्ध मिलाइएको छ । हाल विद्यार्थीहरुलाई ओसार पसार गर्न एउट बसको व्यवस्था गरिएको छ भने भविष्यमा १० वटा बस संचालन गर्न सहयोगका लागि संघीय सरकार समक्ष प्रस्ताव पेश गरिसकिएको छ । शौचालयको पर्याप्त व्यवस्था गरिएको छ । छुट्टै पुस्तकालय भवन कोशी प्रदेश सरकारको सहयोगमा ३ करोडको लागतमा निर्माणका लागि ठेक्का लाग्ने चरणमा रहेको छ ।
क्याम्पसका भावी योजना
यस क्याम्पसको श्रीवृद्धिका लागि २० वर्षे गुरुयोजना तयार गर्ने योजना रहेको छ । नयाँ भवनमा सौर्य ऊर्जा जडान गर्न दाताको खोजी भइरहेको छ । नयाँ शैक्षिक कार्यक्रमका रुपमा बी.एस्ससी. सि.एस.आइ.टी., बी.आइएम., बी.बी. एम., बी. आईटी., बी.ई. लगायतका समयानुकूल कार्यक्रमहरु थप गर्न प्रयत्न गरिनेछ । यातायातका लागि १० वटा बस संचालन गर्ने योजना रहेको छ । क्याम्पसलाई प्राज्ञिक तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै लगिने योजना रहेको छ । कोरोनाको समयमा अनलाइन माध्यमबाट पठन पाठन गराइएकोमा सो को तरीकालाई सहज अवस्थामा पनि विकास गर्न अनलाइन प्लेटफर्म विकास गर्ने लक्ष्य राखिएको छ ।