पंकज दाहाल (गोरखाबाट)
गोरखा\राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको तेस्रो बैठक गोरखको हिमालयन होटलमा सोमबार सम्पन्न भएको छ । बैठकमा विभिन्न निर्णय गरी समापन भएको हो । बैठकको निर्णयअनुसार देशका ४ वटा प्रदेशमा अन्तरपुस्ता दूरी पहिचान सहित बुढ्यौली शिक्षा बारे सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । यस्तो कार्यक्रम महासंघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा यसै वर्ष आयोजना गर्ने भएको हो । महासंघको यही मंसिर १५ गते गोरखामा बसेको केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । यस्तो कार्यक्रममा ज्येष्ठ नागरिक, अभिभावक र कक्षा ११ र १२ का विद्यार्थीहरुलाई एकै ठाउँमा भेला पारेर अन्तरपुस्ता र बुढ्यौली शिक्षा प्रदान गरिने छ । ज्येष्ठ नागरिक मन्त्रालय संगको सहकार्य र समन्वयमा कार्य विभाजन गरी उल्लिखित प्रदेशहरुमा ठाउँ तोकेर सचेतनामूलक अन्तरक्रिया गरिने तयारी भइरहेको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले जानकारी गराउनु भएको छ । महासंघले विगतका वर्षहरु देखि नै संघ, प्रदेश र स्थानीय तहका सरकारहरु संगको सहकार्यमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ । नयाँ पुस्ता र पुरानो पुस्ता बीचको सोचाई, विचार र व्यवहारमा आधुनिक युग र सूचना प्रविधिको तीव्र विकास संगै द्वन्द्व र दूरी बढीरहेको अवस्थामा त्यसलाई अन्तरघुलन र सद्भाव साथै सम्मानपूर्ण व्यवहारका साथ व्यवस्थापन गर्न यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास गरिएको छ ।
अन्तरपुस्ता दूरी पहिचान, ज्ञान, सीप र अनुभव हस्तान्तरण तथा बुढ्यौली शिक्षाको आवश्यकता बोध गरी सम्वन्धित संघीय मन्त्रालय संगको सहकार्यमा यस्तो कार्यक्रम तय गरिएको हो । प्रदेश अनुसार कार्यक्रमको मिति भने पछि तय गरिने महासंघले जनाएको छ । गोरखामा भएको बैठकमा महासंघको आफ्नै जग्गा प्राप्ति र भवन निर्माणका लागि सरकार संग पहल गर्ने, ज्येष्ठ नागरिकका विभिन्न गतिविधिको प्रचार प्रसारमा जोड दिने र आर्थिक रुपले सबल र सक्षमा बनाउन सहकारीको अवधारणालाई ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यान्वयनमा ल्याउने कुरामा विशेष जोड दिनु पर्ने आवश्यकता रहेको महासंघका अध्यक्ष श्रेष्ठले बताएका थिए ।
महासंघको सो बैठकले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक वजेट तथा कार्यक्रम सम्वन्धमा कोषाध्यक्ष केदारनाथ तिमिल्सिनाले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको छ । साथै आगामी पुष ११ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय संगको सहकार्यमा काठमाण्डौमा भव्यरुपमा पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने र मातहतका प्रदेश तथा जिल्ला र स्थानीय पालिकाहरुमा पनि सो दिवस मनाउन निर्देशन दिने निर्णय समेत गरेको छ । विभिन्न दाताहरुको सहयोगमा महासंघमा रहेका अक्षय कोषको व्याज रकमबाट ज्येष्ठ नागरिक अभियन्ता, संघ संस्था, ज्येष्ठ नागरिकको क्षेत्रमा कलम चलाउने पत्रकार, असहाय ज्येष्ठ नागरिक लगायतलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने कार्यको तयारी अघि बढाउने कार्य भइरहेको छ । बैठकले महासंघको विज्ञ समिति र अध्ययन अनुसन्धान समितिलाई गाभेर सामाजिक सेवा समिति बनाउने निर्णय पनि गरेको छ ।
महासंघका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव मोहनलाल श्रेष्ठको सञ्चालनमा सम्पन्न बैठकमा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले ज्येष्ठ नागरिकका सवालमा आफूले स्थानीय तहमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै ऐतिहासिक पर्यटकीय स्थल गोरखामा बैठक आयोजना गरेकोमा महासंघलाई धन्यवाद समेत दिए । बैठकमा महासंघका केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
बैठक पछि महासंघले गोरखाका पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेको थियो । सो भेटघाटमा महासंघका अध्यक्ष श्रेष्ठले सरकार संग ज्येष्ठ नागरिक ऐन २०६३ को पूर्ण कार्यान्वयन हुनुपर्ने माग गर्दैै सरोकारवालाको ध्यानाकृष्ट गराउनु भयो । उहाँले घर, सरकारी कार्यालय र सार्वजनिक संरचनाका साथै व्यवहार समेत ज्येष्ठ नागरिक मैत्री हुनुपर्ने कुरामा जोड दिए । महासंघले राष्ट्रिय सभामा ज्येष्ठ नागरिक महासंघको तर्फबाट समेत प्रतिनिधित्व हुने गरी कोटा निर्धारण गर्नुपर्ने माग गर्दै आएको छ ।
पत्रकार भेटघाटमा महासंघकी प्रथम उपाध्यक्ष शारदा देवी चन्दले नेपालमा ज्येष्ठ नागरिकहरुको अवस्था दयनीय रहेको बताउँदै, उहाँहरुको व्यवस्थापनका लागि राज्य र सरकारले विशेष नीति र कार्यक्रम बनाएर प्राथमिकताका साथ वजेट छुट्याउनु पर्ने माग गर्नु भयो । त्यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यातायात भाडामा ५० प्रतिशत छुट र स्वास्थ्योपचारमा पनि ५० प्रतिशत छुटको कानुनी व्यवस्था कडाइका साथ लागु गर्नपर्ने उनले बताए ।