अर्थ देश–समाज समाचार स्थानीय

सरकारी वेवास्ताले झापाका घरेलु हाते कागज उद्योग संकटमा

दमक/ सरकारले हात कागज उद्योगहरुको संरक्षण नगरेर भारतीय कागजलाई प्राथमिकता दिए पछि स्थानीय दर्जन बढी कागज उद्योगहरु बन्द भएका छन् । खास गरेर कच्चा पदार्थको अभाव र बजारीकरणमा समस्या भएपछि झापाका घरेलु नेपाली हाते कागज उद्योग बन्द हुन थालेका हुन ।
उत्पादित कागजको मुल्य बृद्धि नहुनु र आवश्कय कच्चा पदार्थको मुल्य बृद्धिले उद्यमीहरु मारमा पर्दै जान थालेपछि उद्योगीहरु निराश मात्र भएनन पेशा नै परिवर्तनको सोच बनाएर अगाडि बढेको बताउँछन् । स्वदेशी उत्पादनलाई प्राथमिकताको दिनुको सट्टा सरकारले भारतीय कागजको प्रयोजनलाई प्राथमिकता दिन थाले पछि थप समस्या आएको उद्यमीहरुको गुनासो छ ।
केही बर्ष अघिसम्म नेपालको सबै भन्दा धेरै नेपाली हाते कागज उत्पादन हुने झापामा कच्चा पदार्थको अभाव हुन थालेको छ । अभावका बीच उत्पादन भएका कागजले समेत उचित मुल्य र बजार पाउन नसक्दा उद्योगहरु बन्द हुन थालेको उद्योग संचालक समेत रहेका विर्तामोड नगरपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण अविरल खरेलले बताउँछन् । खरेलका अनुसार हालसम्म आफूहरु जेनतेन टिकिरहेको भए पनि कतिपय बन्द भइसकेको बताउँछन् । उद्योगले उत्पादन गरेको कागजको भुक्तानी व्यापारीबाट सहि समयमा नहुनु र आर्थिक चलायमान कम हुनुले पनि उद्योगहरु संकटमा पर्दै गएको उनको भनाई छ ।
त्यसो त जिल्लाका केही उद्योगले पराम्परागत शैलीलाई आधुनिकीकरण गर्दै कागज उत्पादनलाई थप जोड दिन थालेका छन् । जसका कारण स्थानीय क्षेत्रमा ठूलो संख्यामा रोजगारी समेत सृजना भएको छ । तर विगत जस्तो धेरैले भने रोजगार पाउन सकेका छैनन् । उनीहरु पनि पेशा बचाउने अभियानमा मात्र लागेको बताउँछन । परिस्थिति नाजुक छ । उद्योगधन्दा गर्न समस्या भएको छ । एकातिर काम गर्ने दक्ष जनशक्तिको अभाव हुन्छ भने अर्कोतिर पुँजीको अभावमा उद्योगलाई बढाउन नसकिएको उनीहरुको गुनासो छ ।
पछिल्लो समय पहाडी जिल्ला इलाम, पाँचथर र तेह्रथुमबाट आउने अरगेली र लोक्ताहरुको मुल्य बढ्दै गएको छ । यता यो बर्ष असोज महिनामा आएको बर्षा र बाढीले चीनसँग जोडिएका सडक र नाका अवरुद्ध हुँदा नेपाली कागजको बजारमा थप समस्या आएको मेची सिटौला ह्याण्डी क्राप्ट उद्योगका संचालक तेजप्रसाद सिटौलाले बताए । सिटौलाका अनुसार दशैं अघि चाइनाका लागि कागज बोकेर गएको ट्रक अझै पनि चाइनाको सिमाना केरुङमा रोकिएको बताए ।
झापा जिल्लामा अझै पनि २ दर्जन हाराहारीमा नेपाली हाते कागज उद्योगहरु संचालनमा रहेका छन् । सरकारले उद्योग संचालनका लागि आवश्यक कच्चा पदार्थ ढुवानी र बजार व्यवस्थापनमा सहयोग नगर्ने हो भने घरेलु उद्योगहरु संकटमा पर्ने उद्योगीहरुको भनाई छ ।

Author

You may also like