२०८३ भाद्र १० गतेका दिन नेपाल(तिब्बत सीमाक्षेत्रका लागि एउटा अकल्पनीय प्राकृतिक विपत्तिको दिन बन्यो । बाजा बजाएर आएको थियो त्यो दिन ।
त्यो दशा थियो ।
त्यो दशा हेर्दा हेर्दा मनै खिन्न भएका बेलामा पूर्व सांसद डा. आरजू राणाले २ बर्ष अघि संसदमा बोलेको कुरा संभेंm । उनले हिमनदी र हिमतालका बारेमा आँकलन गरेर भनेको कुरा आज जस्ताको तस्तै पुग्यो । फेरि केहीलाई ‘खरो’ भएर ‘उसबेला चाहिं किन नगरेको ?’ भन्ने प्रश्न आउन थाल्छ । तर विज्ञको काम ‘भनिदिने’ हो, ‘गरिदिने’ होइन । शासकले विज्ञको कुरा सुनेर देशलाई ‘बनाउने’ हो ।
उच्च हिमाली क्षेत्रबाट एकाएक पानी, बरफ, चट्टान, माटो र गेग्रानको विशाल भेल ओरालो लाग्दै नेपालको रसुवा र सिन्धुपालचोक हुँदै बग्न थाल्यो । केही क्षणमै नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् संरचना तथा सीमावर्ती पूर्वाधारहरू सखाप भए । हजारौं मानिसको ज्यान गएको र बेपत्ता भएको विवरण आइरहेका छन् ।
दुर्गम हिमाली भौगालिक अवस्था, भत्किएका सडक तथा पुल र थप बाढीको सम्भावनाले उद्धार तथा राहत कार्यलाई कठिन बनाइरहेको छ ।
यस्ता बाढीहरू त पहिले पनि आउँथे । तर ती यति बिध्वंसक पनि हुन्थेनन्, र यसको उत्पत्ति र प्रकृतिलाई लिएर बहुल व्याख्या भएको यो पहिलो घटना हो । किनभने यो यो सामान्य मनसुनी बाढी थिएन, यो त हिमालयको उच्च क्षेत्रमा सुरु भएको प्राकृतिक घटनाको शृङ्खला थियो । पानीबाट सुरु भएको नभएर पहाडबाट सुरु भएको विपत्ति हो यो । वैज्ञानिक तथा सञ्चारमाध्यमहरूका विवरणले घटनाको तत्कालीन कारण अत्याधिक मनसुनी वर्षा मात्र नभएको, र उच्च हिमालयमा ठूलो परिमाणमा हिमनदीको बरफ र वरपरको चट्टानी भाग अचानक भत्किएपछि विपत्तिको शृङ्खला सुरु भयो । बरफ, चट्टान र माटोको विशाल मात्रा ल्हेन्दे खोलाको नदी प्रणालीमा खसेपछि त्यसले नदीको बहाव केही समयका लागि अवरुद्ध ग¥यो । अनि पानी जम्मा हुँदै गयो र एउटा अस्थायी ताल निर्माण भयो । अंत्यमा अवरोध फुट्यो र सञ्चित पानीसँगै विशाल परिमाणमा बरफ, चट्टान, हिलो तथा गेग्रान अत्यन्त तीव्र गतिमा तलतिर बग्यो । यसरी उत्पन्न भएको भेल ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीतर्फ तीब्र गतिमा फैलियो ।
हिमनदी भत्किनु, नदी थुनिनु, ताल बन्नु र ताल फुट्नु एकअर्कासँग जोडिएका प्रक्रिया थिए ।
विपत्तिपछि अर्को प्रश्न पनि उठ्यो–के यस घटनाको पछाडि भूकम्प थियो ? घटनास्थल आसपास भूकम्पीय संकेत देखिएपछि भूकम्पका कारण हिमनदी भत्किएको हुन सक्ने अनुमान गरिएको थियो । चीनको प्रतिकृया पनि यस्तै यस्तै खाले आयो ।
तर संयुक्त राज्य भूगर्भ सर्वेक्षण संस्था ९ग्क्न्क्० को पछिल्लो विश्लेषणले फरक तस्वीर प्रस्तुत गरेको छ । उक्त अध्ययन अनुसार, पहिचान गरिएको भूकम्पीय संकेत ठूलो पहिरो तथा हिमनदी–चट्टान भत्किँदा उत्पन्न भएको थियो । अर्थात्, भूकम्पले हिमनदी भत्काएको होइन; हिमनदी तथा चट्टानको विशाल भत्काइले नै भूकम्पीय ऊर्जा उत्पन्न गरेको थियो । घटनाबाट उत्पन्न भूकम्पीय संकेत करिब ५.२ परिमाणको भूकम्पसँग तुलनीय रहेको बताइएको थियो ।
अव चेत खुल्नु पर्ने हो । यदि भूकम्प मुख्य कारण हो भने भूकम्पीय जोखिमलाई प्राथमिकता दिनुपथ्र्यो नि त । तर हिमनदी–चट्टान भत्काइ, नदी अवरोध र हिमताल फुट्नु मुख्य प्रक्रिया भएको अवस्थामा हिमनदी तथा हिमतालको निरन्तर निगरानी किन भएन ? चीनले समेत किन सचेतना अपनाएन ?
