देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

गृहका सहसचिव भट्टराई अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ । केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।
छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ ।
अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ । अख्तियार स्रोतका अनुसार भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ उठाएको सूचना आएको थियो । उक्त सूचनापछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर जफत गरिसकेको छ ।
पोखरा विमानस्थल
अनुसन्धानको जिम्मा अख्तियारलाई
काठमाडौं । पोखरा विमानस्थल भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन
संसदको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारबारे आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ।
आज बुधबार दिउँसो १ बजेदेखि करिब ६ घण्टा बसेको समितिको बैठकमा सबै सदस्यहरुले आजै अख्तियारमा लेखी पठाउनुपर्ने बताएपछि सभापति ऋषिकेष पोखरेलले निर्णयसहित उपसमितिको प्रतिवेदन पठाएका हुन्।
विमानस्थलबारे अध्ययनका लागि समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। अब अख्तियारले आवश्यक अनुसन्धान गरी थप कारबाही प्रकृया अघि बढाउने छ।

३९५ जनाले गरे सगरमाथा आरोहण
झापा÷ वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् । हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् ।
सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।
यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

बसको ठक्करबाट बालिकाको मृत्यु
गोरखा÷ गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको हो ।
आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ ।

बढुवा विरुद्ध उजुरी
दमक÷नेपाल प्रहरीमा हिजो साँझ भएको डिआइजी पदको बढुवालाई लिएर विवाद मचिएको छ । बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् । उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् । सफलले डिआइजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

प्रथम रक्तदान महोत्सव
दमक÷ ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत संकलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो ।

विमानस्थल अध्ययन उपसमितिमा नराखेकोमा आपत्ति
दमक÷भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका छन् । बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए ।
म्याद थपमा लाँदै गर्दा भागेका पुनः पक्राउ
काठमाडौं÷ जिल्ला प्रहरी परिसर काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर स्वयम्भू वृत्तबाट म्याद थपका लागि लैजान ल्याइएका थुनुवा निशान परियार फरार भएका हुन् । अभद्र व्यवहारमा म्याद थपका लागि ल्याइएको उनको हातमा हतकडी भने लगाइएको थिएन । हतकडीबिनै उनी भद्रकालीतर्फ फरार भएको सीसीटीभी फुटेजमा देखिएको परिसरका एकजना अधिकारीले बताए ।

हात्ती मृत फेला
बुद्धशान्ति÷ बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मरेको छ । बुधबार विहान स्थानीबासीले जंगलभित्र मरेका हात्ती देखेपछि बन कर्मचारीहरुलाई खबर गरेका थिए । जिल्ला बन कार्यालय झापाले उक्त हात्ती लामो समयदेखि विरामी रहेको र प्रकृति संरक्षण कोषबाट डाक्टर ल्याएर उपचार समेत गरिएको जनाएको छ । अन्दाजी ५० देखि ५५ वर्षको उक्त हात्तीको दाह्रा छैन । बाहुनडाँगीको आरआरटी (बन्यजन्तु संरक्षणमा सक्रिय)का युवाहरुले समेत उक्त बिरामी हात्तीलाई बिगतमा बन्दाकोभी लगायतका आहार जंगलमै लगेर खुवाउने गरेको थियो । बाहुनडाँगीका बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले उक्त रैथाने हात्तीको नाम ‘घुमन्ते गज’ राखेका थिए । हात्तीलाई कोशी टप्पु आरक्षबाट आएको प्राविधिक टोलीले बुधबारनै पोस्टमार्टम जाँच गरेको बन कार्यालयले जनाएको छ ।

Author

You may also like