देश–समाज विचार/वहस स्थानीय

नेपालमा हिमताल विस्फोट, बाढी र भविष्यका चुनौतीहरू

गतवर्ष भदौ महिनाको २३ गते नेपालमा भएको जेन्जी विद्रोहले थिलथिलो पारेको नेपालको अर्थतन्त्रलाई दशौँ वर्ष पछाडि धकेली दिएको इतिहास र सन्दर्भलाई सम्झिँदा हिजो अस्ति २०८३ साल भदौ १० गते मात्र नेपालको उत्तर तिरको हिमाल पारी रहेका छिमेकी देश चिन तिब्बतको सिन्चियाङ प्रदेशमा रहेको न्यूरोङ सहरको एक किलोमिटर लम्बाइ भएको ग्लेसियर अर्थात् हिमताल विस्फोट भई ओभरफ्लो हुँदा नेपालतिर बग्ने भोटेकोशी नदीमा आइपुगेपछि बाढीको प्रचण्ड र डरलाग्दो रूप धारण गरी हुइकिएर नेपालको रसुवा जिल्लाको रसुवा नदीमा पुग्दा र दक्षिण दिशातिरको बाटोमा झर्दा दशौँ हजार मानिस बाढीको चपेटामा परी ज्यान गुमाउनु परेको अवस्था र सम्भावनालाई केलाउन थालिएको छ । नेपालकै इतिहासमा देखिने अकल्पनीय र सबैभन्दा ठूलो विपत्तिको रूपमा देखापर्ने यसपालिको नेपालको बाढीले नेपाललाई मात्र होइन विश्वलाई नै अत्यन्त दुखित र चिन्तित तुल्याइदिएको छ ।अहिलेसम्म ६२६ जना मृतकहरूको लासलाई पहिचान गर्नको लागि प्रशासनले सूचनाहरू जारी गरिसकेको छ । सरकारी तथ्यांकमा २४२६ जना भन्दा बढी मानिस हरू सम्पर्कविहीन अवस्थामा रहेका छन् । करिब चार हजार जति मानिसहरूलाई जीवितै उद्धार गरिएको छ । भोटेकोसी नदीको बाढीले त्रिशुली नदीसम्म आइपुग्दा बाढीको चरम भयावह विनाशकारी ध्वंस र बर्बादी जत्रतत्र देख्न सकिन्छ ।
त्रिशुली बजार पूर्णरूपमा ध्वस्त भइसकेको छ । नेपाल चीन बीचको केरुङ नाका चिन्न लायक छैन । मानिसहरू हराइरहेका छन् । नवलपरासी , धादिङ,रसुवा बजारका सबै घरहरू बगाइ सकिएको छ । बाढीमा ज्यान गुमाउनेहरू तथा बाढीबाट हराइरहने परिवारहरूको दुःख दर्द र पीडालाई शब्दबाट व्यक्त गर्न कठिन छ । यतिखेर देश अत्यन्त नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । नेपालका युवा प्रधानमन्त्री बालेन्द्र शाहले बाढी पीडितहरूको लागि राहत र सहयोग पुर्याइदिने माग गरिरहेका छन् । प्रधानमन्त्री राहत कोषमा देश र विदेशबाट अर्बौं रुपैयाँको आर्थिक सहयोग पुर्याइ सकेको अवस्था छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायबाट समेत आर्थिक सहयोगको माग गरेको हुनाले नेपालका बाढी पीडितहरूको लागि विश्वका ठूला मुलुक हरुबाट सहयोगको लागि आश्वासनहरू आइरहेको छ । नेपालका बाढी पीडितहरूको लागि सबभन्दा पहिला भारतका प्रधानमन्त्री, नरेन्द्र मोदी भारतका गृहमन्त्री अमित शाह विदेशमन्त्री एस जयंकरले तथा भारतीय जनता पार्टीका अध्यक्ष नितीन नवीनले समेत पहल र आश्वासन गरिरहेको अवस्थामा भारतबाट विभिन्न किसिमका राहत र उद्धार सामग्रीहरू आउने कार्यहरूको पनि थालनी भइसकेको छ । परि आएको बेलामा जस्तोसुकै सहयोग गर्न तयार रहेको भनेर भारतीय प्रधानमन्त्रीले आफ्ना समकक्षी नेपाली प्रधानमन्त्री लाई विश्वास दिलाउनु भएको छ ।