यस घटनाको प्रत्यक्ष कारण जलवायु परिवर्तन नै हो भनेर वैज्ञानिकहरूले अन्तिम निष्कर्ष भने निकालिसकेका छैनन् । तर हिमालयमा बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव यस घटनाको सन्दर्भमा घनिष्ट छ ।
हिमालय तीव्र रूपमा तातिरहेको क्षेत्र हो । तापक्रम बढ्दा हिमनदी पग्लिने गति बढ्छ । त्यससँगै उच्च हिमाली क्षेत्रमा जमेको स्थायी भूभाग–पर्माफ्रस्ट(कमजोर हुन सक्छ । यसले चट्टानी ढलानको स्थायित्वलाई खलल पु¥याउँछ । अनि पहिले स्थिर रहेका पहाडी संरचनाका चट्टान खस्ने, पहिरो जाने र हिमनदी भत्किने कर्म सुरू हुन्छ । यसैलाई वैज्ञानिकहरूले ‘क्यास्केडिङ हाजार्ड’ अर्थात् शृङ्खलाबद्ध प्राकृतिक जोखिम भनेका हुन् ।
यो प्रकृया साँच्चै होः तापक्रम बढ्नु – हिमनदी अस्थिर हुनु – हिमनदी तथा चट्टान भत्किनु – नदी थुनिनु – अस्थायी ताल बन्नु – बाँध फुट्नु – विनाशकारी बाढी आउनु ।
यसरी एउटा प्राकृतिक परिवर्तनले अर्को जोखिम सिर्जना गर्छ र अन्ततः धेरै ठूलो विपत्ति निम्त्याउँछ । त्यसैले यो घटनालाई केवल ‘बाढी’ भन्नु हुँदैन, यो उच्च हिमाली क्षेत्रमा उत्पन्न भएको बहु(जोखिमयुक्त प्राकृतिक विपत्ति हो ।
प्राकृतिक घटनाको शक्ति मात्र होइन, हिमालयको भौगोलिक संरचनाले पनि क्षति बढाएको छ अचेल । ल्हेन्दे खोला र भोटेकोशीजस्ता नदीहरू साँघुरा तथा भिराला उपत्यकाबाट बग्छन् । यस्तो सीमित भूभागमा एकैपटक ठूलो परिमाणमा पानी र गेग्रान प्रवेश गर्दा त्यसको वेग र विनाशकारी शक्ति अत्यन्त बढ्छ ।
यसपटक आएको भेल पानी मात्र थिएन । त्यसमा विशाल ढुङ्गा, चट्टान, बरफ, माटो र गेग्रान मिसिएको थियो । यस्तो भेलले पुल उखेल्न र बगाउन, सडक बगाउन, भवन पुरिन र जलविद्युत् संरचनामा क्षति पु¥याउन निमेष लाग्दैन । अनि यससँगै अर्को मानवीय कमजोरी पनि जोडिएको छ(नदी किनारमा बढ्दो पूर्वाधार निर्माण र बसोबास ।
सडक, पुल, जलविद्युत् आयोजना, बस्ती र पर्यटन संरचनाहरू नदी उपत्यकामा विस्तार भइरहेका छन्। विकास आवश्यक छ, तर जोखिमको पर्याप्त मूल्यांकन नगरी गरिएको विकास भविष्यमा विपत्तिको संवेदनशील केन्द्र बन्छ ।
नेपाल उच्च हिमाली प्रणालीबाट उत्पन्न हुने धेरै नदीको तल्लो क्षेत्रमा अवस्थित छ । हजारौँ मानिसको जीवन र जीविकोपार्जन यिनै नदीहरूसँग जोडिएको छ । तर उच्च हिमाली क्षेत्रमा प्रत्यक्ष निगरानी गर्न जाँगर र साधन दुबै छैन ।
