दमक/ दमकका पाँच जना युवाहरुले व्यावसायिक रुपमा फूल खेती गरेका छन् ।
दमक नगरपालिका–५ का पाँच जना युवा मिलेर लकडाउनलाई सदुपयोग गर्दै दमक–४, संगमचौकमा फूल खेती गरेका हुन् ।
विद्यालय तहसम्म सँगै अध्ययन गरेका दमकका प्रोज्वल काफ्ले, सौजन लुइँटेल, अभिषेक भट्टराई, ओसल पुरी र रिसभ नेपालले सामूहिक रुपमा फूल खेती गरेका हुन् ।
लकडाउनको समयमा मोबाइल खेलाएर बिताउनुको साटो केही उद्यम गरौँ भन्ने ध्येयले फूल खेतीमा लागेको उनीहरु बताउँछन् ।
उनीहरुमध्ये प्रोज्वल सी.ए. अध्ययन गर्दै एक अडिट फर्ममा काम पनि गर्दैछन् ।
त्यस्तै, सौजनले सिभिल इन्जिनियर र अभिषेकले कम्प्युटर इन्जिनियर कोर्स पूरा गरिसकेका छन् ।
त्यस्तै, ओसल र रिसभ म्यानेजमेन्ट एकाउन्टिङ कोर्स अन्त्य गर्दैछन् ।
उनीहरु पाँचै जना काठमाडौँमा अध्ययनरत हुन् । पढाइ सकेर केही गरौँ भन्दाभन्दै देश कोरोनाको चपेटामा प¥यो ।
यो समय उनीहरु काठमाडौँमा थिए । लकडाउन बढ्दै गएपछि काठमाडौँबाट दमक फर्किएका उनीहरुले केही दिन घरपरिवारसँगको भेटघाट, मोबाइल र ल्यापटप चलाउँदै बिताए ।
त्यस्तै, बिहान–बेलुकाको समय ब्याडमिन्टन खेलेर समय व्यतीत गर्दै थिए ।
त्यसमा पनि नयाँनयाँ मान्छेहरु आउन थालेपछि कोरोनाको डर बढेकाले केही दिनपछि ब्याडमिन्टन खेल्न पनि बन्द भयो ।
लकडाउन खुल्ने अत्तोपत्तो नभएपछि उनीहरुको मन चञ्चल भयो । के गरौँ र कसो गरुँमा केही दिन बिताए ।
लकडाउनलाई कसरी सदुपयोग गर्ने चिन्तामा रहेका उनीहरुले कृषि क्षेत्र उत्तम हो भन्ने ठाने ।
यही क्रममा उनीहरुले लामो समयसम्म नफस्ने सिजनेबल उद्यम फूल खेती रोजे ।
फूलको उत्पादन कम भइरहेको र माग बढी भएको कुरा युवाहरुलाई राम्ररी थाहा थियो ।
त्यसैले पाँचमध्ये एकजना साथीका संगम चौकको केही दक्षिणतर्फ खाली रहेको ३ कट्ठा जमिनमा साउन पहिलो सातादेखि सयपत्री फूल रोप्ने काम गरे ।
अहिले सोही फूल ढकमक्क फुलेको छ । तिहार नजिकिएसँगै फूलको माग पनि बढिरहेको छ ।
सामाजिक सञ्जालमा विज्ञापन गरेकाले उनीहरुको फूल बिक्री गर्ने माध्यम पनि उत्तम रह्यो ।
सामाजिक सञ्जालबाट थाहा पाउनेहरुले नै फूलको माग गरिरहेको उनीहरु बताउँछन् ।
अहिलेसम्म कृषि कर्ममा हात नहालेका उनीहरुको पहिलो कार्य नै सफल भएपछि उनीहरु हर्षित छन् ।
गरे जे पनि सम्भव रहेछ भन्ने उनीहरुलाई लाग्न थालेको छ ।
फूल खेतीमा हालसम्म उनीहरुले करिब ४० हजार लगानी गरेका छन् ।
यो लगानी सबै मल, बिरmवा र औषधिका लागि मात्र भएको उनीहरु बताउँछन् । फूल खेतीमा उनीहरु पाँचै जनाले श्रम गरेका छन् ।
फूल, रोप्ने, गोड्ने, पानी हाल्नेलगायतका काममा उनीहरु आफैँ खटेका हुन् ।
फूल बिक्रीले कति फाइदा दिन्छ उनीहरुलाई केही थाहा छैन ।
तर, कोरोना प्रकोपको पट्यारलाग्दा दिनहरुमा कहिले माटो नछोएका हातहरुले साथीसँगै फूल रोप्दा, गोड्दा र स्याहारसुसार गर्दाको आनन्द बेग्लै भएको उनीहरुको अनुभव छ ।
गर्दा नहुने केही छैन तर गर्ने वातावरण बिक्री वितरणको सरकारी अव्यवस्थाले कृषकहरुमा भने उत्साहभन्दा निराश हुनुपर्ने हरेक क्षेत्रमा समस्या रहेको उनीहरुको बुझाइ छ ।
अबको समयमा हामी सबै कुरामा आत्मनिर्भर हुनुपर्ने उनीहरु बताउँछन् ।
कृषिप्रधान देश भए पनि अन्न, तरकारी, मसला लगायतका वस्तुमा आत्मनिर्भर हुन नसक्नु दुःखद् भएको उनीहरु बताउँछन् ।
उत्पादन गर्न सफल भए पनि त्यसको बजार खोज्न नसक्दा हामी सधैं परनिर्भर हुनु परेको उनीहरुको बुझाइ छ ।
अब पनि देशको परिस्थिति नसुध्रिए के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा तरकारी खेतीमा लाग्ने सोच बनाइरहेको उनीहरु बताउँछन् ।