देश–समाज विचार/वहस स्थानीय

कम्युनिष्ट पार्टीभित्रको विचलन !

नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त मार्कस्वाद ( लेनिनवाद हो । वर्तमान युगको विकसित माक्र्सवाद औधोगिक सर्वहारा वर्गको मात्र होइन, किसानहरुको सामाजिक मुक्ति र राष्ट्रिय स्वाधिनताको मार्गदर्शक सिद्धान्त पनि हो, माक्र्सवाद ( लेनिनवाद । आज माक्र्सवाद ( लेनिनवाद बाहेक सामन्ती शोषणबाट मुक्त पार्ने र साम्राज्यवादी उत्पीडनबाट राष्ट्रलाई स्वाधीन बनाउने आन्दोलनलाई बाटो देखाउने अर्को कुनै बैज्ञानिक प्रणाली छैन । सामन्तवाद दलाल नोकरशाही पूजीवाद र साम्राज्यवादलाई उन्मूलन गर्ने जनताको जनवादी क्रान्तिलाई नेतृत्व गर्ने अभिभारा वर्गीय रूपमा सर्वहारा श्रमजीवी वर्ग र राजनीतिक रुपमा माक्र्सवाद – लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा श्रमिक वर्गको राजनीतिक पार्टी बाहेक अरु कसैले पूरा गर्न सक्दैन भन्ने ठूला – ठूला नाराहरु क्रमश ः नेपालमा च्याउझै उम्रदै आएका कम्युनिष्ट पार्टीहरुले आ – आफ्नो घोषणापत्रमा उल्लेख गरे, हिजोदेखि आजसम्म । सामन्तवाद र साम्राज्यवादको शोषण उन्मूलन गरि जनताको जनवादी ब्यबस्था कायम गरेर देशमा कम्युनिष्ट पार्टीहरुको सत्ता निर्माण हुनैपर्दछ भन्ने ठूला – ठूला विचार विमर्श कम्युनिष्टहरुले हिजोदेखिनै गर्दै आएका थिए । वर्तमानमा आइपुग्दा सत्ता र शक्तिको क्षयीकरणका कारण ती हिजोका जनवादी बिचारहरु क्रमश ः खिया लाग्दै गएको आभाष महान नेपाली जनताहरुले अनुभूत गर्दै आएका छन । जनताको अभिमत पटकपटक तिनै सर्वहारा बर्गका कम्युनिष्टहरुलाइ बहुमतका साथ निर्वाचित गरे । सत्ताको भर्याङ्ग चढाए, जीवनलाई आहुतिदिन पछि हटेनन । हजारौं ( हजार ताता र राता रगतका टाटाहरु अझै छन यही नेपाली माटोमा । जसले आज तुहाइदिए, सत्ता र पदको भागबन्डामा । हिजोको सशस्त्र द्वन्दको तुफानी क्रान्ति गरेर देशमा नौलो क्रान्तिको जनमत ल्याउने उतिबेलाको माओवाद आज सङ्गीन मोडमा उभिन बाध्य छ, आखिर यो बनायो कसले ? तिनै पूर्व पन्चहरुले हो कि तिनै सर्वहारा बर्गका नवधनाढय कम्युनिष्ट पार्टीका नेताहरूले गर्दा हो ।
पटकपटक बहुमत ल्याउदै आएका ती कम्युनिष्टहरुले हिजो सेल्टर लिएका घर आजसम्म किन सम्झेनन् ? के भयो ? के हुँदैछन ती झुपडीहरु ? कहिलेपनि उनीहरूको बेदना बुझ्ने काम गरेनन्, सबैभन्दा ठूला भनाउँदा कम्युनिष्ट पार्टीहरुले । जनवादी केन्द्रियताका नाममा तिनै भडुवावाद र डनवाद र धनवादहरुलाई थपक्क टिपेर ल्याएर पद तथा गोपनियताको सपथ खुवाउने काममात्र गरे अहिलेसम्म । न बिचार रहयो, न सिद्धान्त रहयो, न पार्टी रहयो, न चुनाव चिह्न रहयो । क्रमश ः अदलबदल हुँदै गएका कारण यतिबेला अग्निपरीक्षाको घडी समाप्त हुँदै गरेको देखिन्छ । हिजो जनयुद्धका नायकहरुले पार्टी छोडे, झण्डा छोडे, उनीहरू हिजोआज न घरको न घाटको बनेका छन । पुष्पलाल, मदन भण्डारी, माओवादको सिद्धान्तलाई छियाछिया पार्न उद्दत बने । यो किन र कसरी भयो ? के कारणले गर्दा भएको होला ? त्यसको समीक्षासम्म हुन नसक्दा भित्रभित्रै खिइदै गएको अनुभूत ती झुपडीमा बस्ने कर्तव्यनिष्ठ कार्यकर्ताको मात्र छ, जो अहिले पछुताइ रहेका छन । धिक्कारी रहेका छन, हामी किन कम्युनिष्ट भएछौ ? किन भएछौ ? केका लागि भएछौ ? हाम्रो हिजोको त्याग र तपस्या, समर्पणको मुनाफा कसले खाइदियो ? हिजोआज तिनै निरीह कार्यकर्ताको अनुसन्धानमा पर्न गएको छ, वास्तवमा यो परिणामको प्रतिफल गत फागुन २१ गतेको निर्वाचनको परिणामले सम्पूर्ण कम्युनिष्ट पार्टीलाई रसातालमा तिनै जनताहरुले पुर्याइ दिए । विसर्जनवाद र जडशूत्रवाद कम्युनिस्ट आन्दोलनका खररा हुन, यिनको विरुद्धमा विचारधारात्मक संघर्ष गर्नु सच्चा कम्युनिष्टहरुको कर्तव्य थियो हिजो तर आज त्योसम्म रहेन ।
