देश–समाज समाचार स्थानीय

लिङ्देनले गरे हल्दिबारीमा पुलको उद्घाटन र शिलान्यास

हल्दिबारी/ झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले हल्दिारबारी गाउँपालिकास्थित भुतेनी खोलाको पुल उद्घाटन तथा भुसुडी खोलामा दुई वटा पुलको शिलान्यास गरेका छन् । यो शिलान्याससँगै हल्दिबारी काठेपुलबाट मुक्त भएको जनाइएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं ५ र १ जोड्ने भुतेनी खोलाको पक्की पुल निर्माण सम्पन्न भई बुधबार लिङ्देनले शिलालेख अनावरणसँगै रिबन काटेर पुलको उद्घाटन गरेका हुन् भने ४ करोड ९६ लाख ८५ हजार ९ सय रूपैयाँमा ठेक्का लागेका भुसुडीका पुल शिलान्यास गरेका हुन ।
भुसुडीमा २ करोड ३० लाख रुपैयाँको लागतमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले बताए । २०७९ कात्तिक ७ गते सम्झौता भएको पुल निर्माणको म्याद २ वर्षको रहेकोमा ५ महिनाअघि नै निर्माण सम्पन्न भएको हो ।
४२ .७ मिटर लम्बाई र ७.२ मिटर चौडाई भएको पुल सारा सृष्टि निर्माण सेवा प्रा लि ले निर्माण गरेको हो । बाँकी २ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत वनले जानकारी दिए हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटमा सो पुल निर्माण भएपछि यहाँका स्थानीयसंगै छिमेकी पालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन् । उद्घाटन पश्चात् कार्यक्रममा बोल्दै सांसद लिङ्देनले गाउँपालिकाको काठेपुल मुक्त बनाउने लक्ष्य अनुसार समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष लिङ्देनले पुल यस क्षेत्रको विकासमा योगदान पु¥याउने बताए । उनले जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताए  । “हल्दिबारीले यहाँको सर्वाङ्गिण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उनले भने । योसँगै हल्दिबारीमा काठेपुल विस्थापित भएको छ । हालसम्म १५० वटा काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन बताए । उनले सीमित स्रोत भएको हल्दिवारीले आफ्नै लगानीमा यति ठूलो कार्य सम्पन्न गरेर जनप्रतिनिधि र कर्मचारीहरु इमान्दार भए विकास सम्भव भएको उदाहरण प्रस्तुत गरेको बताए ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वन, वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ५ का वडा अध्यक्ष खड्गबहादुर लावती, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापालगायत कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसहित स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले सीमित बजेट भएपनि विकास निर्माणका क्षेत्रमा पालिका सदैव अगाडि रहेको धारणा राखे । उनले ७ वर्षमा १५० काठेपुल, बाँसेपुल विस्थापित गरी पक्की पुल र कल्भर्ट बनाएको बताउँदै बाँकी रहेका काम पनि गर्दै जाने बताए। कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

Author

You may also like