देश–समाज समाचार स्थानीय स्वास्थ्य

औषधी छैन भन्ने छुट सरकारी अस्पताललाई छैन

इलाम/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधी छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आइतवार अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने औल्याए । उनले भने, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो” । बिमा बोर्डले ९८ प्रकारका औषधिहरु अस्पतालले अनिवार्य राख्नुपर्ने बताउदै उनले चिकित्सकले लेखेका औषधी छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको जिकीर गरे । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ ।
बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ । जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे ।
सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेको बताए । उनले अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि स्पष्ट पारे । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए ।
अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताउदै उनले भने, –‘ पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने नियम बनाईने छ ।’ आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकतानुसार माग हुनुपर्ने उल्लेख गरे ।
जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पतालको क्षमता विकास गर्दै सय शय्याको बनाउनुपर्ने बताए । उनले भौतिक पूर्वाधार तथा औजार र चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव राखे । सो विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले एकसाथ पहल गर्नुपर्ने उनको भनाई थियो ।
इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारीसहित थप गर्नुपर्ने विषयमा माग गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए ।
आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालनमा आउने
स्वास्थ्यमन्त्री पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै सेवा सञ्चालन हुने बताएका छन् ।
देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै मन्त्री पौडेलले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताए । पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिबमोजिम आधारभूत अस्पताल सञ्चालन हुने उल्लेख गरे ।
सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने वताए । यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको उनँको भनाइ छ । “यहाँ जनशक्ति तीनै तहका सरकारबाट व्यवस्था गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “सङ्घीय सरकारले चिकित्सक पठाउँछ । बाँकी स्वास्थ्यकर्मी प्रदेश र स्थानीय सरकारले व्यवस्था गरेर अस्पताल सञ्चालन हुन्छ ।”
फालेलुङ गाउँपालिका वडा नं ३ नाम्लुवामा रु ११ करोड ४३ लाखको लागतमा आधारभूत अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए । अस्पताल स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम निर्माण भएको हो । यस्तै, रु पाँच करोड २८ लाखको लागतमा गाउँपालिकाको चारतले प्रशासकीय भवन निर्माण भएको हो । विसं २०७७ असोजमा निर्माण सुरु भई गत जेठमा निर्माण सम्पन्न भएको भवनबाट सेवा प्रवाह सुरु भइसकेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताए  । शनिबार नै मन्त्री पौडेलले फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे ।

Author

You may also like