मुख्य राजनीति समाचार

अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा उमेरहद र नेतृत्व चयन

दमक/ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलन काठमाडौंको किर्तिपुरमा चलिरहेको छ । सोही क्रममा नेतत्व छनौटको प्रक्रियासमेत अगाडि बढाएपछि अध्यक्षका आकांक्षी धेरै देखिएका छन् । त्यसपछि हदबन्दीको विषय प्रवेश गरेपछि पदाधिकारी छनौटको निर्वाचन अगाडि हदबन्दीको निर्वाचन गर्ने तयारी गरेपछि अध्यक्षका पदका दावेदार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महराको समूहले उमेर हदबन्दीका विरुद्धमा खुकुरी नाँच देखाएर सम्मेलनलाई विवादित बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएको निर्देशन बमोजिम हदबन्दीको निर्वाचनसँगै नेतृत्व चयनमा अखिल क्रान्तिकारी गएको इन्चार्ज हिमाल शर्मा बताउँछन् । उमेरको हदबन्दी लगाउनु पर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानबाटै हुनेछ उनले भने । शर्माले भने, ‘सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुनेछ । लगाउनु पर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प हुनेछ । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।’ अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पूरै लोकतान्त्रिक विधि अपनाइने उनले बताएका छन् । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । यस्तै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरु एकमत छैनन् ।
बिहीबारदेखि सुरु भएको २३औं सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको थियो । अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले सोमबार हलले सङ्गठनमा उमेर हदबारे निर्णय लिने भएको छ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० र ३२ बर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ । सम्मेलनले अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लगाउने निर्णय गरेमा अध्यक्षका कैयौं आकांक्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।
सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकांक्षी छन् । बिहीबारदेखि सुरु भएको यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
उमेरहदका विरुद्धमा खुकुरी प्रर्दशन
नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को जारी सम्मेलनमा विवाद देखिएको छ । उमेर हदको विरोध गर्दै निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो। तुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन् ।
तुकमान पनि अखिल (क्रान्तिकारी) को अध्यक्ष पदका दाबेदार छन् । सम्मेलन स्थलमा प्रतिनिधिहरूले कुर्सीसमेत फालाफाल गरेका छन् । काठमाडौंको कीर्तिपुरमा अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलन चलेको छ । उक्त सम्मेलनमा आज उमेर हदबारे मतदानबाट टुंगो लगाउने तयारी भइरहेको थियो । २८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो । महराले उमेर हद लगाउन हुन्न भन्दै सम्मेलनस्थलमा खुकुरी देखाएका थिए । उमेर हदबारे टुंगो लगाउन निर्वाचन गर्नका लागि तयारी भइरहँदा सोमबार दिउँसो महरासहित २०/२५ जनाको समूहमा रहेकाहरूले अवरोध सिर्जना गरेका हुन् । प्रहरी वृत्त कीर्तिपुरले अखिल (क्रान्तिकारी) को सम्मेलनस्थलमा खुकुरी देखाउने एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । माओवादी अध्यक्ष दाहालले अखिल (क्रान्तिकारी) का नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा महरा उपस्थित थिएनन् ।

Author

You may also like