दमक । नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको स्वागतसँगै आज गोवर्धन पूजा र गोरुको विशेष पूजा गरी तिहार मनाइँदैछ। तिहारको चौथो दिन मनाइने यस पर्वमा गोवर्धन पर्वत, गाईगोरु तथा कृषि कार्यमा सहयोग गर्ने पशुको पूजा गर्ने परम्परा छ।
नेपाल संवत्को नयाँ वर्षलाई नेपाली मौलिक पहिचान, सांस्कृतिक गौरव र ऐतिहासिक सम्पदासँग जोडेर मनाउने गरिन्छ। जनतालाई ऋणमुक्त गराई मानव सेवा र परोपकारको उदाहरण प्रस्तुत गरेका शङ्खधर साख्वाको योगदानसँग यो संवत् जोडिएको छ।
नेपाल संवत् नेवार समुदायको मौलिक कालगणना भए पनि यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व समग्र राष्ट्रसँग जोडिएको छ। नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदानप्रदान गर्दै भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षणमा जोड दिएका छन्।
यस अवसरमा नेपाल संवत्को ऐतिहासिक महत्त्व नयाँ पुस्तासम्म पुर्याउनुपर्ने र मौलिक भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण गर्नुपर्ने सन्देशसमेत दिइएको छ।
नयाँ वर्षले समाजमा सद्भाव, सहकार्य र एकता अभिवृद्धि गर्दै देशमा शान्ति, सुशासन, विकास र समृद्धिको नयाँ आशा जगाउने अपेक्षा गरिएको छ। नेपाल संवत् ११४७ को अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै देशभर शुभकामना आदानप्रदान भइरहेको छ।
गोवर्धन पूजाले प्रकृति, कृषि र पशुपन्छीप्रतिको सम्मान तथा मानव जीवनमा तिनको महत्त्वलाई स्मरण गराउने धार्मिक तथा सांस्कृतिक मान्यता बोकेको छ।