दमक । दमक उद्योग वाणिज्य संघले यही भदौ ६ र ७ गते हुने अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको टाइसिट (खेल तालिका ) सार्वजनिक गरेको छ । वाणिज्य संघले शुक्रबार संघको सभाहलमा वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थितिमा सो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
दमक उद्योग वाणिज्य संघको ३४ औ स्थापना दिवसका अवसर पारेर आयोजना गर्ने अन्तर वस्तुगत संघ बीच फूटसल प्रतियोगितामा १२ टिम सहभागी रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमिति संयोजक तुलसीराम तिम्सिनाले बताए ।
खेल तालिकामा ‘ए’ समुहमा थान कपडा व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण वस्तुगत व्यवसायी संघ, कस्मेटिक तथा ब्याग व्यवसायी संघ, मोबाइल व्यवसायी संघ दमक, अटोमोवाइल व्यवसायी संघ र किराना तथा खाद्यन्न व्यवसायी संघ रहेका छन् । यसै गरी खेल तालिकाको ‘बी’ समुहमा रेडिमेट कपडा व्यवसायी संघ दमक, फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ, जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ र दमक उद्योग वाणिज्य संघ आयोजक रहेको संघको खेलकुद तथा स्वास्थ्य उपसमिति सदस्य मोहन मगर मिनले बताए ।
संघले गतवर्षदेखि शुरु गरेको उक्त प्रतियोगिता यसवर्ष पनि सोही मितिमा आयोजना गर्ने संस्कारको विकास गर्दै व्यवसायी–व्यवसायी बीच मैत्रीपूर्ण र आपसी सद्भाव बढाउनका लागि फुटसल प्रतियागिता आयोजना गरिएको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।
दोश्रो संस्करणको यस फूटसल प्रतियोगिताका विजेता टिमले नगद ३३ हजार ३ सय ३३, उपविजेताले २२ हजार २ सय २२ रुपैयासहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि, म्यान अफ द सिरिज, म्यान अफ दि म्याचसहित म्यान दि म्यान घोषणा गरि नगद सहित ट्रफि प्रदान गरिने संयोजक तिम्सीनाले बताएका छन् । दमक ५ स्थित विष्ट फूटसल मैदानमा प्रतियोगिता हुने संघले जनाएको छ ।