देश–समाज राजनीति राष्ट्रिय स्थानीय

आज देशभर स्ववियू निर्वाचन हुँदै, झापाका १३ क्याम्पसमा ३३२ जना उम्मेदवार चुनावी मैदानमा

दमक/ झापाका १३ सहित देशभरिका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रारम्भ भईसकेको छ । कतिपय क्याम्पसमा एक जना अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेद्वारी दिएका छन् । झापामा नेपाली काग्रेसको निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियू संगठन वीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ । ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविले अपिल गरेको छ ।
झापाकाजिल्लाका १३ वटा क्याम्पसमा निर्वाचन हुन लागेको ती क्याम्पसहरुमा प्रत्यक्षतर्फ ३३२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरुले स्ववियू निर्वाचनमा भाग लिने भएका छन् ।
दमकमा ८ जनाको उम्मेदवारी
सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दिएका हुन् । निशम अधिकारी (अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन), दिपक लिम्बू
(स्वतन्त्र), पर्वत बस्नेत (स्वतन्त्र) , पेमा डोल्मा तामाङ (अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), प्रविना भट्टराई ( अखिल समाजवादी ), भुपेन्द्र बस्नेत (भुवन)–स्वतन्त्र , रश्मि उप्रेती (हामी स्वतन्त्र छौ समूह) र सायन साम्पाङ राईले नेपाल विद्यार्थी संघबाट उम्मेद्वारी दिएका छन् ।
दमकमा नेविसंघबाट अध्यक्षका उम्मेदवार चयनमा सहमति नबन्दा राईसहित तीन जनाको उम्मेदवारी परेको छ । राईसहित भुपेन्द्र र दिपक लिम्बू अध्यक्षका उम्मेदवार भएका छन् । ती मध्ये लिम्बू स्ववियू सचिव हुन् भने अन्य दुई भने स्ववियू सदस्य हुन् ।
दमक बहुमुखी क्याम्पसमा अध्यक्षका ८ उम्मेद्वारसहित ३३ जनाले उम्मेद्वारी दिएका छन् । दमकमा ३७०२ जना विद्यार्थी मतदाता रहेको जनाइएको छ ।
कन्काईमा ७ जना उम्मेदवार
दमकपछि कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट वासुदेव निरौला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट कुशल भट्टराई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनबाट सुनिराम मुर्मू, अर्को अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनबाट उत्तम लोहार, अखिल क्रािन्तकारीबाट अनुप भण्डारी, स्वतन्त्रबाट बिट्टु शाह र मनोज तिम्सिनाले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यहाँ अध्यक्षका ७ सहित जम्मा ३७ जनाले उम्मेद्वारी दिएका छन् । कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा १०९१ जना मतदाता रहेका छन् ।
मेची बहुमुखीमा ६ जना उम्मेदवार
त्यस्तै जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्र विद्यार्थी कल्याण परिषदबाट हेमराज गौतम, नेपाल विद्यार्थी संघबाट निलम कार्की, स्वतन्त्रबाट गौरव कानु, अखिल, क्रान्तिकारीबाट शिखर पौड्याल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट प्रन्सल मगर र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट अम्बिर अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । २९०५ जना मतदाता रहेको मेची क्याम्पसमा अध्यक्षका ६ सहित ४३ जनाले उम्मेद्वारी दिएका छन् ।
गौरादह, गौरीगञ्ज, शनिश्चरे लगायतमा ३ जना उम्मेदवार