त्यसैले नेपालले अब हिमनदी र हिमतालको निगरानीलाई विपद् व्यवस्थापनको केन्द्रमा नराखी धरै छैन । उपग्रह प्रविधि, रिमोट सेन्सिङ, स्वचालित जलस्तर मापन, सेन्सर प्रणाली, मोबाइल सूचना र स्थानीय साइरनजस्ता प्रविधिलाई एकीकृत गरेर सूचना प्रणली बनाउनु पर्छ । तर प्रविधि मात्र पर्याप्त हुँदैन । समुदायले जानकारी पाएपछि के गर्ने भन्ने पनि जान्नुपर्छ । विद्यालय, गाउँ, होटल, जलविद्युत् आयोजना, प्रहरी, सेना र स्थानीय सरकारबीच नियमित विपद् अभ्यास आवश्यक छ ।
यस घटनाले अर्को महत्त्वपूर्ण सत्य पनि देखाएको छ(प्राकृतिक विपत्तिले राजनीतिक सीमा चिन्दैन । हिमनदी एक क्षेत्रमा हुन्छ, त्यसबाट बनेको नदी अर्को क्षेत्रमा बग्छ र त्यसको प्रभाव सयौँ किलोमिटर टाढासम्म पुग्छ । अहिले यस्तै त भयो नि ।
नेपाल र चीनबीच हिमनदी, हिमताल, पहिरो, नदी अवरोध तथा सम्भावित बाढीसम्बन्धी सूचना आदानप्रदानको प्रभावकारी संयन्त्र सकृय पार्नु पर्छ । डा. आरजूले यही भनेकी थिइन् । विपद् व्यवस्थापनमा सीमापार सहकार्य अब विकल्प होइन, आवश्यकता हो ।
हिमनदीलाई भत्किनबाट रोक्न सकिँदैन । हिमालयको भूगर्भीय प्रक्रिया पनि मानिसले नियन्त्रण गर्न सक्दैन । तर यसको मानवीय मूल्य घटाउन भने सक्छ । त्यसका लागि ती क्षेत्रको वैज्ञानिक निगरानी, प्रभावकारी पूर्वसूचना, जोखिम(संवेदनशील पूर्वाधारको निर्माण, अन्तर्राष्ट्रिय सहकार्य गर्नु पर्छ । विपत्ति रोक्न नसकिए पनि मृत्यु रोक्न सकिन्छ ।
यो घटना केवल पानीको कथा होइन । यो बरफ, चट्टान, नदी, जलवायु, भूगोल र मानवीय गतिविधि संबन्धहरू एकअर्कासँग कसरी जोडिएका छन् भन्ने कथा पनि हो ।
हिमालय स्थिर छैन । यो निरन्तर परिवर्तन भइरहेको भौगर्भिक तथा जलवायुगत प्रणाली हो । त्यसैले यस क्षेत्रमा विकास गर्दा पनि हामीले प्रकृतिको परिवर्तनशीलतालाई पूर्ण ध्यान दिनुपर्छ । हिमनदी भत्किन सक्छ, पहिरो जान सक्छ, हिमताल फुट्न सक्छ, नदीले आफ्नो बाटो परिवर्तन गर्न सक्छ । यी प्राकृतिक प्रक्रियालाई मानिसले पूर्ण रूपमा रोक्न सक्दैन । तर मानिसले पूर्वानुमान गर्न, निगरानी गर्न, चेतावनी दिन र सुरक्षित हुन भने पर्याप्त सक्छ ।
हामी हिमनदीलाई भत्किनबाट रोक्न सक्दैनौँ; तर हिमनदी भत्किँदा मानिस मर्नैपर्छ भन्ने छैन । रूनै पर्छ भन्ने छैन । क्षति व्यहोर्नै पर्छ भन्ने पनि छैन ।
अबको चुनौती विपत्ति रोक्नु मात्र होइन–विपत्तिलाई मानवीय त्रासदी बन्नबाट रोक्नु हो ।
हुनत ‘लाशका टाउका पल्टाउँदै सून थुत्ने, पैसा छाम्ने र लाश पल्टाउँदै ग्यासका ट्यांकी बटुल्ने’ ‘नरपिचास’ हरूको मुलुकमा ‘कुरा ग¥यो कुरैको दुख’ मात्रै हो । कि कसो, भगीरथे काका ?
(भगीरथे काकाले जीवनभर अर्काकोमा बनी गरेर आधापेट खाएर बाँचे, तर शीरको टोपी कहिल्यै फुकालेनन् र संधैभरी बेस्सरी आवाज निकालेर हाँसे ।) आज देशले विज्ञहरू खोजेको छ । यत्ति हो ।
दमक, झापा

Author

You may also like