दमक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । विहिवार संस्थाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत आज कार्तिक २८ गते शुक्रबार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकले २९ औं वार्षिक साधारणसभा सम्पन्न गर्ने जानकारी दिँदै बार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको प्रतिवेदनमा वर्षभरिमा गरिएका कामहरु, आयव्यय र संस्थाको प्रगतिको विवरण उल्लेख गरिएको छ । जस अनुसार उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै विगतमा न्यूनतम ८ युनितसम्मको रु. १३० बाट रु. ५० र धारा जडान शुल्क रु. १५ हजार ३ सयबाट घटाएर रु. १२ हजार ३ सय कायम गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी न्यून आय भएका घरपरिवारलाई क्षेत्रगत आधारमा ५ घरलाई निशुल्क र १५ घरलाई ५० प्रतिशत छुट गर्ने, शुद्ध पिउने पानी २४ सै घण्टा उपलब्ध गराउने, कतिपय स्थानमा भौतिक संरचना निर्माण गर्दा जेसिबी तथा अन्य उपकरणहरुबाट पाइप क्षति हुन गई त्यसबाट दूषित पानी पाइप लाइनमा पस्ने भएकाले त्यस्ता निर्माण कार्य गर्दा अग्रिम रुपमा संस्थालाई जानकारी गराउनुपर्ने, व्यक्तिगत प्रयोजनका संरचना निर्माण गर्दा पाइप फुटेमा वा क्षति भएमा सम्बन्धित पक्षबाट नै खर्च बेहोरी मर्मत गराउनुपर्ने लगायतका विषयहरु सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष ०८१÷०८२ मा भए गरिएका प्रमुख कार्यहरु र आर्थिक वर्ष ०८२÷०८३ मा गर्नुपर्ने प्रमुख कार्ययोजना संक्षिप्तमा प्रतिवेदनमा समेटिएको छ । जसअनुसार खानेपानी आयोजनाको जी.आइ.एस. तथा क्यु.आर जडान, धारा
जडानको विवरण, एक वर्षभित्रका प्रमुख कार्यहरु, डिप बोरिङ, फिल्टर, पाइप विस्तार, संरचना मर्मत, ए.डी.बी.बाट योजनाका थप सुधार र विस्तार, संघीय खानेपानी तथा ढल निकासबाट हुने कार्य, संस्थाको हालसम्मको संरचना विवरण, कर्मचारीको दरबन्दी तथा कार्यरत अवस्था, विभिन्न उपसमितिहरु गठन र आगामी वर्षका नीति तथा कार्यक्रमहरु प्रतिवेदनमा समेटिएको संस्थाका अध्यक्ष रवि न्यौपाने खत्रीले जानकारी दिए ।
कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष न्यौपानेले सकेसम्म सहुलियत र सरल सेवाका साथै स्वछ पिउने पानीको ब्यवस्था गर्न समिति लागिपरेको जानकारी दिए । उनले समितिले निर्वाचनताका गरिएका प्रतिवद्धता अनुसार नै आफूहरुले काम गरिरहेको बताए ।