दमक । नेकपा माओवादी उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा ‘भ्युटावर विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् ।
झापामा शनिबार बिहान आयोजित पार्टीको कार्यक्रममा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्युटावर’ विकास मोडल अनुत्पादक भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार बिहीनलाई सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्युटावर हो भन्ने स्थापित गर्न खोजिएको पुनको भनाइ थियो । ‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यु टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्युटावर, देशको गौरव भनेकै भ्युटावरजस्तो भएको छ,’ पुनले भने, ’ओलीजीले दमकमा ठूलो भ्युटावर ठड्याउनुभयो । प्रधानमन्त्री ओलीले भ्युटावरलाई विकासको मोडल बनाउनुभयो । मैले यसअघि संसदमा पनि भनेको छु, उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मात्र चार हजार बढी सुकुम्बासी रहेको दाबी गर्दै पुनले भ्युटावरभन्दा पहिला ती जनतालाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्ने कुरा नसोचिएको बताए ।