दमक/ कूलतमा फसेका महिला तथा पुरुषलाई सुधारेर उनीहरुलाई पुर्नस्थापना गरी शीप र श्रमसँग जोडेर जीविको पार्जनसम्म जोड्ने काम दमक नगरपालिका र सुधारगृहको समन्वयमा भइरहेको छ । त्यही पुरुष सुधार गृहको स्थापना भएको ४ वर्ष र महिला सुधार केन्द्र खुलेको एक वर्ष पुगेको अवसरमा मंगलबार महिला सुधार गृहको सभाहलमा वार्षिकोत्सव मनाइएको छ ।
दमक नगरपालिका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाई, इलाका प्रहरी कार्यालय प्रमुख रामप्रसाद तिमल्सिना, इलाका प्रशासन कार्यालय प्रमुख झरेन्द्रराज चपागाईको विशेष आतिथ्यतामा वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापालगायत अन्य सरोकारवाला निकाय, सुधार गृहका कर्मचारी, सुधार गृहमा आश्रित सुधारको प्रक्रियामा रहेका महिला तथा युवतीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा आयोजित सो कार्यक्रम जीवन नेपालीले सञ्चालन गरेका थिए ।
प्रमुख अतिथि नगरपालिका प्रमुख थापाले सबैलाई देख्न र साथमा रहेर कुरा गर्ने अवसर पाएकोमा खुशी लागेको भए पनि १५/१६ वर्षका कलिला चेहरादेखि ६०/६५ उमेर समूहका दिदीबहिनीहरुलाई यो अवस्थामा देख्दा दुःख लागेको पनि बताए । थापाले– यहाँबाट परिवार र समाजका लागि केही गर्छु भन्ने उद्घोषका साथ श्रम र शीपसँगै आयआर्जनसँग जोडिएर काम गर्न आग्रह गरे । उनले भने– तपाईहरुका समस्यालाई हामीले के गर्नुपर्छ ? कुनै तालिम वा काम गरेर खान सक्ने कुनै साधन वा पढ्न चाहना राख्नुहुन्छ भने पढाइदिनेलगायत अन्य जेसुकै गरेर पनि तपाईहरुलाई पुनस्र्थापित गराउन नगरपालिका सदैव अगाडि रहने बताए । एकछिन आफ्नो कर्तव्यबाट बाहिर गईदिँदा आफ्नो जीवन त बर्बाद पार्छ नै परिवार र गाउँ, टोल, छिमेक, समाजलाई समेत बर्बाद पार्ने उनले बताए । उनले आफु पनि कूलतमा लागेको परिवारको व्यक्ति रहेको र त्यही कारणबाट कान्छो भाईलाई समेत गुमाएको हुँदा यसको पीडा आफुले भोगेको बताए । उनले तपाईहरुलाई सुधार्ने, समाजमा पुनस्थापित गराउने कर्तव्य समेत आफूहरुको रहेको बताए । मनमा आउने गलत प्रवृत्ति अर्थात एकपटक फसेको कुलतमा फेरी फर्कनसक्ने मनस्थिति त्याग्न सक्नु भएन भने त्यहाँबाट परिवर्तन हुन नसक्ने बताए । उनले भने– तपाई सुधार भइसकेपछि पनि पुनः गल्ति दोहोर्याउनु भयो भने प्रहरीको जिम्मा जानुको विकल्प नभएको समेत उनले बताए ।
यसैगरी, नगरपालिका उपप्रमुख भट्टराई प्रसाईले स्थापना गर्दा यो संस्थामा को आउँला भन्ने चिन्ता लागेको तर अहिले यतिका महिलालाई सुधार गर्ने थलोको रुपमा परिणत भएकोमा खुशी व्यक्त गरिन । उनले सुधार गृहमा आएपछि दिदीबहिनीलाई पुर्नस्थापनाका लागि नगरपालिकाले सक्दो प्रयास हरेक कोणबाट गर्ने तर एक पटक जानी, नजानी गरेको गल्ति पुनः दोहोर्याउन नहुने बताईन । उनले सुधार हुनु भएका व्यक्तिहरुलाई आयआर्जनसम्म जोड्न नगरपालिकाले अनेकन प्रयास गरिरहने र नगरपालिका सदैव साथमा रहेको बताईन ।
यस्तै, इलाका प्रशासन प्रमुख चापागाईले परिवारका सदस्यहरुले आफ्नो गरेको योगदान सम्झिएर आफ्नो लागि आफैले बुझेर सहि बाटो लाग्नुपर्छ, गलत बाटो लाग्न हुँदैन भन्ने हुनुपर्ने बताए । उनले आफू सहि बाटोमा हुँदा हुँदै कसैले कुलतमा फसाउने दृष्टिकोणबाट लान खोज्छ भने त्यसको प्रतिकार गर्नुपर्ने बताए ।
सो कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी तिमल्सिनाले विश्वमै भएका दुई तीन वटा समस्यामध्येको एउटा दूव्र्यसन रहेको र दमक क्षेत्रमा रहेका कूलतमा लागेका युवायुवतीहरुलाई सुधार गर्नका लागि यस संस्थाले खेलेको भूमिको सराहना गरे । उनले दूव्र्यसनको कानुनी तर्फबाट कुरा राख्दै उनीहरुलाई सुसुचित समेत गराएका छन् । उनले प्रिभेन्टिभ र इन्भेष्टिगेसनको दृष्टिकोणबाट हेर्ने गरेको बताए ।