चेतन अधिकारी
दशैं विदा सकिए लगत्तै काठमाडौं फर्केपछि गत शनिवारदेखि उच्च ज्वरोले सतायो । डाक्टरहरुको सुझाव अनुसार ओखती खाँदै घरमै आराम गरें । ओखतीले काम गरुन्जेल ज्वरोले छोड्थ्यो । त्यही मौकामा बिसाँउदै, बिसाँउदै तस्वीरमा देखिएका पुस्तक पढियो । विरामी हुनु आफैंमा बेफाइदा त हुँदै हो, तर सधैं बेफुर्सदिलो मान्छेलाई विरामी हुँदाको फाइदा चाँही यो पटक पुस्तक पढ्ने समय वन्यो ।
३७ बर्ष अघि सन् १९८६ मा प्रकाशन भएको पुस्तक ‘टिस्टादेखि सतलजसम्म’मा गोर्खा लाहुरेहरु इस्ट इन्डिया कम्पनीमा कसरी पसे ? सिक्किम, मेघालय, सिलोङ लगायतका क्षेत्रमा नेपालीहरु जंगल फाड्न र कोइला काट्न कसरी पुगे ? कस्ता भुक्तमान भोगे भन्ने सुख दुखका लामा तर रोचक श्रृङखला लेखक वीरवीक्रम थापाले उल्लेख गर्नुभएको रहेछ ।

अर्को पुस्तक ‘पूर्वाञ्चलमा सात सालको क्रान्ति’ पढियो । राणा शासन विरुद्धको आन्दोलनमा नेपालमा पूर्वी नेपालमा के कस्तो आन्दोलन चलेको थियो ? राणा शासन अन्त्य भए पनि प्रधानमन्त्री मोहनशम्शेरलाई मानेर विपी कोइराला गृहमन्त्री बसेपछि कांग्रेसको अपमान भएको भन्दै पूर्वाञ्चलमा अलग्गै सामयिक सरकार गठन गरिएको थियो । केन्द्र सरकारको संरचनाको विरोध स्वरूप गठन गरिएको यस सरकारलाई कुनै रेस्पोन्स नभएपछि ‘नेपाल प्रजातन्त्र स्वायत्त सरकार’मा रुपान्तरण गरिएको थियो । त्यो सरकारका उपाध्यक्ष एवं यातायात र सप्लाई मन्त्री नरेन्द्रनाथ बाँस्तोलाले लेखेको पुस्तक जीवन्त रहेछ । २७ बर्ष अघि प्रकाशन भएको यस पुस्तकले लिम्बू बिद्रोह, किपट प्रथा आदिका बारेमा पनि जानकारी दिएको रहेछ ।
नेपाली समाजको अनुहारमा कालो पोत्ने एउटा कुंस्सकार कमरा कमारी राख्ने र मालिकले आफू खुशी तिनका नाबालक सन्तान बेच्ने चलनको उम्दा प्रष्तुति उपन्यास ‘करिया’रहेछ । कृष्ण अविरलले तीन बर्ष अघि लेखेको यो पुस्तक पढ्दा कमरा कमारीका नाबालक छोरीहरुप्रति मालिकदेखि राणाका दरबारसम्म कस्ता घृणित कृत्य हुँदा रहेछन् भन्ने व्यक्त गर्नै मुस्किल हुने घटनाका बग्रेल्ती उदाहरण छन् । बि.सं. १९८१ मा चन्द्रशम्शेरले करिया प्रथा उन्मुलन गरेछन् ।
१९ बर्ष अघि लालकुमार श्रेष्ठले लेखेको ‘नेपालमा बसाइँसराइ’ पुस्तकमा नेपालको गतिशील समाजको चित्रण गरिएको छ । थातथलो छोडेर मानिस किन र के का लागि बसाइँ हिड्छ भन्ने कुराको तथ्य र तर्क सहितको जवाफ पुस्तकमा रहेछ ।
तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ्ग बास्तोलाले केही महिना अघि प्रकाशन गरेको ‘नेपालमा जनगणना’ पुस्तक पनि यही मौकामा पढियो । नेपालको जनगणनाको इतिहास, राणादेखि गणतान्त्रिक सरकारले जारी गरेका जनगणनाका इतिहास, हरेक जनगणनाका रोचक पक्ष, मुख्य तथ्यांकको तुलनात्मक अध्ययन, हालसम्मका १२ वटै जनगणनाका प्रश्नावली पुस्तकमा संकलित छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको यो पुस्तकले कम्तीमा पछिल्लो ११० बर्षको नेपाली समाजको चित्र प्रष्तुत गर्दछ ।