देश–समाज विचार/वहस स्थानीय

‘जनमत’रूपी प्रलयबाट जन्मिएकाे सरकारलाई निश्शेष बधाई !  

  -नकुल काजी
          २०४६ साल चैत २७ गते प्रारम्भ भएर आजसम्मकाे  पैंतीस वर्षे अभ्यासमा रहेकाे लाेकतन्त्रलाई  कस-कसकाे प्रभुत्वकालमा कसरी-कसरी बराल्दै ल्याइयाे ? – यसकाे पुनरावृत्ति अब सायद अलिकति पनि आवश्यक  छैन । स्थापित लाेकतन्त्रकाे सैद्धान्तिक जीवनमाथि याे कालखण्डसँग  कुन-कुन नेतृत्वले कस्ता-कस्ता ठट्टा गरे वा के-कस्ता गेजु, गुल्चे, राेड्याइँ, उकुर्जी, बखेडादिले  आजित तुल्याए अनि स्वेच्छाचारी बुर्कुसी मारेर थिचाेमिचाे गरे भन्ने कैरन लाउन पनि अब आवश्यक्तै  छैन । लाेकतन्त्रकाे सबभन्दा क्रूर ढंगले तेजाेबध गरी सबभन्दा बढी सिद्धान्त-विलाेम चलेकाे ओलीतन्त्रकालकाे काेक्याइँदा चपेटहरू त नेपाली लाेकका मन-मस्तिष्कमा आलै छँदैछन्  र अब बल्ल त्याे दम्भी र अहंकारी तानाशाही एकाधिपत्यबाट देशकाे परिभाषाका सम्पूर्ण अवयवले आफ्नाे सुदीर्घ अभिप्सित मुक्ति पाएकाे सुखद अनुभूति गरिरहेका छन् । यही सार-संक्षेप निष्कर्ष हाे ।
     यद्यपि, राज्य-व्यवस्थाका अंग-प्रत्याङ्गमा  घुसारिएका ‘विगत शासक-मण्डल’-का विषाक्त छावा-ओैंस्याहरूकाे जबसम्म अवराेपण हुँदैन तबसम्म त्याे अवाञ्छित ‘विगत’ स्वयम् वीर मशानकाे रूपमा जाग्रत रहिरहने लाेककै अनुभवसिद्ध धारणा बुझिन्छ  । केवल ११/१२ सय ‘राजनीतिक नियुक्तिप्राप्त’-लाई मात्र धपाएर सुधारकाे कर्मकाण्ड सकिने हाेइन,  ओली-देउवा-प्रचण्डादिका अराइ-खटाइमा चल्ने शुण्ड-मुण्ड कति झाँङ्गिएका  छन् कति ! त्यसाे त, जुनसुकै वा जस्ताेसुकै शासन-व्यवस्था चलेका मुलुकमा पनि शासनकाे उपल्लाे स्थानमा ढकमकाउन पुग्नेहरूद्वारा निर्मीत-निर्धारित नीतिका प्रयाेक्ता ‘कर्मचारी’ नै हुनु स्वाभाविकै मानिने एक किसिमकाे परम्परा नै भइसकेकाे छ । र, त्यसकारण धरातलीय नागरिक समाजले अक्सर आफ्नाे ‘प्रत्यक्ष सराेकारकाे सरकार’ कर्मचारीतन्त्रलाई नै मान्ने मनाेविज्ञान पनि अन्यथा हाेइन । याे सिधै कानूनी बाध्यता नै पनि हाे । सरकारका नीति-विधिमै  ‘कर्मचारी’-लाई  देशकाे ‘स्थायी सरकार’ त मानिने गरिएकै छ । अर्थात् , लाेकतान्त्रिक व्यवस्थाकाे विधि बमाेजिम सरकारमा पुगेकाे पक्षले कर्मचारीबाटै आफ्नाे पक्षपाेषण गराउने चलन पनि संसारमा जताततै जीवन्त छ । यस पृष्ठभूमिमाथि हाम्राे देशकाे विगत