दमक/ आठौं राष्ट्रिय भाक्का दिवस झापाको दमकमा पनि मनाइएको छ । दमक नगरपालिकाको आयोजनामा नगरपालिकाको प्राङ्गणमा ७० जना भाक्का व्यवसायीहरुलाई बोलाएर सो ठाउँमा भाक्का बनाउँदै सोमबार एक कार्यक्रम समेत गरी भाक्का दिवस मनाइएको हो । करिव ५ सय रुपैयाँको न्यून लगानीमा दिनको १ हजार बराबरको आम्दानी गर्न सकिने भाक्का व्यवसायबाट धेरै परिवारको जीवन निर्वाह भइरहेको सो अवसरमा वक्ताहरुले बताए । झापामा खासगरी आदिवासी समुदाय जस्तो राजवंशी, ताजपुरिया र धिमाल जातिले भाक्काको व्यवसाय र कारोबार गर्ने गरेको पाइन्छ ।
लोपोन्मुख जातिका रुपमा रहेका ति जातिहरुले वर्षौंदेखि गर्दै आएको भाक्का व्यवसायको पहिचान, उत्थान र संरक्षणका लागि यो दिवस मनाइएको पनि वक्ताहरुले प्रकाश पारे । चामलको पीठोबाट माटोको हाँडीमा पानीको वाफबाट तयार गरिने भाक्का स्वास्थ्यवर्धक पकवानका रुपमा रहेको दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताइन् । तर भाक्का बनाउँदा व्यवसायीले आफू र आफ्नो वरिपरिको सरसफाईमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।
नगरपालिकाको वातावरण शाखा प्रमुख भुवन बरालले भाक्का बनाउँदा र बनाइसकेपछि हुने फोहोरलाई सही ढंगले व्यवस्थापन गर्ने कुरामा ध्यान दिन पनि व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका दमक नगर प्रमुख राम कुमार थापाले न्यून लगानीमा सन्तोषजनक कमाई गर्न सकिने व्यवसाय भाक्का व्यवसाय पनि भएको भन्दै यसबाट सम्बन्धित परिवारहरुको जीविका चल्ने र अत्यन्त विशुद्ध पेशा भएकाले यसको सरकार र सरोकारवाला सबैले संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । दमकमा पनि भाक्का व्यवसाय गर्नेहरुको संख्या राम्रो रहेको र यो कतिपय आदिवासीहरुको मौलिक संस्कार र संस्कृति भित्र पर्ने भएकाले यसको जगेर्ना गर्न नगरपालिकाले पहिलो पटक आफैँ अग्रसर भएर भाक्का दिवस मनाएको जानकारी गराए ।
त्यस अवसरमा ३÷४ दशकदेखि भाक्का व्यवसाय गर्दै आएका कम्पन खवास, शान्ति कहार र ललिता राजवंशीलाई सम्मान गरिएको थियो भने दिवसमा सहभागी सबै भाक्का व्यवसायीहरुलाई एकथान आरी, नाङ्लो, डस्बिन, र हटकेस वितरण गरिएको थियो । कार्यक्रम आयोजना गर्नमा सहकार्य गरेको राजवंशी समाज विकास समितिका अध्यक्ष भरुवा राजवंशीले भाक्काको लोकप्रियता र पहिचान देश विदेशमा समेत रहेको भन्दै यस्तो दिवस विभिन्न ठाउँमा मनाइएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । विशेष अतिथि दमक नगर कार्यपालिका सदस्य लोकबहादुर धिमालले आदिवासी जनजातिहरुको मौलिक संस्कार र संस्कृतिलाई बचाउन नगरपालिका सँधै तत्पर रहेको बताए । कार्यक्रमको अध्यक्षता गरेकी दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले मानिसका लागि अत्यन्तै स्वस्थवद्र्धक रहेको भाक्का र यस व्यवसायको व्यवस्थापनमा उचित ध्यान दिन सके यो नेपाल र नेपालीको खाद्यपरिकारको पहिचानका रुपमा मात्र नभई अन्तर्राष्ट्रमा पनि परिचित र विकास हुनसक्ने बताइन् । कार्यक्रमको संचालन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले गरेकी थिइन् ।
तीन पालिकामा बिदा
राष्ट्रिय भाक्का दिवसको अवसरमा झापाका तीन पालिकाले सार्वजनिक विदा दिएका थिए ।
आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवद्र्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । राजवंशी समाज विकास समिति झापाले भद्रपुरमा भाक्का पीठ उत्सव विविध कार्यक्रम गरी मनाएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले आज बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आठौँ राष्ट्रिय भाक्का दिवस मनाइएको छ ।
अर्जुनधाराको शनिश्चरे बजारमा पनि भाक्का दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ । सोही अवसरमा अर्जुनधारा ८ नम्बर वडा कार्यालयले आइतबार शनिश्चरेका १३ जना भाक्का ब्यापारीलाई अचार बनाउने मिक्चर मेसिन वितरण गरेको छ । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ ।
