दमक/ पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । यस अघि पुरिएको अवस्थामा बस भेटिएको थियो । शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको थियो । यस अघि बुटवलबाट आएको विंगर शनिबार पुरिएको अवस्थामा भेटिएको थियो । सो विंगरमा रहेका १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।
देशैभर परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले डेढसय बढीको ज्यान गएको सरकारले बताएको छ । देशैभर सुरक्षाकर्मीहरूले आफूसँग भएको स्रोत साधनको उपयोग गरेर उद्धारमा खटिए । तर पृथ्वी राजमार्गको काठमाडौं प्रवेश गर्ने नाका झ्याप्ले खोलामा भएको विनाशबारे २ दिनसम्म सरकार नै बेखबर थियो । जसले बेपत्ता भएकाहरूको खोजी नै दुई दिनपछि मात्रै सुरु भयो ।
शनिबार साँझ सडक खुलाउन गएका सशस्त्र प्रहरीको टोलीले मात्रै थाहा पाए कि, त्यहाँ सवारी साधन पुरिएर मान्छेहरू बेपत्ता भएका छन् । आइतबार दृश्य निकै भयावह देखियो । पहिरोले राजमार्गमा पुरिएका दुईवटा माइक्रो बस र एउटा बसबाट ३५ जनाको शव निकालिसकिएको छ । पहिरोसँगै आएको लेदोले पुरिएर बस र माइक्रो बसको अस्तित्व नै बाँकी रहेन । शनिबार साँझ १४ वटा शव निकालिएको थियो भने आइतबार नारायण घाटबाट आएको ना २ ख १३४५ नम्बरको माइक्रो बस र लु ४ ख २२७० नम्बरको बसबाट थप २१ जनाको शव निकालिएको हो । काममा कति अलमल थियो भने, काठमाडौं र धादिङको सिमानामा भएको घटनामा कसले उद्धार टोली पठाउने भन्नेमै अन्योल देखियो । आइतबार पुगेको सुरक्षा टोलीले भने सक्रियताका साथ काम गरे ।
झ्याप्ले…त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार झ्याप्ले खोलाभन्दा केही माथि गएको पहिरोले सवारी अवरोध हुँदा अन्य सवारी साधन रोकिएको र त्यहीँबेला आएको पहिरोले बगाएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टिमले राजमार्गको पहिरो हटाउने काम गरिरहेका छन्। समयमा सूचना र पहिरो हटाउन आवश्यक एक्स्काभेटर नहुँदा उद्धारमा पनि समस्या भोग्नुपर्यो । प्राकृतिक दुर्घटना रोक्न सकिँदैन । घटनापछि सुरक्षाकर्मीले खोजतलास पनि गरिरहेका छन् । तर आवश्यक स्रोत साधन दिन मात्रै हैन, समयमै निर्णय लिन सरकार असफल भएको छ ।