सत्ता र शक्तिको उन्मादले गर्दा आज मरिच चाउरिएझै चाउरिन पुगे, कम्युनिष्ट पार्टीहरु । एउटा अर्को गज्जबको दृश्य कम्युनिष्ट पार्टी सिद्धान्तत ः फुटनु, पदीय भागबण्डामा प्यानलाइज हुनु वाद – वादको झुण्ड तयार गर्नु आदि नेपालका ठूला या साना कम्युनिष्ट पार्टीभित्रको क्यान्सर रोग बन्दै गयो । एमाले पार्टीभित्र ओली – माकुने, एमाओबादीभित्र प्रचण्ड – बाबुराम, मोहन बैध किरणहरुको आन्तरिक मतभेद र पार्टीभित्र चरम गुटबन्दीले गर्दा नेपालमा भएका सम्पूर्ण कम्युनिष्ट एकीकृत हुन सकेनन । अन्ततः अहिले मुलधारका अधिकतम राजनीतिक दलहरुभित्र विभिन्न समस्यै – समस्या छन । मुल रुपमा प्रमुख नेतृत्वमा पदीय लोलुप्ता बढ्नु, बयोबृद्दहरुले पटकपटक ठूलो पद ग्रहण गर्नु, युवाहरूलाई पार्टीभित्र उपल्लो दर्जाको पद नदिनु, पद र पैसामा प्रतिष्ठा खोज्ने प्रवृत्ति बढ्नु, नेतृत्वको आचरण झन – झन भ्रष्ट हुँदैजानु, नेताहरूले गलत गरेकै छन भनेपनि उनीहरूको कर्तुत ढाकछोप गर्दै जानु, स्पस्ट बिचार राखेमा पार्टीमा कार्वाही गर्ने बानीको झुण्डहरुको जमात बन्दै जानु, नेतृत्वनै निरन्तर सिद्धान्त र कार्य नीतिबाट चिप्लिदै जानुले आम कार्यकर्तामा निराशा छाएरनै यो पटकको नयाँ बिचार र नयाँ परिवर्तन चाहेकोबाटै प्रष्ट हुन्छ कि अब कम्युनिष्टहरु सक्किने कि सच्चिने हो ? जनजन युवाहरूको ध्यानाकर्षण बढदो छ, हिजो पटकपटक एउटै चुनाव चिन्हमा जनमत दिएका लाखौं – लाख हातहरुले आज किन फरक पार्टी र चुनाव चिन्हनै रोज्यो त ?
नेताहरूले आफ्नो भूगोल र बिरासत भुलेकै कारणले वाक्क दिक्क भएर फरक मत जाहेर गरे, यो पटक युवा र बृद्धहरुले । हिजोका आन्दोलनका उपलब्धि संस्थागत गर्ने क्रममा देखिएका राजनीतिक उल्झनले राजनीतिलाई क्रमश ः अनुत्पादक बनाउदै लग्यो, योसम्म थाहा पाएनन, नेपालका तमाम कम्युनिष्ट पार्टीहरुले । जनता हाम्रा हुन, उनीहरूलाई ढाटेर लुट्न सकिन्छ भन्ने साघुरो सोचको कारण जनमत उल्टियो यो पटक । अर्को कुरा पदीय भागबण्डाका कुराले, पार्टीमा चरमगुटबन्दीका कारणले, नवप्रवेशीहरुलाइ पार्टीको उपल्लो दर्जामा दर्ज गरेका कारणले, हलिया, मुक्त कमैया, जाती जनजातिका मुद्दामा राजनीति गरेर उनीहरूका मुद्दानै लावारिस बनाएका कारण जनता सबै कम्युनिष्ट पार्टीबाट अलग हुन चाहे, त्योपनि गोप्य मतदान गरेर । अब भन्नुहोस कि आगामी भबिष्य कम्युनिष्टहरुको पलायनतिर कि अझै रुपान्तरण भएर जाने हो ? यसका चुनौती र गाम्भीर्यताहरु धेरै छन किनकि देशमा आमुलपरिवर्तन चाहनेहरुले आज “निलो क्रान्ति” चाहेका लामबद्द हस्तीहरु हाम्रा अगाडि छन । उनीहरूले अहिले देशको मुहार कता लैजालान त्यो भने हेर्न बाकिनै छन ।
हामीले यो बेलामा फेशबुके क्रान्ति गर्ने होइन, रोइलो गर्ने होइन, सिङ्गान छराछर गर्ने होइन । एआइको प्रयोग गरेर सरकारको दोषारोपण गर्ने होइन । यो सरकारको १०० दिनको उल्लेखनीय काम हुने हो होइन, मौन मुल्याङकन गरौ, रोइकराइ नगरौ । सक्नुहुन्छ र सच्चिनुहुन्छ भने यही बेलामा बरु बृहत कम्युनिष्टहरुको कार्यगत एकताको धुर्वीकरण गर्नतर्फ लाग्नोहोस । कम्युनिष्ट पार्टीभित्रको विचलनलाई एकताको साङलोमा बाध्न अघि बढनोस ।

Author

You may also like