त्यस्तै गौरादह कृषि क्याम्पसमा अध्यक्षका ३ सहित १९, गौरादह बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित २६, गौरीगञ्ज क्याम्पसमा अध्यक्षका ३ सहित १८, सीतारमेश क्याम्पसमा अध्यक्षका ३ सहित २५, शनिश्चरे बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित १६, गरामनी क्याम्पसमा अध्यक्षका ३ सहित १५, काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्यक्षका ३ सहित २४, त्रिदेव क्याम्पसमा अध्यक्षका ३ सहित १९, इन्द्रचन्द्र क्याम्पसमा अध्यक्षका ३ सहित २९ र कन्काई आदर्श क्याम्पसमा अध्यक्षका २ सहित २० जनाले उम्मेद्वारी दिएका छन् ।
दमकमा नेविसंघकै दुई समूह
यसैबीच, स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसको स्ववियूको निर्वाचनमा सोमबार नेविसंघका दुई समूहले आफना उम्मेदवारहरु सार्वजनिक गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, राप्रविसंघ, अनेरास्ववियू र संघीय विद्यार्थी युनियन लिम्वूवान सहितको संयुक्त गठबन्धन र नेविसंघकै एक अर्को समूहले पनि छुटाछुट्टै कार्यक्रम गरि आफना उम्मेदवारहरु सार्वजनिक गरे ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका तीन जनाले दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि पार्टी र विद्यार्थी संगठन बीच विवादले चर्को रुप लिएको छ । स्ववियूको निर्वाचनको विषयलाई एिर नेविसंघमा पार्टीले हस्तक्षेप गरेपछि विद्यार्थीहरुमा अन्यौलता समेत देखिएको छ ।
दमकको केविआर होटलमा विहान कांग्रेस,माओवादी,राप्रपा , नेकपा एस र संघीय लिम्बूवान पार्टी गरि पाँच वटा पार्टीको विद्यार्थी संघसंगठनको संयुक्त प्यानलबाट अध्यक्षमा भूपेन्द्र बस्नेत (भुवन) को टिम सार्वजनिक गरेका थिए । उम्मेदवार घोषणा गर्दे संयुक्त निर्वाचन परिचालन समितिका संयोजक रवि केसी न्यौपानेले दमक बहुमुखी क्याम्पसको स्ववियूलाई साझा बनाउन दलीय संगठनवीच सहमति गरि निर्वाचनमा उत्रनु परेको जिकीर गरे ।
दमक नेवि संघका उम्मेदवार इकाईले तोकेका आधिकारिक
नेपाली कांग्रेस झापाले स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस ईकाई समितिले गरेको निर्णयनै आधिकारिक हुने स्पष्ट पारेको छ । नेपाली कांग्रेस झापाले स्ववियू निर्वाचनका लागी उम्मेद्धवार चयन गर्न गठन गरेको समन्वय एवं सहजीकरण समितिका संयोजक तथा पार्टी जिल्ला उपसभापति केशबराज पाण्डेले सोमबार एक अपिल जारी गर्दै नेविसंघको आधिकारिक उम्मेद्वारको बिबाद भएमा नेविसंघको ईकाई समितिले गरेको निर्णयनै आधिकारिक हुने स्पष्ट पारेका छन् ।
कांग्रेस झापाले जिल्लामा रहेका क्याम्पसहरुको स्ववियू निर्वाचन समन्वय एवं सहकरजीण गर्न जिल्ला स्तरिय समन्वय समिति गठन गरेको थियो । गत फागुन १६ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवेसहित पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिको संयुक्त वैठकले स्ववियू निर्वाचनका लागि सवै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।
समन्वय एवं सहजीकरण गर्न समितिले सम्बन्धित क्याम्पसको नेविसंघ ईकाई समितिसंगको समन्वयमा उम्मेद्वार तय गर्ने निर्णय उक्त वैठकले गरेको थियो । सोही निर्णय वमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियू निर्वाचनका लागि उम्मेद्वारी दर्ता गरिसकिएको छ । दमक बहुमुखी क्याम्पसमा भने केही समस्या देखिए पनि नेविसंघ क्याम्पस इकाइ समितिको सिफारिसमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारनै आधिकारिक भएको त्यही उम्मेदवारलाई जिताउन संयोजक पाण्डेले अनुरोध गरेका छन् ।

Author

You may also like