समाचार

दमक नपाले चिया मजदुरको पारिश्रमिक उपलब्ध गराउने, राहत सामग्री वडा–वडामा पठाइयो – पूर्वसन्देश दैनिक

पवन निराैला

चैत्र २३ गते । दमक नगरपालिकाले दमकको चिया बगानमा काम गर्ने मजदुरहरुको रोकिएको पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित निकायका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
शनिबार नगरपालिकाले जारी गरेको विज्ञप्तिमा तत्काल पारिश्रमिक उपलब्ध गराउन चिया बगानका प्रतिनिधिसँग आग्रह गरिएको नपाले बताएको छ ।
त्यस्तै दमकस्थित सब्जी बजारमा क्रेता र बिक्रेताको भीडभाड हुन नदिन सब्जी व्यवसायी संघसँग समेत छलफल गरी दमक नगरपालिकाले भीडभाड हुननदिने उपायका बारेमा सुझाव माग गरेको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न दमक ४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा ४ जना र शुक्रबार भारतबाट आएका १ जनालाई मानसरोवर कलेजको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा शनिबार २ जना महिला र १ जना पुरुषको स्वास्थ्य जाँच गरिएको र लाइफलाइन अस्पतालमा १ जना बिरामीको नमुना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नपाले जनाएको छ ।
दमक नगरपालिकाले दमकका सबै वडाहरुमा राहत सामग्री वितरण गरिरहेको छ ।
१० वटै वडाका २,२४६ घरधुरीमा ६२,४६५ केजी चामल, ४,८३१ केजी दाल, ३,६१५ प्याकेज चिउरा, ३,९९३ लिटर तेल, २,९६३ केजी नुन र ४,११३ ओटा साबुन प्रत्येक वडाका वडाध्यक्षहरु मार्फत् वितरणका लागि पठाइएको बताइएको छ ।

Author

You may also like