विमल लामिछाने
दमक\नेपाल पर्यटन विकासका दृष्टीकोणले उपयुक्त मानिन्छ । कोरोना महामारीको बेला थलिएको पर्यटन ब्यवसाय पुन लयमा फर्किएको छ । पूर्वका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्दै जानुले पर्यटकीय ब्यवसाय फष्टाउने अपेक्षा सहजै गर्न सकिन्छ ।
आर्थिक वर्ष २०८२\८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकको आगमनले कोरोना महामारी र त्यसपछिको शिथिलतापछि नेपाली पर्यटन उद्योग स्पष्ट रूपमा दिगो वृद्धितर्फ अघि बढेको संकेत गर्दछ । तथ्यांकलाई गहिरिएर विश्लेषण गर्दा यसले नेपाली पर्यटनको दायरा, क्षेत्रीय सम्भावना र आगामी दिशाबारे महत्वपूर्ण चित्र प्रस्तुत गर्दछ । कुल आगमनमा भारतको हिस्सा २५ दशमलव ७६ प्रतिशत अर्थात् ३ लाख ११ हजारभन्दा बढी रहनुले नेपालका लागि भारतीय बजार सधैँझैँ मुख्य सहारा बनेको देखाउँछ । भारतका प्रमुख सहरहरूमा गरिएका १२ भन्दा बढी प्रवद्र्धनात्मक कार्यक्रम र सीमावर्ती क्षेत्रमा आयोजना गरिएका पर्यटकीय मार्ट तथा मेलाहरू यसका लागि प्रभावकारी सिद्ध भएका छन् । यस्तै, अमेरिका दोस्रो र चीन तेस्रो स्थानमा रहनुले परम्परागत र टाढाका बजारहरूबाट पनि नेपालप्रतिको आकर्षण कायमै रहेको पुष्टि गर्छ ।
अर्कातिर, पूर्वी नाका काँकरभिट्टाको तथ्यांकले स्थलमार्ग र क्षेत्रीय पर्यटनको महत्वलाई विशेष रूपमा उजागर गरेको छ । भिसा नचाहिने भारतीय पर्यटकबाहेक पनि ८६ देशका नौ हजार चार सय ४७ पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिनु र त्यसमा ५३ प्रतिशत भुटानी नागरिक हुनुले क्षेत्रीय पर्यटनको ठूलो सम्भावना देखाउँछ । नेपाल, भुटान र भारतको उत्तर–पूर्वी क्षेत्रलाई समेटेर एकीकृत पर्यटकीय परिपथ बनाउन सके नेपालका यी र यस्ता स्थलमार्गहरू अझ चलायमान बन्न सक्छन् ।
कोशी प्रदेश सरकारले पर्यावरणीय गन्तव्यको सूचीमा १३ वटा र ट्रेकिङ ट्रेलको रुपमा १० वटा स्थान समावेश गरेको छ । सरकारको तथ्यांकअनुसार ३२ हजारले पर्यटन क्षेत्रमा रोजगारी पाएका छन् ।
सगरमाथाको कारण ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक छन् आउने गरेका छन् । कोशी प्रदेशको पूर्व र दक्षिणमा भारत, पश्चिममा मधेश र बागमती प्रदेश साथै उत्तरमा तिब्बत रहेको छ । सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवल पनि कोशी प्रदेशमै अवस्थित छ । सूर्योदय हेर्ने श्रीअन्तु डाँडादेखि सूर्यास्त हेर्ने कोशीटप्पु यही प्रदेशमा छन् ।
कन्याम भेडेटार, पाथिभरा मन्दिर, हलेसी, बराहक्षेत्रलगायत आन्तरिक पर्यटनका चर्चित क्षेत्र हुन् । सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्से र चोयु हिमालले कोशी प्रदेशको पर्यटकीय सम्भावनालाई थप बढाएको छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको बलियो सम्भावना भएका क्षेत्र हुन् । तामोर रिभर ¥याफ्टिङ पूर्वको सबैभन्दा साहसिक र रोचक मानिन्छ ।
तर, राष्ट्रिय स्तरमा १२ लाखभन्दा बढी पर्यटक आउँदा कञ्चनजंघा जस्ता प्रचुर सम्भावना बोकेका पूर्वी पदमार्गमा जम्मा एक हजार तीन सय ३१ जना मात्र विदेशी पुग्नुले पर्यटनको असमान वितरणलाई उजागर गरेको छ । नेपाल आउने अधिकांश पर्यटक अझै पनि काठमाडौँ, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा क्षेत्रमै सीमित हुनु र यसले कञ्चनजंघा जस्ता उत्कृष्ट पर्यटकीय गन्तव्यमा पहुँचको सहजता, प्रचारप्रसार र पदयात्रा पूर्वाधारको कमी अझै कायमै रहेको देखाउँछ ।
यसैगरी, कात्तिक, चैत र फागुन जस्ता महिनामा पर्यटकको आगमन उच्च रहनु र असार, साउन, जस्ता महिनामा काँकरभिट्टा नाकामा आगमन दुई सय १६ मा सीमित हुनुले नेपालको पर्यटन अझै पनि मौसममा अत्यधिक निर्भर रहेको प्रमाणित गर्छ । वर्षात् वा अन्य अनुकूल नमानिने समयमा पर्यटक आकर्षित गर्ने विशेष प्याकेज र बजारीकरणको अभाव स्पष्ट देखिन्छ ।
सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ घोषणा गरिरहँदा र पर्यटन बोर्डले उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने लक्ष्य राख्दा केवल संख्या बढाएर मात्र पुग्दैन । काँकरभिट्टाबाट भित्रिने पर्यटकलाई झापा र इलाम हुँदै कञ्चनजंघा क्षेत्रसम्म पु¥याउने पर्यटकीय रुटको विकास, चीन, अस्ट्रेलिया र बंगलादेश जस्ता उदीयमान बजारमा सिधा हवाई उडान तथा लक्षित प्रवद्र्धन, र सीमा नाकाका पूर्वाधारको सुधार अबको प्राथमिकता हुनुपर्छ ।
गत आर्थिक वर्षको तथ्यांक उत्साहजनक भए पनि पर्यटनलाई अर्थतन्त्रको दिगो आधार बनाउन संख्यात्मक वृद्धिसँगै पर्यटकको बसाइ अवधि बढाउने, खर्च बढाउने र पर्यटकीय गन्तव्यहरूको विकेन्द्रीकरण गर्ने रणनीतिमा राज्य र निजी क्षेत्रको ध्यान केन्द्रित हुन अपरिहार्य देखिन्छ ।

Author

You may also like