नेपालको बाढी पीडितहरूको लागि हरेक तरहले सहयोग पु¥याउने बाचा चीन सरकारले पनि गरेका छन् । बाढीको दुखद अवस्था बेहोरिरहेका बाढी पीडितहरूको उद्धार र सेवा कार्यमा अझ द्रुत गतिले नेपाली सेना र नेपाल प्रहरीले योगदान दिइरहेको छ । जुनसुकै र जस्तोसुकै मोर्चामा पनि नेपाल प्रहरी र नेपाली सेना देशको जनताको सेवा गर्न तत्पर छ भन्ने कुराको पुष्टि भइसकेको छ । २०७२ सालको भूकम्पको बेला जस्तै २०८३ सालको महाविनाशकारी बाढीको संकटापन्न अवस्थामा नेपाली सेना र नेपाल प्रहरीको पनि कठिन परीक्षाको घडी आएजस्तो छ । विश्वको सबैभन्दा अग्लो तिब्बतको पठारी क्षेत्रबाट नेपालको तल्लो दक्षिणी प्रदेशहरू हुँदै भारततिर बग्दै जाने त्रिशुली नदी जसलाई भारतीय क्षेत्रमा गण्डक नदी भनेर भनिन्छ त्यहाँसम्म पनि बाढीको त्रास चिन्ता र चासो बढेर गएको छ । त्रिशुली नदीसँग जोडिएका भारतका अन्य सबै नदीहरूका आसपासका बस्तीहरूलाई पूर्णरूपमा खाली गराइएको छ । नदी वरिपरिका क्षेत्रहरूमा भारतीय सेना र एनडीआरएफका सुरक्षा निकाय लगायतका अन्य सुरक्षा निकायहरूको बलियो प्रबन्ध मिलाइएको छ ।
अहिले नेपालतिरबाट बगेर जाने काठ पात लगायत मानिस र जनावरहरूका मृत शरीरहरू पनि भारतीय सेनाका बीएसएफका जवानहरूले नदीबाट निकालेर नेपाल सरकारलाई जिम्मा लगाउने कुराहरूको प्रबन्ध मिलाइरहेको अवस्था छ । केही मानिसहरूको लास समेत भेटिएकोले नेपालका सिमावर्ती भारतका बिहार राज्यका सुरक्षा संयन्त्र र प्रहरी प्रशासनहरू पनि अझ सतर्क भएर नदीहरूमा बगिरहने चिज वस्तुहरूको अनुगमन गरिरहेको छ । नेपालको रसुवा बजार बेत्रावती बजार, देवघाट त्रिशुली बजार पूर्णरूपमा ध्वस्त भइसकेको छ । आर्थिक गतिविधिका सबै सम्भावनाहरू त्यहाँ समाप्त भइसकेको जस्तो आभास हुन्छ । ती क्षेत्रहरूका बासिन्दाहरू कहाँ गए कुन अवस्थामा छन् भन्ने कुरासम्म पनि पत्ता लगाउन जनसाधारणमा अत्यन्त नै गाह्रो भइरहेको छ ।
चीनको हिमताल विस्फोट हुँदा नेपाल ध्वस्त हुने र भारत तहसनहस सक्ने अवस्थाले यस क्षेत्रको भौगोलिक अवस्था, भू जटिलताको अवस्था, अन्तर्देशीय राजनीतिको फरक फरक भूगोलको अवस्थालाई मात्र प्रस्ट्याउँदैन, यस्ता घटनाहरूले यस क्षेत्रकै एउटा दीर्घकालीन नदी नियन्त्रण गर्ने साझा नीति हरू बनाउनुपर्ने आवश्यकतालाई प्रस्ट्याउँदछ । विश्वकै सबैभन्दा बढी उचाइमा रहेको हिमताल विस्फोट हुन्छ र त्यसको पानी तिब्बतबाट बग्दै भोटेकोशी हुँदै त्रिशुली र गण्डक नदीमा प्रवेश गर्दछ र तीन तीन वटा देशमा त्यसले जनधनको अपार क्षति गराउन सक्छ भन्ने कुरालाई अहिलेसम्मको पुस्तालाई कुनै जानकारी थिएनन् होला तर यसपालिको बाढीले सबैको आँखा खोलिदिएको छ । चीन सरकारले अहिले पनि हिमताल फुट्ने खतरा टरेको छैन भनेर जानकारी गराइरहेको छ । हिमतालमा अझ ३० मिलियन क्युसेक पानी जम्मा भएर बसेको छ र त्यो पानी कुनै पनि बेला विस्फोट भएर दक्षिण दिशातिरको नदीहरूमा बगेर जान सक्छ भन्ने कुरालाई नेपाल सरकार तथा भारत सरकारलाई पनि जानकारी गराइरहेको अवस्था छ । अहिले चीनको तिब्बत र नेपालको रसुवालाई जोड्ने पुल ध्वस्त भइसकेको छ नेपालतिरको केरुङ बोर्डरमा रहेको चीनको भन्सार कार्यालय ध्वस्त भइसकेको छ ।सडक मार्ग सहज छैन ।
