देश–समाज समाचार स्थानीय

तरकारीमा अधिक विषादी, उपभोक्ता त्रासमा

:— विमल लामिछाने —:
दमक । नेपालमा वर्षौंदेखि विषादी मिसिएका तरकारी तथा फलफूल खुलेआम भित्रिने समस्या गम्भीर बन्दै गएको छ । सीमानाकाहरूमा परीक्षण प्रयोगशाला नहुँदा उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको बारे सरोकारवाला तर्फबाट बारम्बार आवाज उठ्दै आएपनि स्थानीय उत्पादनमा समेत अधिक विषादी भेटिन थालेपछि उपभोक्ता संकटमा पर्दै आएका छन् ।
केहीदिन अघिमात्रै दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको थियो । दमक बजार अनुगमन समितिले गरेको अनुगमनमा यस्तो विषादी भएको साग भेटिएपछि दमक बजारका उपभोक्ता सब्जी किन्न डराउन थालेका छन् । तर अरु विकल्प नभएपछि भगवान भरोसा भन्दै सब्जी किन्नुपर्ने अवस्था श्रृजना भएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बिर्तामोडमा भएको परीक्षण अनुसार दमकबाट अघिल्लो सोमबार सङ्कलन गरिएको रायोको सागमा कार्वामेट ७८.४९ प्रतिशत र अर्गानो–फस्फेट ९९.२६ प्रतिशत भेटिएको थियो । मोरङको भाउन्ने क्षेत्रबाट यो साग ल्याइएको पाइएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताइन् ।
उक्त क्षेत्रबाट साग नल्याउन दमकको सब्जी बजारका व्यापारीहरुलाई सचेत गराइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए । तर अहिले पनि बजारमा विषादीसहित सब्जी हो भनेर ढुक्कले किन्ने अवस्था नभएको उपभोक्ताको गुनासो छ ।
दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले भनिन्, ३५ प्रतिशतभन्दा कम विषादी देखिएमा यो खानका लागि सामान्यतया मानिन्छ, तर यहाँ अधिक विषादी पाइयो । चिकित्सकहरुका अनुसार यस प्रकारका विषादीहरुको प्रयोग बढ्दै जाँदा स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्न सक्छ । विषादी शरीरमा प्रवेश गरेपछि टाउको दुखाई, बान्ता, चक्कर, पसिना अत्यधिक आउने, धड्कन अनियमित हुने जस्ता लक्षण देखिन सक्ने जनाइएको छ । दीर्घकालीन रूपमा कलेजो–मृगौला क्षति, प्रजनन समस्या, स्मरण शक्ति कमजोर हुने र क्यान्सरसम्मको जोखिम बढ्ने भएकाले सबैले सचेतना अपनाउनु पर्ने उनको भनाइ छ ।
पछिल्लो समय बान्ता हुने, शरिर थकान हुने र टाउको दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको दमकस्थित लाइफ लाइन अस्पतालका डाक्टर सूर्यनारायण शाहले बताए ।
स्वास्थ्यमै प्रत्यक्ष असर पार्ने विषय भएकाले परीक्षण पद्धति, उपकरण र विशेषज्ञता जति उच्चस्तरको हुन्छ, त्यति नै उपभोक्ता सुरक्षित हुन्छन् भन्ने मन्तव्य हो । नेपालको कानुनले संघ, प्रदेश र स्थानीय तहलाई समानरूपमा जिम्मेवारी तोकेको हुँदा अदालतको आदेशले अब तीनै तहका सरकारलाई समान रूपमा काम गर्न बाध्य बनाएको छ । संघीय सरकारले ‘यो अधिकार प्रदेशको हो’ भन्दै उम्किन पाउने छैन, त्यस्तै प्रदेश वा स्थानीय सरकारले ‘यो संघको जिम्मा’ भन्दै पन्छिन पनि सक्दैनन् । खाद्यसुरक्षा अब साझा दायित्वको विषय बनेको भएपनि दमक नगरपालिकाले दिनानुदिन सब्जी परिक्षण गर्ने प्रयोगशाला नहुँदा थप समस्या हुँदै गएको जनाएको छ ।
अदालतले नेपालमै उत्पादन हुने तरकारी तथा फलफूलमा पनि विषादी परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । किसानहरूले छिटो उत्पादनका लागि र कीट नियन्त्रणका नाममा अनियन्त्रित विषादी प्रयोग गर्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । विषादीका नकारात्मक असरबारे शिक्षा नपाएका किसानले अनजानेमै उपभोक्ता स्वास्थ्यलाई जोखिममा पारिरहेका छन् । किसानसँगै स्थानीय तहले कृषि विस्तार सेवा मार्फत ज्ञान, प्रशिक्षण र जैविक विकल्पबारे सचेतना फैलाउनु जरुरी देखिन्छ ।
स्थानीय सरकारहरूले आपसी समन्वय, वैज्ञानिक विधि, आधुनिक प्रविधि र कडाइका साथ कार्यान्वयन सुरु गरे भने विषादी आतंकबाट मुक्त, सुरक्षित र गुणस्तरीय खाद्य प्रणाली निर्माण नगर्ने हो भने सर्वसाधारणले सुरक्षित तरकारी तथा फलफूल पाउने अपेक्षा गर्न सकिने अवस्था छैन ।

Author

You may also like