दमक/ दमक–१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले स्थापनाको ४५ वर्ष प्रवेश गरेको सन्दर्भ पारेर अभिभावक दिवस मनाएको छ । विद्यालय पुस १४ गतेका दिन स्थापना भएको हो  ।
स्थापना दिवसको १ महिनापछि विद्यालयमा उल्लेख्य अभिभावकहरुको उपस्थितिमा मनाइएको अभिभावक दिवसमा विभिन्न मनोरञ्जनात्मक खेल, एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरियो । कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर सो दिवस मनाइएको हो ।
अभिभावक दिवसमा नृत्यहरु प्रस्तुत गर्नुका साथै प्रमुख अतिथि रहेका दमक नगरपालिका शिक्षा समितिका संयोजक तथा वडा नं.९ का वडाध्यक्ष कुवेर भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । अतिथिका रुपमा दमक नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा वडा नं. १ का निवर्तमान वडाध्यक्ष तारा प्रसाद अधिकारी, स्थानीय अगुवा सामाजिक व्यक्तित्वहरु, संचारकर्मीहरु रहेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक निर्देशक मनोज कुमार साम्पाङ राईले गरेका थिए भने कार्यक्रम संचालन प्रिन्सिपल चन्द्र प्रकाश राई, शिक्षक द्वय रमण दाहाल र कृष्णप्रसाद भण्डारीले आलोपालो गरी गरेका थिए । स्वागत मन्तव्य कक्षा ५ का विद्यार्थी सेन्चेलुङ चेम्जोङले अंग्रेजीमा र मिक्सन खड्काले नेपाली भाषामा गरेका थिए भने विद्यार्थीहरुले सामूहिक स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए । त्यस अवसरमा मारुनी, लिम्बू, पश्चिम क्षेत्रीय सांस्कृतिक नृत्य र विभिन्न जातीय तथा सांस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरिएको थियो भने अतिथिहरुलाई समेत मनोरञ्जनात्मक खेलमा सहभागी गराइएको थियो । अभिभावकहरुका बीच पनि आकर्षक खेल खेलाइएको थियो ।

Author

You may also like