चीन एउटा अत्यन्तै नै शक्तिशाली कम्युनिस्ट मुलुक भएको हुनाले चीनले आफ्ना आर्थिक नोक्सानीहरुलाई सजिलै भरपाई गर्न सक्छ तर चीनकै कारणले नेपालमा भएको नोक्सानीलाई नेपाल सरकारले क्षतिपूर्ति गर्नु असम्भव छ यसको लागि अन्तर्राष्ट्रिय बहस नै चलाउनुपर्ने आवश्यकता लाई औल्याउन सकिन्छ । नेपालको सिमाना नजिकै रहेको तिब्बतमा ग्लेसियर फुटेर आधी घण्टाको अन्तरालमा साविक भन्दा नौ गुनाले पानी बढेको र करिब ९ मिटर उचाइमा पानी बेजोड गतिले नेपालतिर बगेर आउनु लाई सामान्य घटना मान्न सकिँदैन । चीन सरकारले ठीक समयमा जानकारी गराएको भए नेपाल पक्षतिर यति ठूलो महाविनाश हुने थिएनन्  ।९ मिटर को उचाइमा नौ हजार एक सय अठासी फिटभन्दा माथिको उचाइबाट पानी नदीहरूमा झर्नुलाई नै अकल्पनीय अवस्था मान्न सकिन्छ । नेपालको राजधानी काठमाडौँको तराई जोड्ने सम्पर्क पुलहरु ध्वस्त भइसकेको छ । नेपालमा मुस्ताङ र मुक्तिनाथको यात्रामा निक्लेका स्वदेशी र विदेशी तीर्थयात्रीहरू बाढीको बिजोगमा परेर हराइरहेका छन् ।
विश्वका कैयौँ देशका पर्यटकहरु बाढीमा हराइरहेको अवस्था छ । सरकारले माटोमुनि पुरिएका मानिसका लासहरू पत्ता लगाउन र निकाल्न कठिन भइरहेको छ । नागरिकहरूमा एकातिर अथाह वेदना र कष्ट छ, आफन्त गुमाएको पीडा छ भने सरकारप्रति आक्रोश पनि रहेको छ  । राहत र उद्धारमा ढिलाई भइरहँदा पीडित पक्षहरू अझ पीडित भइरहेका छन् । त्रिशुली जलविद्युत परियोजना पूर्णरूपमा ध्वस्त भइसकेको छ । सबै बाढी पीडितहरूको उद्धार गर्न र बाढीबाट प्रभावित व्यक्तिहरू तथा मृतकहरूको सङ्ख्या र हराइरहेका मानिसहरूको सङ्ख्या यकिन गर्न हप्ता जति लाग्न सक्छ ।
सरकारले अहोरात्र खटेर काम गरी रहेको छ । विभिन्न मुलुकहरूबाट प्राप्त भएका वैदेशिक सहयोगहरूलाई उचित तरिकाबाट पीडित पक्षसम्म बितरण गर्नु पर्दछ तथा घरविहीन बन्न पुगेकाहरूको लागि घर निर्माण तथा उद्योग व्यापार र उत्पादन गुमाएका व्यवसायीहरूलाई पनि व्यवसाय सञ्चालन गर्न सरकारले हौसला प्रदान गर्न सक्नुपर्दछ । बिरामी र घाइतेहरूलाई उपचार र तथा बाढी प्रभावितहरुलाई अविलम्ब खानेकुराको प्रबन्ध सरकारले मिलाउनु पर्दछ । बाढीमा परेर ज्यान गुमाउनु पुगेकाहरुको आत्माले शान्ति पाउन तथा उनका परिवार र आफन्तजनहरुलाई धैर्य धारण गर्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरून् भनेर हार्दिक शोक र संवेदना व्यक्त गर्दछु  ।

Author

You may also like