देश–समाज राजनीति

स्थानीय तहको निर्वाचन चैत्रमा

पूर्वसन्देश समाचार

दमक / स्थानीय चुनाव आउन अब तीन महिनामात्रै बाँकी रहँदा निर्वाचन आयोगले आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसँग सिफारिस गरेको छ । निर्वाचन आयोगले आगामी चैत्र ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन प्रधानमन्त्री देउवाले आयोगलाई दिएका छन् ।

यसैबीच स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ । स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले बताएको हो । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् । यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर स्थानीय चुनावभन्दा अगाडि नै संघ र प्रदेशको चुनाव गर्ने हो भने फागुन अगाडि नै संसद् विघटन गरेर चुनाव गरिसक्नु पर्छ । फागुनमा आम चुनाव गरेर वैशाख–जेठमा सम्भव भएसम्म तीनै तहको चुनाब एकै पटक गरे राम्रो हुने निर्वाचन आयोगले भनेको छ ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ ।

संविधानको व्यवस्था अनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो । प्रदेशका १८ र प्रतिनिधिसभाका ४ सांसदको पनि पद रिक्त रहेकाले ती पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । राष्ट्रियसभाको कार्यकाल सकिनु ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था भएकाले आयोगले माघ पहिलो साताका लागि चुनावको मिति प्रस्ताव गरेको हो ।

सरकारसँग ३० करोड माग

निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ । त्यसका लागि मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिको जरुरी हुन्छ । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि यो कार्यले गति लिने आयोगको भनाइ छ ।

You may also like