दमक । दमक क्षेत्रलाई कर्मथलो बनाएका प्राध्यापक तथा विद्वान मोहन भण्डारी यस वर्षको भवानी–पद्म पुरस्कारबाट बिहीबार सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार तोया गौतमको अध्यक्षतामा रहेको सो पुरस्कार संस्थापक परिवारले २०७४ सालदेखि कोरोना कालका वर्षमा बाहेक प्रत्येक वर्ष विभिन्न व्यक्तित्वलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो परिवार तथा गौतम कुलवंश प्रतिष्ठानले आयोजना गरेको गौतम कुलपूजा तथा पुरस्कार अर्पण समारोहमा प्राध्यापक भण्डारीलाई प्रतिष्ठानका संरक्षक ९३ वर्षीय समाजसेवी पण्डित भवानीप्रसाद गौतमले पुरस्कार राशीका साथै सम्मान–पत्र प्रदान गरे । यसैगरी पुरस्कृत व्यक्तित्वलाई आयोजकहरूले दोसल्ला र माला समेत लगाइदिएर सम्मान गरेका छन् ।
प्राध्यापक भण्डारीले मोफसलमा रहेर पनि ‘प्राच्य–विज्ञान अनुसन्धान संस्थान’ स्थापना गरी आध्यात्मिक र भौतिकवादी दर्शनसम्बन्धी प्रचलित भ्रम तोड्दै यी आपसमा परिपूरक हुन् भन्ने दर्शन अगाडि सार्ने प्रशंसनीय कार्य गरेका छन् । वेदमा उल्लिखित विज्ञान र आधुनिक विज्ञानबीचको तादात्म्यता अन्वेषणमा कार्य गरेका छन् ।
यसैगरी गहनतम ‘ऋतम्भरा’ महाकाव्यका साथै विभिन्न कृतिहरू रचना गरी नेपाली साहित्य, संस्कृति र वैचारिक जगतमा योगदान दिएका छन् । उनले आप्mनो जीवनका ३५ ऊर्जाशील वर्षहरू प्राध्यापन सेवामा अर्पण गरी हजारौँ विद्यार्थीहरूलाई ज्ञान बाँड्दै आएका छन् । गौतमवंशका कुलदीपक मानिएका पण्डित भवानीप्रसाद गौतमसँग मिलेर ‘अद्वैत–विचार’ प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान रहेको पुरस्कार संस्थापक परिवारले बताएका छन् प्राध्यापक भण्डारी अहिले पनि ‘अद्र्धनारीश्वर’ नामक गहनतम् कृतिको रचनामा सक्रिय रहनु भएको छ ।
गौतम कुलवंश प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा दमक–१० मा रहेको गौतम कुल मन्दिरमा सम्पन्न कार्यक्रममा प्राध्यापक भण्डारीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
समारोहमा सम्मानित व्यक्तित्व भण्डारीले यस पुरस्कारबाट आपूmलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै गौतम परिवारप्रति आभार व्यक्त गरे ।
समारोहमा प्राध्यापक मोहन भण्डारीको व्यक्तित्वमाथि दमक क्याम्पसका प्राध्यापक भूमिप्रसाद दाहालले प्रकाश पार्दै वहाँले दमक क्षेत्रमा रहेर दिएको योगदानको चर्चा गरे ।
नेपालमा आमजनस्तरबाट पनि विभिन्न जाति र समुदायले आ–आप्mनो वंशको ऐतिहासिक तथा सांस्कृतिक पहिचान एवम् पुस्ता नम्बर सहितको वंशावली तयार पार्नुपर्दछ भन्ने मान्यता विकास गरेका भवानीप्रसाद गौतम तथा उनकी धर्मपत्नी पद्मकुमारी गौतमको नाममा सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार संस्थापक परिवारले जनाएअनुसार अन्वेषक भवानीप्रसाद गौतमले कठिन अन्वेषण कार्य गरी २०१५ सालमै गौतम वंशावली प्रकाशन गरेका थिए । उनले ताप्लेजुङ जिल्लाको अतिदूर्गम फाखुम्बा क्षेत्रमा करिब ७५ वर्ष अगाडि समाजका सबै जातजाति र समुदायमा शैक्षिक जागरण ल्याएको, सथानीय समुदायको अगुवाई गर्दै विद्यालय स्थापना र सामुदायिक सञ्चारको माध्यमका रूपमा ‘पट्याँस–पत्रकारिता’ शुरु गरेका थिए । दिवंगत कम्युनिष्ट नेता मदन भण्डारीलाई समेत केही समय प्रारम्भिक शिक्षा प्रदान गरेका गौतमले २०२६ सालदेखि २०४३ सालसम्म झापाको दमक क्षेत्रमा समेत विभिन्न विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकको रूपमा काम गरेका थिए ।