“सत्यता, स्वतन्त्रता र निष्पक्षता हाम्रो प्रतिवद्दता” यही आवाज बुलन्द गर्दै ६२/६३ को जनआन्दोलनको संखघोष गर्दै तिमी अघि बढेको नि २० वसन्त पुगेछ साधुवाद छ दैनिक पूर्वसन्देशलाई
जन–जनमा खबरदारीको
उद्घोष गर्दै जाउ
समावेशी आवाज बुलन्द गर
पीत पत्रकारिताको अन्त्य गर्दै
समुन्नत राष्ट्रको परिकल्पना कुर्दै
स्वतन्त्र आवाज उठाउ
हामी त लेख्ने मान्छे
निडर छ हाम्रो कलम
अडिग छ हाम्रो बिचार
भ्रष्टाचारीहरुको मुटु थर्काउने
बिचौलियाहरुलाई ढक्ढकाउने
माफियातन्त्रको जरो उखेल्ने
हाम्रो मात्र ल्याकत छ
न डराउछ
न काप्छ
न छुच्चो छ
न बेफ्वाकको तर्क गर्छ
न खामबन्दीमा कुद्छ हाम्रो कलम
यही कलमको मसी आज पूर्व मेचीदेखि पश्चिमका कुना कन्दरामा अनलाइन खबर पुगिरहेछ श्रमजीवीहरुको आवाज बोल्दैछ
बेसुरहरुको सुर खोज्दैछ
संचारको दुनियाँमा गाउँदेखि सहरको समाचार
सम्प्रेषण निष्पक्ष गरिरहेछ
श्रममा बाच्नेहरुको आवाज मुखरित गरिरहेछौ
अब रोकिनुहुन्न कोहिसङ्ग झुक्नु हुन्न
२० औं बर्षगाठको अनन्त शुभकामना
यो कलमीको
हामी लेखिरहनेछौ सत्य – तथ्य आवाज
निरन्तर … निरन्तर …..निरन्तर !
जीवनमा लेख र लेख्न देउ, बोल र बोल्न देउ, भन र भन्न देउ, पढ र पढन देउ, सोच र सोच्न देउ भन्ने आदर्शवादी चिन्तन राखेर अघि बढ्नुनै मानवता हो । जसले समाजमा अतुलनीय योगदान दिन्छ , समाज र राष्ट्रको लागि आफ्नो जीवन बलिदान गर्छ, समाजमा भएका बिकृति र बिसङगतिको भण्डाफोर गर्छ समग्रमा भन्नुपर्दा त्यसको संखघोष गरेको छ यही पूर्वसन्देश राष्ट्रिय दैनिक पत्रिकाले । जीवनको ६० वसन्त पार गर्दा सम्म कलमको नीवको मसीद्वारा जनजनमा समाचार फैलाउने आदरणीय प्रधान सम्पादक तथा प्रकाशक वरिष्ठ पत्रकार गन्जबहादुर दाहाल जीवनमा कहिले नथाक्ने एक श्रमजीवी पत्रकार हुनुहुन्छ । वहाँकै प्रेरणा र हौसलाले मैलेपनि पहिलो अङकमा स्वतन्त्र कलम लेखेको थिए, उतिबेला । यो उत्प्रेरणा जागृत गराइदिनुहुने मेरा अग्रज पत्रकार गन्जबहादुर दाहाल जो प्रेरणाको श्रोत हुनुहुन्छ । आज लेखनवृत्ति बिकासमा बिचार दृष्टिकोण लेख्न उर्जा वहाँले मलाई थपिदिएका कारणले बिगतका दिनमा वहाँकै अर्को साप्ताहिक पत्रिका “जनज्योति” साप्ताहिक र राष्ट्रिय दैनिक पत्रिका नागरिक पूर्वेलीमा समेत आफ्ना बिचार कोर्न पाए । झापाका प्रायः नाम चलेका पूर्वान्चल, प्रतिदिन दैनिकमा समेत धेरै लेख सम्प्रेषित गर्न पाउँदा म वहाँप्रति ज्यादैनै आभारी छु ।
बिगतका दिनहरु जुन दिन मिडिया बन्धक थियो, सुराकीहरु लामबद्द थिए उतिबेला । त्यो समयमा पनि मलाई उर्जा भरिदिने वहाँ लगायत यसै पत्रिकाका वरिष्ठ पत्रकार पंकज दाहालजि बाट लेख्ने हौसला प्राप्त गरेर अहिलेसम्म लेखिरहेछु । समग्रमा १०० जति लेखैमात्र लेखिएछ अहिलेसम्म । यसैले म प्रेरणाको श्रोत वहाँहरुलाइनै दिन्छु । ले–आउटमा रहनुहुने मेरो प्यारो भाइ सुरेन बस्नेत जो कम्प्युटर प्राविधिक हुन उनैलेपनि लेखन शैलीमा परिमार्जन गर्न सिकाएर लेख्ने मौका पाएको