दमक, दमकमा फैलिएको डेँगु जाडो मौसम सुरु हुँदासमेत रोकिएको छैन । पानी पर्ने तथा घाम लाग्ने समयमा फैलने भनिएको डेँगु यस वर्ष हिउँदयाम सुरु भइसक्दा समेत नियन्त्रण हुन सकेको छैन । दमकका अस्पतालहरूमा अझै पनि डेँगुका बिरामी उपचारका लागि आउने गरेका छन् ।
चिसो बढ्दै जाँदा नियन्त्रण हुने भनिएको डेँगु मङ्सिरको दोस्रो साता भइसक्दा पनि सङ्क्रमण भइरहेको छ । पछिल्लो एक सातामा मात्र दमकमा १२ जना सङ्क्रमित भएका छन् । हाल दमकका सबै अस्पतालबाट डेँगुका बिरामीको तथ्याङ्क नगरपालिकाको स्वास्थ्य शाखामा नियमित पठाउने व्यवस्था मिलाइएको शाखामा कार्यरत बद्री बरालले जानकारी दिए । उनका अनुसार साउनयता मात्र करिब ४ सयमा डेँगु देखिएको छ । उनले भने, ‘सामान्यतया डेँगु चिसो मौसममा देखिँदैन, त्यसैले अहिले सङ्क्रमित हुनेहरूको दर घटिरहेको छ तर अझै पनि केही बिरामीहरू भने आउने क्रम देखिएको छ ।’
तर कतिपय बिरामीहरूमा शरीरको प्रतिरक्षा प्रणालीले डेँगुका लक्षण पनि देखाउने गरेकाले सङ्ख्या बढी भएको उनको दाबी छ । नगरपालिकाले भने नगरको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । दमक अस्पतालका अध्यक्ष तथा नगरपालिका उपप्रमुख गीता अधिकारीले सरकारी अस्पतालमा डेँगुका बिरामीहरूका लागि निःशुल्क जाँच, परामर्श र उपचारको व्यवस्था गरिएको जनाइन् । स्वास्थ्यकर्मीहरूका अनुसार डेँगुको सङ्क्रमणको लक्षणका बिरामीमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता समस्या आउने देखिन्छ । यस्तै रगतमा प्लेटलेटको मात्रा पनि घट्ने भएकाले कतिपयको शरीरमा डाबर आउने लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
परीक्षणमा पनि शङ्का
जाडो सुरु भएपछि समेत डेँगु नरोकिँदा यसको परीक्षण उपकरण र प्रणालीप्रति पनि शङ्का उब्जिएको छ । सामान्यतया चिसो मौसम भए पनि मौसमको उतार चढाबले पनि छिटफुट बिरामी देखिएको हुन सक्ने नगरपालिका स्वास्थ्य शाखाको अनुमान छ । तर केही दिन पर्खंदा समेत बिरामीहरू आउने क्रम जारी रहे विभिन्न अस्पतालमा अभ्यासमा रहेका परीक्षण उपकरण र शैलीको पनि परीक्षण गरिने बरालले बताए । ‘मौससमा उतार चढाब नै छ, त्यसैले केही बिरामी देखिएका हुन् कि भन्ने लागेको छ,’ उनले भने । ‘चिसो बढे पनि सङ्क्रमण रोकिएन भने यसको परीक्षण प्रणाली र शैलीको पनि एकपटक परीक्षण गर्नु पर्ने देखियो ।’