उदरम्भरी शासकीय चलखेललाई राखेर भन्ने हाे भने – विगत पैंतीस वर्षसम्म शासकीय शिविरमा  पुग्ने पक्ष (पार्टी)-हरूले  हरेक प्रशासनिक लगायत प्रयाशः हरेक अन्य अड्डा-अंगहरूमा आफ्ना आफन्ती भरिसकेका छन् र सत्ताकै आडमा तिनका कीर्ते-काइतेबाट उत्सर्जित भ्रष्टाचार, कमिसनखाेरी, घुसखाेरी आदि देशघाती-जनघाती दुष्कर्महरूकाे उखरमाउलाे बढेकाे हाे । अतः हालैकाे आम चुनावमा घाेर पराजय भाेगेर  शासनकाे निर्बाध रजगज खाेसिएका पूर्व शासक पार्टीकाहरूले आजकाे परिवर्तित सन्दर्भसँग शत्रुता-स्वरूपकाे  विमति राखिराखेका त छन्  नै । त्यसैले तिनले वर्तमान  परिवर्तनकाे जिम्मेवारीवाहक नयाँ सरकारका लागि तिनै कर्मचारीलाई हतियार बनाएर  अप्ठ्यारा अडचनहरू सिर्जना गर्ने र याे सरकारकाे  असफताकाे खेल नार्न ‘पुराना’-हरू उद्यत हुनसक्ने संभावना पटक्कै कमजाेर छैन ! हरेक सराेकारी नागिरक तप्कालाई असजिलाेमा पारेर असन्ताेषकाे उत्ताल उराल्न कर्मचारीकाे प्रयाेग प्रभावी र अदम्य समेत हुनसक्छ ! यस दिशामा वर्तमान सरकारले प्रारम्भदेखि नै चनाखाे हुन जरुरी भएकाे इमानदार विश्लेषणहरू भइरहेका छन् ।
          भ्रष्टाचारजन्य कुशासनले विदीर्ण नेपाली नागरिक समाजले ‘अति’ हुँदै गएकाे अवस्थामा यसपटक नयाँ पुस्ताले शुरु गरेकाे विद्राेहलाई पुठ मात्र दिएनन्, काँधै हालेका हुन् । ‘अति भएपछि जनता धागाे छिनेकाे चङ्गा हुनसक्छन् – वर्षायामकाे गंगा हुनसक्छन्, तिनलाई कँज्याएर नियन्त्रणमा बल्झाउन सकिँदैन ।’ – भन्ने महाकवि देवकाेटाकाे सूक्तिलाई यसपल्ट नेपाली जनमतले शिराेधार्य गरेकाे छ ।  प्रजातन्त्राेत्तर गुज्रिँदै आएकाे नेतामुखी पार्टीहरूका पार्टीमुखी शासनका विरुद्ध यसपल्ट जनमतले अकल्पनीय राजनीतिक प्रलय नै मञ्चित गराएकाे छ । र,  प्रतिभावान, आशलाग्दा एवम् ऊर्जाशाली नवाेदितहरू संश्लिष्ट रहरलाग्दाे नयाँ सरकार निर्माण भएकाे छ । याे सरकारले उपर्युक्त यथार्थकाे सम्मान गर्न सक्नु पर्दछ भन्ने सदाशययुक्त सुझावहरू जताततै सुनिनुले  वस्तुतः ‘परिवर्तन’-काे अविच्चिन्न व्यावहारिक  संगति पनि  पाउनु पर्दछ, जाे अन्याय भाेग्दै आएकाे देशका प्रति सर्वथा अपेक्षित  न्याय  मानिनेछ । ।
