:– राधिका ओझा –:
वर्तमान समय चौथो औद्योगिक क्रान्तिको युग हो, जसले डिजिटल प्रविधिमार्फत मानव जीवनलाई व्यापक रूपमा रूपान्तरण गरेको छ।
इन्टरनेट, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब), स्मार्टफोन तथा विभिन्न अनलाइन सेवाहरूको तीव्र विस्तारले दैनिक जीवनको अपरिहार्य अङ्ग बनेको छ । यसले रोजगारी सिर्जना र आर्थिक अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ, विशेषगरी महिलाहरूका लागि अनलाइन व्यवसाय, फ्रीलान्सिङ, डिजिटल मार्केटिङ, ई(कमर्स तथा सूचना प्रविधिसम्बन्धी कार्यहरूले नयाँ सम्भावनाका क्षेत्र खोलेका छन् र घरमै बसेर आय आर्जन गर्न सकिने अवसरहरूले उनीहरूको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पारेको छ । साथै, युवाहरू रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका सन्दर्भमा डिजिटल प्लेटफर्महरू दैनिक संवाद, अनुभव आदानप्रदान, चाडपर्व मनाउने तथा ज्ञान र संस्कृतिको आदानप्रदानका महत्वपूर्ण माध्यम बनेका छन्। यसरी रोजगारी र आय आर्जनका अवसरहरू विस्तार हुँदा आत्मनिर्भरता बढ्छ र सामाजिक जिम्मेवारी तथा सकारात्मक गतिविधिमा संलग्नता वृद्धि भई अपराधतर्फको झुकाव घट्छ ।
तर, डिजिटल प्रविधिको दुरुपयोगले साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढाएको छ। ज्ञानको अभाव र गलत उद्देश्यले प्रविधिको प्रयोग गर्दा अनलाइन ठगी, ह्याकिङ, फेक आइडी निर्माण, डाटा चोरी, ब्ल्याकमेलिङ जस्ता अपराधहरू बढिरहेका छन्। नेपालमा महिलाविरुद्ध हुने साइबर अपराध दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।
फेसबुक, टिकटक, ह्वाट्सएप र टेलिग्राममार्फत महिलालाई लक्षित गर्दै अश्लील टिप्पणी, फोटो दुरुपयोग तथा मानसिक उत्पीडन गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार दैनिक औसत ५० भन्दा बढी उजुरी दर्ता हुने गरेका छन् भने सन् २०२४ मा करिब १९ हजारभन्दा बढी केस दर्ता भएका छन्।
यस्ता अपराधहरूले महिलाको मानसिक स्वास्थ्य, सामाजिक प्रतिष्ठा र आत्मविश्वासमा गम्भीर असर पार्ने गरेका छन्, विशेषगरी बेरोजगारी र आर्थिक निर्भरता भएका महिलाहरू अझ बढी संवेदनशील हुने भएकाले शोषण र दुव्र्यवहारको चक्रमा पर्ने जोखिममा रहन्छन् ।
यस समस्याको दिगो समाधानका लागि रोजगारी सिर्जना प्राथमिकता दिनु अत्यावश्यक छ। सीपमूलक तालिम, डिजिटल साक्षरता, उद्यमशीलता विकास तथा स्वरोजगारका अवसरहरू विस्तार गर्नुपर्छ । साथै, साइबर अपराधविरुद्ध कडा कानुनी व्यवस्था, प्रभावकारी अनुगमन तथा जनचेतना कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ।
विद्यालय, क्याम्पस तथा कार्यस्थलहरूमा सुरक्षित डिजिटल प्रयोगसम्बन्धी शिक्षा अनिवार्य गरिनु आवश्यक छ। जब व्यक्तिहरूलाई सम्मानजनक रोजगारी र स्थायी आयका अवसर उपलब्ध हुन्छन्, तब उनीहरू अपराधतर्फ आकर्षित हुने सम्भावना स्वाभाविक रूपमा घट्छ। त्यसैले सुरक्षित, सभ्य र समावेशी डिजिटल समाज निर्माणका लागि रोजगारीलाई दीर्घकालीन र प्रभावकारी समाधानका रूपमा अघि बढाउनु अपरिहार्य देखिन्छ ।