समाचार

भोलिदेखि झापामा एकसाता निषेधाज्ञा

के गर्न पाइने, के नपाइने ?

दमक/कोरोना संक्रमण बढ्दै गएपछि झापामा भोलिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ । यही साउन २३ गते मध्यरातिसम्म हुने सो निषेधाज्ञाका क्रममा के गर्न पाइने र के गर्न नपाइने भनी झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिहीबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय अनुसार आदेश जारी गरेका छन् । आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । सो आदेशमा भएका कुराहरु यहाँ उल्लेख गरिएको छ ।

के गर्न नपाइने ?
अत्यावश्यक काम बाहेक जो कोहीले पनि घरबाहिर हिंड्डुल गर्न पाइने छैन । हाटबजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य गर्न पाइने छैन । अत्यावश्यक सेवा संचालन बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयहरुको सेवा स्थगन गर्ने । अत्यावश्यक कार्यालयहरुका न्यूनतम कर्मचारी मात्र उपस्थित भइ आन्तरिक प्रशासन संचालन गर्न भने पाइने । खाद्यान्न लगायतका सबै प्रकारका व्यापार व्यवसायहरु पूर्ण रुपमा बन्द राखिनेछ । झापा जिल्लाभरका सार्वजनिक तथा निजी सबै सवारी साधानहरु संचालनमा पूर्णरुपले रोक लगाउने । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गर्ने । लामो तथा मध्यम दूरीका सवारी साधनहरु तोकिएको स्टेशन बाहेक जथाभावी रोक्न नपाइने । विवाहमा बढीमा १० जनाभन्दा बढी जन्ती जान नपाइने । जन्ती जाँदा दुई वटा सवारी साधनमात्र चलाउन पाइने । पूर्वको सीमा नाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाउने । काँकडभिट्टा बाहेकका अन्य नाकाबाट मानिसहरु प्रवेशमा पूर्ण रोक लगाउने । सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरु संचालन गर्न नपाइने ।
के गर्न पाइने ?
औषधि तथा अत्यावश्यक बस्तु तथा सेवा खरिदका लागि भने घरबाहिर निस्कने पाइने । तर त्यसक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरु भने पालना गर्नुपर्ने । जस्तो मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने या साबुनपानीले मिचिमिचि हात धुने । कोरोनाको लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने । सरकारी तथा सार्वजनिक सेवाका कर्मचारीहरुले बिहान ९ देखि १० बजे तथा बेलुकी ५ देखि ६ बजेसम्म कर्मचारी परिचय पत्रका आधारमा सरकारी तथा निजी सवारी साधनहरु चलाएर आवतजावत गर्न पाइने । बैंक तथा वित्तीय संस्थाको हकमा माथिल्लो निकायको स्वीकृति लिएर न्यूनतम कर्मचारीको उपस्थितिमा हप्तामा ३ दिन आलोपालो मिलाई कार्यालय संचालन गर्न पाउने । विवाहमा बढीमा १० जनासम्म जन्ती जान पाइने, त्यसक्रममा एउटा सवारी साधनमा ५÷५ गरी दुई सवारी साधन प्रयोग गर्न पाउने । मृत्यु संस्कार, बिरामी कुरुवाको हकमा अनिवार्य सहभागी हुनुपर्ने भए अन्य जिल्लामा जानुपर्ने भए स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने । काँकडभिट्टा सीमा नाकाबाट हुने आपूर्ति व्यवस्था भने खुला राख्ने । तर ढुवानीका सवारी चालक र सहचालकले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने । संचारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषणका लागि सूचना विभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित संचार गृह वा नेपाल पत्रकार महासंघको परिचय पत्रको आधारमा आवतजावत गर्न पाइने । हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बिहान ६ बजेदेखि ८ बजेसम्म बिक्री वितरण गर्न पाइने । पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधनहरु संचालनमा अवरोध नगर्ने । कक्षा ११ को परीक्षामा जाने परीक्षार्थीहरुलाई अवरोध नगरी आवागमनमा सहजीकरण गर्ने । हवाई यात्रुहरुका हकमा हवाई टिकट लगायतका कागजातका आधारमा निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गर्ने ।
एम्बुलेन्स, खानेपानी, ईन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ बोकेका सवारी साधन, बैंक, वित्तीय संस्था, रेडक्रस, दूरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु संचालन गर्न पाइने । उद्योग तथा कलकारखाना थोरै जनशक्तिबाट सो ठाउँभित्रै खाने तथा बस्ने व्यवस्था मिलाइ संचालन गर्न पाइने । राष्ट्रिय गौरवका आयोजनाहरु पनि सोही अनुसार गर्न पाइने ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु, जिल्ला कार्यालयका प्रमुखहरु, जिल्लाका सबै पालिकाका प्रमुख तथा उप–प्रमुखहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । यसअघि पालिका क्षेत्रमा कोरोनाको संक्रमण दर र ज्यान जानेको संख्या बढेसंगै क्रमशः जिल्लाका १० वटा पालिकाहरुले  आ–आफ्नै ढंगले कतै पूर्ण त कतै आंशिक निषेधाज्ञा जारी गरेका थिए । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिने कार्यमा एकरुपता आओस् भनेर जिल्लाभरिनै एकैसाथ निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी गराए । निषेधाज्ञाको पालना गर्न हरेक नागरिकको कर्तव्य भएको र त्यो आफ्नै स्वास्थ्यका लागि भएको उनले बताए । निषेधाज्ञा लागू गराउने शुक्रबारदेखि विभिन्न पालिकाहरुमा माइकिङ लगायत प्रचार प्रसारका कामहरु गरिँदै आएको छ ।

You may also like