बिर्तामोड/ जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू गरेको छ । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।
काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।
प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,” उनले भने, “राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।”
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
विदेशीहरू पढ्न आउन थाले
यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।
स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । “पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाई बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले बताए । हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले उनले बताए ।” सत्तरी जना प्रोफेसर कार्यरत बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधा सम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए ।
