समाचार

आजदेखि छठपर्व सुरू, काेराेनाकाे त्रासले पहिले जस्ताे उत्साह नहुने

दमक/ नेपालीहरुको महान् पर्व तिहार सकिने बित्तिकै आजदेखि छठ पर्व सुरू भएको छ ।

धार्मिक एवम् लोकआस्थाको पर्व छठ मनाउन यतिखेर आवश्यक सरसामग्रीको किनमेल भइरहेको छ ।

तराईका नदी किनारमा उत्साहका साथ छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या सिर्जना हुने देखिएको छ ।

तर पनि छठ विधिवत् रुपमा मनाउने तयारी भइरहेको छ ।

भगवान सूर्यको पूजा अराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरू हुन्छ ।

अत्यन्त निष्ठा एवम् पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले पहिलो दिन आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् ।

त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ ।

भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् ।

त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।

तेस्रो दिन षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ ।

चौथो दिन सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ ।

Author

You may also like