            ‘विगत’-ले थापेका अनगिन्ती  धरापहरू गाैंडा -गल्छेंडामा छन्  । प्रथमतः ती उकुर्जीमय धरापहरूसँग याे सरकारले हाेशियारी वर्ताउनु पर्नेछ । कर्मचारीतन्त्रमा पाेसिएकाे वा निहित रहेकाे र जहिलेसुकै नकारात्मक वातावरण बनाउनसक्ने व्यावहारिक र मनाेवैज्ञानिक धराप (snare) तथा अहिलेकाे संघीय अभ्यासका जनसराेकारी कतिपय प्रयाेक्तासँग पनि हाेशियार हुनपर्ने देखिन्छ । यसलाई सरलीकरण गरेर भन्नुपर्दा – नागरिकसँग ‘प्रत्यक्ष सराेकारकाे सरकार’ बनेका स्थानीय कतिपय पालिकाका कतिपय ठालूहरू मधेसतिर ‘छाेटे राजा’ र अन्यत्र कतिपयले राणाकालीक ‘जिम्मावाल-पटवारी’-का रूपमा उफ्रीपाफ्री गर्ने गरेका समाचारहरू प्रशस्त आउने गरेका छन् ।  वस्तुतः हिजाेअस्तिका मैमत्ता-दम्भी विभिन्न  साइनबाेर्ड राखेर पार्टीको ‘पसल’ थापिरहेका बनियाँहरू पसल चल्न छाेडेपछि स्वभावतः विच्किने नै छन् । हाल प्रतिशाेधभावमा तिल्मलाइरहेका आफूलाई देशकाे ‘जिम्दार’ भन्ठान्ने मनाेराेगी ‘पूर्ववर्ती’-हरू जनभावना  विथाेल्नेउतारू हुन सक्छन् । भूमिकामा तिनलाई झन सजिलै उतार्न  सक्छन् । र, त्याे पंक्ति पनि, नकारात्मक खेलाेमा कर्मचारीभन्दा कम प्रभावी अवश्यै हुने छैन । यसतर्फ पनि याे परिवर्तनकाे भारवाहक नयाँ सरकार सचेत र सजग हुन उत्तिकै आवश्यक छ ।
        चरम दम्भी अहंकारले देशका हरेक तह-तप्कालाई तर्छाउने र अनेकन् प्रपञ्च मिलाएर सरकारी डिकुटी काेतर्दै पाल्दै-पाेस्तै आएका आफ्ना कमैया-हन्जाका बलमा  जङ्गे शासन लाद्ने गर्दै आएका केपी ओली अहिले पनि स्वयम् आफै र आफू कठघरामा पुग्दा आफ्ना हनुमानहरू मार्फत  दुर्याेधनीय घमण्डकाे प्रहसन फर्माइरहेका छन् । यस्ता लाफर  धाकसँग लाेकमतका बज्रवत् चुनाैतीका साथ उपस्थित वर्तमान समयलेले अब  अलिकति पनि धकाउनु पर्ने आवश्यकता छैन । त्याे  समयलाई लाेकमतले, फेरि चल्मलाउन नसक्ने गरी, ठाडै उनीहरूकै ढाडमा टेकेर टाउकाेमा हान्ने फर्मूलाकाे प्रयाेग गर्न जाे थालिसकेकाे त छँदैछ । लाेक ती  पुराना साइँदुवाहरूकाे शेखी छारेकाेमा मनग्गे सन्ताेक मानिरहेका छन् ।….
        अतः, नेपाल भूमिलाई नकटाहरूकाे क्रूर कब्जाबाट मुक्त गराई आजकाे अपेक्षित बिहानी प्रक्षेपण गर्ने क्रममा शहीद भएका  नेपाल-आमाका सबै सपुतहरूमा श्रद्धाका देशका खातिर शहादतप्राप्त ती तमाम वरेण्यहरूकाे सपना ब्यूँताउन निमित्त सरकारमा बलियाे खुट्टा  मनसाग्रहका साथ  निश्शेष बधाई ।….
                  आजलाई , बस् , यति नै !
                                *****

Author

You may also like