नवराज भट्टराई
उर्लाबारी/मकैको खोस्टा गाईवस्तुलाई खुवाउन प्रयोग हुँदै आएको छ । तर, उर्लाबारीकी एक महिला उद्यमीले खोस्टाबाट आकर्षक सामग्री उत्पादन गरी आम्दानी गर्न थालेकी छिन् । उर्लाबारी–७ पूर्व बस स्टेण्ड दक्षिण आफ्नै घरमा १२ वर्षअघिदेखि नरमाया हस्तकला उद्योग सञ्चालन गरेकी नरमाया खनाल दंगाललाई आजकल खोस्टाबाट सामग्री बनाउन भ्याइनभ्याई छ ।
विशेषगरी उनले खोस्टाबाट कार्यक्रममा प्रयोग हुने व्याच बनाउने गरेकी छिन् । उनले खोस्टाको व्याच बनाउन थालेको धेरै भएको छैन, तर माग अत्यधिक छ । उनले बनाएका व्याच विराटनगर, उर्लाबारी, दमकलगायतका स्थानमा भएका कार्यक्रममा प्रयोग भइसकेका छन् । अहिले पनि माग अत्यधिक छ । ‘गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी सामग्री बनाएर बिक्री गर्दै आएकी छु’ नरमायाले भनिन्, ‘प्लास्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण बढाउने भएकोले मकैको खोस्टाबाट बनेका वस्तु प्रयोग गर्नु आवश्यक छ ।’
नरमाया अहिले उर्लाबारीमा सफल उद्यमी तथा प्रशिक्षकका रूपमा स्थापित छिन् । सीप, क्षमता र कामप्रतिको लगावका कारण उनी छोटो समयमै नाम र दाम कमाउन सफल भएकी छिन् । उनले गाउँघरमा खेर जाने सामग्रीबाट हस्तकलाका आकर्षक सामग्री उत्पादन र बिक्री गर्दै आएकी छिन् । खोस्टा मात्र होइन, खोलाबगरमा पाइने सिरुझार, केराको थामलगायत कम महत्वमा पर्ने या खेर जाने बस्तुमा कला र सीप मिश्रण गरेर उनले आकर्षक र उत्कृष्ट हस्तकलाका सामग्री तयार गर्ने गरेकी छिन् । उनले तयार पार्ने मकैको खोस्टाको फूल र ब्याचलाई धेरैले रुचाउने गरेका छन् । उनको उद्योगमा मकैका खोस्टा काटेर रङ भर्दै घर तथा कार्यालयका टेबल र भित्ता सजाउनका साथै उपहार दिन प्रयोग गरिने गुच्छा र ब्याच, ढक्की लगायत सामग्री उत्पादन हुने गरेको छ । अहिले त उनले उत्पादन गर्ने फूल र ब्याचले स्थानीयस्तर तथा जिल्लामा हुने साना–ठूला सार्वजनिक कार्यक्रममा विशेष स्थान पाउन थालेको छ । घर, कार्यालय, विवाहमा गाडी सजाउनदेखि प्रणय दिवसमा मायाको चिनोको रूपमा पनि खोस्टाबाट बनेका फूलको प्रयोग बढ्न थालेको नरमाया बताउँछिन् ।
‘प्लाष्टिकबाट बनेको आयातित सामग्रीले केही अघिसम्म सार्वजनिक समारोहमा कब्जा जमाउने गरेको थियो,’ नरमाया भन्छिन्, ‘अब क्रमिक रूपमा आयातित यस्ता सामग्रीको बजार तोडिँदैछ । मकैको खोस्टाका ब्याचले ठाउँ लिन थालेको छ ।’
नरमायाले खोस्टाबाट तयार गरिएको ब्याचको मूल्य ५० रुपैयाँ तोकेकी छिन् । फूलहरूको मूल्य एक हजारदेखि १५ सय रुपैयाँसम्म छ । खोस्टाबाट तयार गरिने उत्पादन आयातित सामग्रीभन्दा सस्तो र वातावरणमैत्री हुने उनी बताउँछिन् । उनको आफ्नै घरका कोठाहरू अहिले तिनै आकर्षक सामग्रीले भरीभराउ छ । केराको पहेँलपुर घरी, विवाहमा ओढिने रङ्गीचङ्गी छाता, पैसा राख्ने ढाकी, सिरुढाकी, पिरा, गुडिया, सुइटर, ऐना र झुमर लगायतका हस्तनिर्मित सामग्रीले आकर्षण बढाएको छ ।
सो हस्तकला उद्योगमा उत्पादित सामग्री अहिले देश–विदेशसम्म कोसेलीको रूपमा लाने गरिएको नरमाया बताउँछिन् । सीप सिकेर नरमाया आफूलाई आत्मनिर्भर बनाएकी छिन् । स्थानीय महिलाहरूलाई रोजगारी दिँदै आएकी छिन्, कतिपयलाई निःशुल्क सिकाउँदै पनि आएकी छिन् । सजावटका सामग्री बनाउन चाहिने धागो, मोती र फलामे रिङ उर्लाबारी, विराटनगर, धरान, इटहरी, पथरी र दमकको बजारबाट ल्याउने उनी बताउँछिन्रु । लगानी अनुसार मनग्गे कमाई भएको उनले सुनाइन्रु । उनले अरूलाई पनि यस्ता सीप सिकेर स्वरोजगार बन्न आग्रह गरेकी छन् । विवाह र पार्टी लगायत उत्सवका लागि घरैमा आएर छिमेकीले अर्डर दिने गरेको उनी बताउँछिन् । सिरु र काँसका ढाकी, बेहुलीले बोक्ने पर्स, अतिथि स्वागतका लागि गाग्रा, ऐना र झुमर बनाएर उनले व्यापारी र स्थानीयलाई बिक्री गर्ने गरेकी छिन् ।
अहिले उनको हस्तकला केन्द्रमा दश जनाले रोजगारी पाइरहेका छन् । उनको व्यवसायको मूल्याङ्कन गर्दै प्रदेश सरकार, स्थानीय सरकारबाट पनि सहयोग प्राप्त भएको नरमाया बताउँछिन् ।