अर्थ देश–समाज समाचार स्थानीय

प्रेस युनियन झापाको जिल्ला अधिवेशन सम्पन्न : साझा संकल्पको विकल्प छैन : शिवाकोटी

दमक/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुधीर शिवाकोटीले मुलुक संकटमा परेका बेला सरकार पक्ष र प्रतिपक्ष नभनि सबैले साझा संकल्पका साथ सरकारलाई साथ दिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
सनिवार झापाको दमकमा नेपाल प्रेस युनियन झापाको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले भोटेकोशी नदीमा गत बुधबार आएको आकस्मिक बाढीका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेको र असिमित धनजनको क्षति भएको घटना इतिहासको दुखद् घटना भएको बताए । उनले यस्तो विषम परिस्थितिमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर मानविय भावना देखाउनुपर्ने बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले सञ्चारकर्मीहरुले मनोबल उच्च बनाएर समग्र देश र जनताको हितमा कलम चलाउन आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्धव थापाले अहिले कांग्रेस एकता र विभाजनको दोसाँधमा रहेको बेला निकट संगठनहरुभित्र भइरहेका अधिवेशनहरुले एकताको पक्षमा उभिएर पार्टीभित्र दवाव श्रृजना गर्नुपर्ने बताए । उनले झापाबाट एकताको सन्देश दिँदै प्रेस युनियनको अधिवेशन सम्पन्न गर्न आग्रह गरे ।
कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिले पछिल्लोे समय पत्रकारमाथि विभिन्न प्रश्न उठ्ने गरेको भन्दै सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै टोकरीमा राखेर नहेर्न आग्रह गरे । उनले झापामा पत्रकारको सीप, क्षमतासँगै पत्रकार अक्षय कोषलाई पनि थप गर्दै अघि बढीरहेको स्मरण गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, कांग्रस केन्द्रिय सदस्य सुरेस सुब्बा, प्रेस युनियन मातहातमा रहेको पत्रकारिता पुरस्कारको दाता परिवारको तर्फबाट मन्दरा चिमरिया पौडेल, प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, केन्द्रिय सचिव रेजिना गौतम, संगठनहरुको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरका कोशी प्रदेश सचिव डिकेश लामा, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित लगायतले बोलेका थिए ।
प्रेस युनियनका सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सभापति प्रेस युनियनका जिल्ला अध्यक्ष गिरिराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । उनले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै केही कमीकमजोरी भए क्षमा चाहँदै आगामी दिनमा सुधारेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
तीन पत्रकार सम्मानित
दमक÷ नेपाल प्रेस युनियन झापाको जिल्ला अधिवेशनमा तीन जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । युनियनले यस वर्षदेखि प्रदान गर्न शुरू गरेको खगेन्द्र पौडेल स्मृति पुरस्कार झापामा क्रियाशील पत्रकार आत्मराम राजवंशीलाई प्रदान गरेको छ ।
यस अघि प्रदान गरिँदै आएको खगेन्द्र कार्की स्मृति अग्रज पत्रकारिता पुरस्कार लीला अनमोल र खगेन्द्र कार्की क्रियाशील पत्रकारिता पुरस्कार युवा पत्रकार सन्तोष विष्टलाई प्रदान गरिएको हो । सम्मानित तीनैजना पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सुधीर शिवाकोटीले सम्मान पत्र वितरण गरेका थिए ।

Author

You may also like