छु, मैले यो पत्रिकामा रहनुहुने सम्पूर्ण टीम मेरा लागि धन्यवादका पात्र हुनुहुन्छ ्र २०६२ मङ्सिर २४ गते (१० डिसेम्बर अन्तरास्ट्रिय मानवअधिकार दिवस) को दिनबाट शुरु भएको यो संचार मिडियाको यात्रा आज यो अवधिसम्म आइपुग्दा कतिपनि बिचलित भएको छैन । बरु कतिपय मिडियाले सत्य–तथ्य समाचार लुकाए तोड्मोड गरे तर जीवनमा कहिलेपनि यो पत्रिकाले अहिलेसम्म यथार्थ बिषयबस्तुलाइ उजागर गरिदिएको छ । यो पार्टी, उ पार्टी भनेर भेदभाव गरेको देखिएको छैन । कतै कतै कोहीकसैको समाचार नलेखिएको कुरामा मन दुःखाई दिएको होला तर यथार्थमा अहिलेसम्म यस पत्रिकाले गाउँ र सहरको आवाज मुखरित गरेकै छ । पत्रकारिता भनेको राज्यको चौथो भन्छ राज्य तर तिनै उर्जाशील पत्रकारहरुलाइ बन्धक बनाउछ, सरकार । प्रेस लोकतान्त्रिक गणतन्त्रको आधारभूत स्तम्भ हो । देशमा आमूल परिवर्तनको बिगुल फुक्ने संवाहक शक्ति भनेकै निडर स्वतन्त्र लेखक हुन जो रकममा समाचार र लेख बिक्री गर्दै–गर्दैन । आज देश प्रसव पीडामा छ, कानुन बन्धक बनेको छ । यत्र –तत्र, सर्वत्र भ्रष्टाचारले जेलिएको छ, राजनीतिक वातावरण धमिलिएको छ । यहाँ जसले जे गरेपनि छुट छ । हिजो लोकतान्त्रिक गणतन्त्रको हवालादिनेहरु अनेकन काण्डमा मुछिए पनि तिनैलाइ टपक्क टिपेर सबैभन्दा ठूलो मन्त्रालयमा आसिन गराएका छन सबैभन्दा ठूला दलहरुले । हिजो मानव अधिकारको हवालादिनेहरु अहिले नतमस्तक छन् । एउटै बयोबृद्द व्यक्ति पटकपटक प्रधानमन्त्री हुँदासम्म बिरोधको स्वर उठान गर्ने नागरिक समाजका अभियन्ता आज गए कता ? यिनै बिरोधका हिजोको कठिन यात्राको बिगुल फुक्दै आएको छ, यो पत्रिकाले । उतिबेलाको अवस्थामा यथार्थबोध गरेर आवाज बुलन्द गर्ने एउटा लोकतान्त्रिक गणतन्त्रको स्वतन्त्र आवाज उठाउने एकमात्र दैनिक पूर्वसन्देशले अहिलेसम्म कसैले नबोलेका आवाज उठाइरहेकोले आगामी दिनमा अझै ससक्त बन्दै जान सकोस । अनेकौं बाधा र ब्यबधानका बाबजुद समय क्रमसङ्गै नागरिकहरुको सूचनाको हक अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष पत्रकारितामा आगामी दिनमा स्वतन्त्र बिचार अभिव्यक्ति, समाचार ओझेलमा नराखी अघि बढ्दै जाओस् । हिजोका दिनमा कोहीकतैबाट गलत सूचनाको सम्प्रेषण भएमा त्यसलाई माफी माग्दै अझै सुधार गर्नतर्फ यस पत्रिकाका प्रधान सम्पादक, सम्पादक लगायत सम्पूर्ण पत्रकारहरुको टीम एकताबद्ध भइ अघि बढदै लोकतान्त्रिक गणतन्त्रको आवाज बुलन्द गर्न एकइन्च पनि नहटोस् ।
आवाज बिहिनहरुको आवाज
सुस्ताएका स्वरहरुको आवाज
शोषित पीडितहरुको आवाज
समावेशीहरुको आवाज
बिरोधका स्वरहरुको आवाज
श्रमजीवीहरुको आवाज
किसानहरुको आवाज
मुक्तकमैया र दीनहीनहरुको आवाज
गाउँका झुपडीमा कठ्याङग्रीएका आवाजहरु अझै बुलन्द हुँदै जाउन । समाजमा भएका विकृति र विसङगति विरुद्ध कलम चल्दै जाउन । सम्पूर्ण शुभेच्छुक, आदरणीय पाठक, लेखक, पत्रकारहरुमा यो कलमीको हार्दिक – हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछु ।