Banner राजनीति स्थानीय

कांग्रेस महासमिति निर्वाचन

दमक, २३ कार्तिक

नेपाली कांग्रेस पार्टीको महासमिति सदस्यका लागि झापाका केहि क्षेत्रमा हिजो निर्वाचन सम्पन्न भयो भनें केहिमा आज सम्पन्न हुँदैछ ।
क्षेत्र नम्बर २ मा महासमिति सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बुधबार मतदान सम्पन्न भएको छ । अन्य निर्वाचन क्षेत्रमा भनें बिहीबार मतदानको कार्यक्रम छ ।
मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिए । उनका अनुसार बुधबार ४ः१५ बाट मतगणना शुरु हुनेछ । यो समाचार तयार पार्दासम्म मतगणनाको परिणाम आइसकेको छैन ।
प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं-२ मा आदिवासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । बाँकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाको उम्मेदवारी परेको छ । खुल्ला महिला कोटामा उमा शिवाकोटी, चन्द्रकला भण्डारी र सीता पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै ५ जना खुल्ला पुरूषतर्फ ८ जनाको उम्मेद्वारी परेको छ । खुल्ला पुरूषतर्फ कोशी प्रदेश सभापति उद्वव थापा, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, उद्योगी छत्रबहादुर गिरी, सामाजिक व्यक्तित्व जलकुमार गुरूङ, पार्टीका पुराना कार्यकर्ता टीका प्रसाईं, सामाजिक व्यक्तित्व दिपेन्द्रप्रसाद ढकाल, र साहित्यकार तथा पूर्व शिक्षक हस्तबहादुर परियारको उम्मेद्वारी परेको छ ।
त्यसैगरी खस आर्य महिलातर्फ १ जना निर्वाचित हुनुपर्नेमा भूमादेवी घिमिरे र रन्जिता कार्कीको उम्मेदवारी परेको छ भने खसआर्य पुरूषतर्फ अनोजकुमार खड्का र यज्ञप्रताप अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
आदिवासी जनजाति खुल्लामा दिपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन् ।
झापाका पाँचवटै क्षेत्रमा निर्वाचन प्रक्रिया अघि बढेको छ । झापा क्षेत्र नम्बर १ मा खुल्लातर्फको पाँच पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । खुल्लातर्फ केशवराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्गबहादुर धिमाल, पुष्पराज पौडेल, रामबहादुर कट्टेल (राम कट्टेल) पंकजविक्रम नेम्बाङ, विमल आचार्य, अशोककुमार पोखरेलको उम्मेद्वारी दर्ता भएको हो । दुई खुल्ला महिला पदका लागि दुर्गा खतिवडा, शोभा श्रेष्ठ नेम्बाङ र उषा गुरुङको उम्मेद्वारी परेको छ ।
खसआर्य खुल्ला कोटामा रोहितकुमार बुढाथोकी र तेजप्रसाद चम्लागाईको उम्मेद्वारी परेको छ । यसैगरी खसआर्य महिला कोटामा सुशिला रिजाल, टिका सुवेदी बराल, चन्द्रकला भट्टराईको उम्मेद्वारी परेको छ । खसआर्य खुल्ला र महिलामा १/१ जना महासमिति सदस्य चयन हुनेछन् ।
यसैगरी आदिवासी जनजाति खुल्लातर्फ १ जना महासमिति सदस्य पदका लागि बालाजित राई र प्रेम सम्बाहाम्फेको उम्मेद्वारी परेको छ । आदिवासी/जनजाति महिलातर्फ भने डम्बरकुमारी थापा मगरको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मतदान बिहीबार हुनेछ ।
झापा ५ मा खुला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्य चुन्नका लागि निर्वाचन प्रकृया शुरु भएको हो । सो कार्यक्रम सम्पन्न गर्न निर्वाचन स्थल दमकस्थित सरस्वती मावि तोकिएको छ ।
निर्वाचन सम्पन्न गर्न बब्रुवन दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उनका अनुसार निर्वाचन कार्यक्रम अन्तगर्त बुधबार मतदाता नामावली, उम्मेदवारी मनोनयन दर्तादेखि दाबी बिरोध पेश गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्म बुधबारनै सकिएको र आज बिहिबार बिहान ७.३० देखि दिउँसो २.३० वजेसम्म मतदानको कार्यक्रम राखिएको छ ।
११ पदका लागि २१ जनाको उम्मेदवारी परेको छ । जसअनुसार पाँच जना खुला सदस्यतर्फ १० , खुला २ महिलाका लागि ३ जना, दुई जना (महिला /पुरुष ) का लागि ४ जना र २ जना आदिवासी /जनजातितर्फ (महिला पुरुष ) मा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । खुला ५ जना सदस्यतर्फ शुरेस सुब्बा,हुकुमसिंह राई, रोहितकुमार साह, सत्यनारायण चौधरी, हेमन्त कार्की, अम्बरबहादुर बराईली, अनिलकृष्ण प्रसाई, मेदनी सिटौला र टिकाराज सापकोटाको उम्मेदवारी परेको छ । यसैगरि, दुई खुला महिलातर्फ लक्ष्मी बाह्कोटी प्रसाई, चन्द्रा खड्का भटटराई, रेगिना भटटराई, एक जना खस आर्य महिलामा मन्दरा पौडेल र तुलसा पन्त, खस आर्य पुरुषतर्फ डा. नेत्र बुढाथोकी र विक्रम अधिकारी , १ जना आदिवासी जनजाति पुरुषतर्फ आइन्द्रविक्रम केरुङ र भूमिराज राई तथा आदिवासी जनजाति महिलातर्फ रमा लिम्बू र फूलवती राजवंशीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
२५ जना महाधिबेशन प्रतिनिधि मध्ये चर्चामा आएपनि डा. खगेन्द्रपाण्डव अधिकारी, भूपाल कटुवालले भने उम्मेदवारी दर्ता गरेनन् ।
महासमिति चुन्न १४ औ महाधिबेशनमा निर्वाचित भएका यस क्षेत्रका ७ सय बढी क्षेत्रीय प्रतिनिधि, नगर,गाउँ सभापति, वडा सभापतिहरुले मतदान गर्ने छन् ।
उम्मेदवारका आकांक्षीहरुबीच सामूहिक र अलग अलग भएका छलफलमा अधिकतम उम्मेदवारहरुबीच समझदारी नहुँदा चुनावी प्रतिस्पर्धा हुने देखिएको हो ।
-थेवे, सुब्बा र मगर सर्बसम्मत-
झापा ४ मा महासमिति सदस्यको ११ पदमा १९ जनाको उम्मेदवारी परेको छ । यसमध्ये आदिवासी जनजाती महिला १ कोटामा सीता थेवे निर्विरोध निर्वाचित भएकी छन् ।
यसैगरी झापा २ मा राधा सुब्बा र १ मा डम्बरकुमारी थापा मगर आदिवासी जनजाति महिलातर्फको निर्वाचनमा निर्विरोध निर्वाचित भएका छन् ।
खुला ५ कोटामा ९ जनाले उमेदवारी दर्ता गरेका छन् । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै सोही पदमा सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन परिचालन समितिले जनाएको छ ।
यस्तै खस आर्यको एउटा कोटामा दुईजनाको उमेदवारी दर्ता भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उमेद्वारी दर्ता गराएका छन् । कार्की संगै शिवसताक्षी ८ का चन्द्रमणि नेपालले पनि उमेद्वारी दिएका छन् ।
आदिवासी जनजाति एउटा कोटामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सामाजिक तथा पछिल्लो समय पार्टीमा सक्रिय भूमिकामा देखिएका मचिन्द्र शेर्मा, र सन्तोष कुमार मेन्याङ्बोले उमेद्वारी दर्ता गराएका छन् । खस आर्य महिला एक कोटा मा दुईजना महिला नेतृले उमेदवारी दिएका छन् । अञ्जु थपलिया र देवीकुमारी ओलीले उमेदवारी दर्ता गराएका छन् । महिला खुला दुई पदमा धनमाया चिमरिया, लक्खी गणेश र कविता बस्नेतको उमेदवारी दर्ता भएको छ ।
महासमिति सदस्य पदको निर्वाचन २३ गते कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा हुने निर्वाचन समितिले जनाएको छ ।

You may also like